Comments Add Comment

भुटानी शरणार्थीको संघर्ष-गाथा ‘हन्बेर्नो’

काठमाडौं । दिनेशकुमार कार्कीले भुटानी शरणार्थीहरुको जीवन–संघर्षमा आधारित उपन्यास ‘हन्बेर्नो’ ल्याएका छन् ।

राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा शनिबार किशोर नेपाल, कृष्ण धरावासी, उमा सुवेदी र केशव आचार्यले पुस्तक सार्वजनिक गरे ।

लेखक किशोर नेपालले भुटानी शरणार्थीहरुको जीवन उपन्यासले मिहीन रुपमा केलाएको टिप्पणी गर्दै भने, ‘परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ ।’ उनले भाषाशैली सरल भएकाले उपन्यास सबैका लागि पठनीय समेत भएको बताए ।

आख्यानकार धरावासीले हन्बेर्नोलाई इतिहास, समाज, सूचना र तथ्यको एकमुष्ठ प्याकेजको संज्ञा दिए । १८ वर्षपछि प्रकाशित आफ्नो उपन्यास ‘शरणार्थी’ को प्रसंग जोड्दै उनले भने, ‘मैले त त्यसमा शरणार्थीहरुको झलक मात्र दिएको थिएँ, हन्बेर्नोमा त भूटानी शरणार्थीबारे सबै कुरा आएका छन् । अब उनीहरुबारे पुस्तक नलेखे पनि फरक पर्दैन ।’

अर्की वक्ता उमा सुवेदीले लेखकको पहिलो उपन्यास नै परिष्कृत रुपमा आएको र उपन्यासको भाषाले आफूलाई तानेको बताइन् । पात्रको जीवन्त चित्रण र कारुणिक कथाले आफ्नो आँखा रसाएको भन्दै उनले थपिन्, ‘म थोरै रुने महिलामध्ये एक हुँ । उपन्यास छिचोल्न गाह्रो भयो, धेरैपटक मेरा आँखाका कोस रसाए ।’

भूटानी शरणार्थी रहेका झापाका कवि केशव आचार्यले भुटानी शरणार्थीको तथ्यपरक सूचना बुझ्नका लागि पनि उपन्यासले मद्दत पुर्‍याउने बताए ।

उपन्यासकार कार्कीले पुस्तक लेखनको पृष्ठभूमि जोड्दै झापाको शरणार्थी शिविरमा रहेका भुटानीहरुसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिए । ‘०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भने, ‘त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।’

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment