Comments Add Comment

भैरहवा कांग्रेसको चुनावी एजेन्डाः नाका व्यवस्थित गर्नेदेखि मसानघाट निर्माणसम्म

२७ जेठ, भैरहवा । नेपाली कांग्रेस भैरहवाका (सिद्धार्थनगर नगरपालिका) मेयर तथा उपमेयर पदका उम्मेदवारहरुले रुपन्देहीको बेलहिया (भैरहवा) नाकालाई व्यवस्थित गर्दै पर्यटन मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रम अन्र्तगत नगरको वडा नम्बर १ बेलहिया पुगेका कांग्रेसका मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादव र उपमेयर पदकी उम्मेदवार माधवी शर्मा वाग्लेले सबैभन्दा बढी पर्यटक भित्रने नेपालकै दोस्रो ठूलो भन्सार नाकालाई व्यवस्थित गर्ने एजेन्डा सुनाए ।

बेलहिया नाकालाई पर्यटकमैत्री नाकाको रुपमा विकास गर्दै बेलहियामा यात्रु विश्राम गृह बनाउने कांग्रेसको योजना रहेको मेयर पदका उम्मेदवार यादवले बताए ।

त्यस्तै बेलहियाका भित्री सडकहरु पिच गर्ने र बेलहिया नाका हुँदै अवैध रुपमा नेपाल भित्रिने लागूऔषध नियन्त्रणका लागि विशेष अभियान चलाउने उनीहरुको अर्को एजेन्डा छ ।

सिमावर्ती भारतीय बजार सुनौलीमा लागूऔषधको लागि भारत जाने नेपाली युवा युवतीलाई सिमाबाटै फर्काउन र नेपालमा लागूऔषध भित्रिन नदिन बेलहियामा नगर स्तरीय सचेतना तथा नियन्त्रणका कार्यक्रम संचालन गर्ने यादवले बताए ।

नेपाली कांग्रेसले सिद्धार्थनगर १ मा मुख्यतः पक्लिहवा कृषि क्याम्पस पछाडिको खाली जग्गामा व्यवस्थित रुपमा मसान घाटको निमार्ण गर्ने, कृषि क्याम्पसको स्तरउन्नति गरी डिन कार्यालयको स्थापना गर्ने, रानी गाँउ–बेलहिया, नेउडिहवा गाउँको सडक पिच गर्ने , विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा विशेष जोड दिने जस्ता जनसरोकारका मुख्य विषयलाई प्राथमिकतामा राखेको कांग्रेस सिद्धार्थनगरका सचिव संजिव शर्मा रेग्मीले बताए ।

यता पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेका नेपाली कांग्रेस सिद्धार्थनगरका वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु भने आन्तरिक भेटघाट र मतदाता शिक्षामा केन्द्रित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment