Comments Add Comment

रोशन लिम्बूको सफलताः विद्यालयदेखि विद्यालयसम्म

विद्यालयको तनाव साम्य पार्ने सफ्टवेयर !

२८ जेठ, काठमाडौं । झापाको दमकमा हुर्किँदै गर्दा रोशन लिम्बू स्कूलको परीक्षा आउनेबेला निकै तनावमा हुन्थे । पढाइमा औसत भएकाले उनलाई कति नम्बर आउला भन्ने चिन्ता थिएन, उनको समस्या अर्कै थियो ।

रोशन र उनका साथीहरू आफ्ना बा–आमाले विद्यालयको शुल्क तिर्न दिएको पैसाले घुम्न जान्थे र मीठो–मीठो खान्थे ।

‘हाम्रा बा–आमाले चाहिँ हामीले विद्यालयको शुल्क तिर्‍यौंभनेर सोच्नुहुन्थ्यो’ उनी सम्झन्छन्, ‘हामीले तीन महिना चाहिँ पैसा नतिरी बिताउन सक्थ्यौँ । तर, जब परीक्षा नजिक आउँथ्यो, तब एडमिट कार्ड लिन शुल्क पुरै तिरेको हुनुपथ्र्याे । त्यतिबेला तनाव शुरु हुन्थ्यो ।’

रोशनको विचारमा यसो हुनुको मुख्य कारण के थियो भने विद्यालयमा के भइरहेछ भनेर उनका बा–आमालाई थाहा हुँदैन थियो अनि शिक्षकहरूलाई घरमा ।

कतिका बा–आमाले त शिक्षकहरूलाई एक पटक पनि भेट्दैनथे । ‘त्यसैले हामीलाई गलत बाटोमा लाग्न गाह्रो थिएन’ उनी भन्छन् ।

साठी सालतिरको कुरो हो । प्रवेशिका परीक्षाको नतिजा प्रकाशित भएको भोलिपल्टै रोशन काठमाडौँ आए । दमकमा १६ वर्ष बिताइसकेपछि उनलाई नयाँ शहरमा बस्ने र केही गरेर देखाउने इच्छा थियो । शहरमा के पढ्ने भन्दा मधुपर्कमा २/४ वटा कविता छपाइसकेका रोशनलाई साहित्य पढ्ने इच्छा जाग्यो ।

तर, उनी काम गर्दै पढ्न चाहन्थे । शुरुमा कार्यालय सहायकको रूपमा एउटा कुरियर कम्पनीमा काम गरेका रोशनले ख्याल ख्यालमै फोटोसप र ग्राफिक डिजाइनिङ सिके । ‘मैले काम गर्ने ठाउँमा कम्प्युटर चलाउन पाइन्थ्यो, अनि मैले जिज्ञासा राखेपछि सबैले सिकाउन खोज्थे’ उनी सम्झन्छन् ।

स्नातक तहमा पनि साहित्य पढ्दै गरेका रोशनलाई ललितपुरको डीएभी विद्यालयमा काम गर्ने अवसर मिल्यो । शुरूमा कम्प्युटर ल्याब सहायकबाट शुरू गरेका उनलाई पछि परीक्षा शाखामा खटाइएको थियो । उनी सम्झन्छन्– ‘डीएभीमा हुँदा मैले देखेँ कि धेरैजसो कम्प्युटरले गर्न सकिने काम अझै पनि हातैले गरिँदोरहेछ ।’

यदि सबै काम कम्प्युटरले गर्न सकिए कति समय र खर्चको बचत गर्न सकिँदो हो भन्ने उनलाई लागेको थियो ।

केही महिनाकै अन्तरालमा रोशनले आफूलाई सूचना प्रविधि क्षेत्रमा काम गर्ने ठूला कम्पनीहरुमा काम गर्दै गरेको पाए । आफूले कमाएको आधि पैसा कम्प्युटर किताब किन्नमा नै खर्च गर्ने रोशन चाँडै नै प्रोग्रामिङमा पोख्त भइसकेका थिए । केही वर्ष भित्रमा त उनले आफूलाई ‘युजर इन्टरफेस’ विज्ञका रुपमा नै स्थापित गरे । विदेशबाट आउने सफ्टवेयर सम्बन्धी काम र आफ्नै कल सेन्टरबाट हुने आम्दानीका कारण आर्थिक रुपमा एकदमै राम्रो अवस्थामा पुगेको उनी बताउँछन् ।

तर, रातभरको कामले उनको स्वास्थ्यमा नराम्रो असर गर्‍यो र केही समयपछि नै उनले आफूले जानेको कुरा उपयोग गरेर आफ्नै कम्पनी खोल्ने निर्णय गरे ।

‘डीएभीमा काम गर्दाको मेरो अनुभव मलाई याद आयो, अनि सोचेँ विद्यालयलाई कम्प्युटरबाटै व्यवस्थापन गर्ने सफ्टवेयर किन नबनाउने ?’

भर्खरै ‘टिच फर नेपाल’ को कार्यक्रम अन्तरगत फेलोसिप सकेर बसेका उनका साथी प्रबल प्रधानलाई पनि रोशनको आइडिया राम्रो लाग्यो । उनीहरुले आफ्नो सफ्टवेयरको नाम राखे ‘सजिलो स्कूल म्यानेजर ।’

बजारमा रहेका अरु स्कुल व्यवस्थापन सफ्ट्वेयरको अध्ययन गरेपछि उनीहरूले एउटा गहन कुरा पत्ता लगाए । ‘नेपालमा प्रयोग हुने स्कुल म्यानेजर सफ्ट्वेयरमा अभिभावकको केही भूमिका नै हुन्न ! महँगा सफ्टवेयहरुले पनि खाली विद्यार्थोको शुल्कको रेकर्ड मात्र राख्छन् । अनि धेरैजसो सफ्टवेयर इन्टरनेटमा आधारित नभएकाले विद्यालय बाहिरबाट सञ्चालन गर्न सकिन्न ।’ यी सबै विषयलाई प्रवल र रोशनले हल गरेका छन् ।

नेपालबाट थुप्रै मानिसहरू रोजगारीको सिलसिलामा विदेश गएका हुन्छन् । उनीहरु विदेश आफ्ना छोरा–छोरीले राम्रो शिक्षा पाउन् भनेर जान्छन् । तर, उनीहरुलाई आफ्ना बच्चाको विद्यालयमा के भइरहेछ भन्ने थाहा हुँदैन ।

तर, सजिलो स्कुल म्यानेजरको एपबाट भने विदेशमा रहेकाहरूले पनि आफ्ना छोरा–छोरीले कति नम्बर ल्याए हेर्न पाउँछन् । त्यति मात्र नभएर कुनै शिक्षकसँग कुरा गर्न मन लागे एपकै माध्यमबाट गर्न सक्छन् ।

रोशनले विकास गरेको सिष्टमको प्रयोग गरेर स्कुल बसको ट्रयाकिङदेखि लिएर पुस्तकालय व्यवस्थापनसम्म गर्न सकिन्छ । त्यसै गरी महत्व सूचना पनि एप मार्फत् तुरुन्तै सबै अभिभावकलाई पठाउन सकिन्छ ।

रोशन भन्छन् उनको उद्देश्य तत्काल पैसा कमाउनु होइन । ‘म चाहन्छु, पैसाका कारणले मात्रै नेपालका विद्यालयहरू कम्प्युटराइज्ड हुनबाट नहिच्किचाउन् । मेरो चाहना भनेको स्कुलहरुले प्रविधि अँगालेको हेर्नु मात्र हो ।’

रोशनको स्कूल व्यवस्थापन सफ्टवेयरको मूल्य न्यूनतम रू २५,००० तोकिएको छ । र, हरेक वर्ष रू १५,००० वार्षिक शुल्क लिने गरेको उनी बताउँछन् । विना कुनै बजार प्रवर्धन, काठमाडौँका ७० भन्दा बढी स्कूलले उनको सफ्ट्वेयर प्रयोग गर्न थालिसकेका छन् ।

रोशन आफैं पैसा जोगाउनका लागि कार्यालयमै बस्छन् । उनले हरेक महिना आफ्ना १५ कर्मचारीलाई तलब दिन्छन् तर आफू भने तलब लिँदैनन् । स्कुल म्यानेजरमै दत्तचित्तले लागेका कारण उनी अचेल विदेशबाट आउने कामहरु पनि गर्दैनन् ।

उनी भन्छन्– आफूले चाहेको र आफ्नो रूची भएको काम गर्नुको स्वाद नै बेग्लै छ । इन्टरनेटको बढ्दो पहुँच र कम्प्युटराइजेसनको बढ्दो सफलताका कारण भविश्यमा आफ्नो सफ्टवेयरको माग अझै बढ्ने उनको आँकलन छ ।

माटो सुहाउँदो प्रविधि र न्युनतम शुल्क अनि चुस्त ग्राहक सेवा यी कुराहरूले आफ्नो सफ्टवेयरलाई नेपालकै ५ उत्कृष्टमा पार्न सकिनेमा उनलाई कुनै शंका छैन ।

उसोभए यो सफ्टवेयर तपाईँको स्कूलकालमै उपलब्ध भएको भए तपाईँको विद्यार्थी जीवन फरक हुन्थ्यो ?

यो प्रश्नको जवाफमा उनले हाँस्दै भने– ‘हा हा । मैले पैसा अन्यत्र खर्च गरेको बुवाआमाले थाहा पाउनुहुन्थ्यो होला । अनि बेलैमा रोकेका कारण मेरो तनाव कम हुन्थ्यो होला !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment