Comments Add Comment

पहिलो चरणको स्थानीय चुनावः प्रमुखदेखि वडा सदस्यसम्म एमाले पहिलो

एमालेलाई सहरले उकास्यो, कांग्रेस र माओवादीलाई गाउँले जोगायो

३१ जेठ, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको बुधबार ठीक एक महिना पुगेको छ । यसवीचमा भरतपुर महानगरपालिका बाहेक अरु सबै २८२ तहको निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । भरतपुरमा मेयर एमाले र उपमेयरमा कांग्रेसको अग्रता चलिरहँदा मतपत्र च्यातिएको थियो ।

निर्वाचन आयोगका अनुसार १२५ स्थानीय तहका प्रमुख जितेर एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेले उपप्रमुख भने १० स्थान बढी अर्थात १३५ स्थानमा जितेको छ ।
आयोगले आधिकारिक रुपमा सार्वजनिक गरेको परिणाम अनुसार नेपाली कांग्रेस १०४ स्थानमा प्रमुख जितेर दोस्रो पार्टी बनेको छ । कांग्रेस भन्दा एमालेले २१ स्थानीय तह बढि जितेको छ ।

माओवादी केन्द्र ४५ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ भने राप्रपा,नेपाल मजदूर किसान पार्टी,राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक/एक स्थानीय तह जितेका छन् ।

स्वतन्त्रबाट जितेका ३ स्थानीय तहका प्रमुख मध्ये डोल्पाका एकजना एमाले प्रवेश गरेपछि एमालेको संख्या १२६ पुगेको छ ।

शहरी जनमत एमालेको पक्षमा

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम हेर्दा विकसित र शहरोन्मुख क्षेत्रमा एमालेको पक्षमा जनमत गएको देखिन्छ । भरतपुर बाहेक ३ महानगरपालिका मध्ये दुई महानगर र एकमात्र उपमहानगर हेटौंडा जित्दा एमालेको पक्षमा डेढ लाख भन्दा बढी मत खसेको छ ।

त्यस्तै जिल्ला सदरमुकाम सहितका नगरपालिकाहरुमा एमालेको पक्षमा जनलहर देखिएको छ । एमालेले महानगर, उपमहानगर सहित ५३ शहरमा मेयर जितेको छ । एमालेले उपमेयर पनि ५३ जनानै जितेको छ ।

नेपाली कांग्रेसले एक महानगरपालिका सहित ३२ नगरपालिकामा मेयर जितेको छ । ललितपुर महानगरपालिकामा करीव ३ सय मतको अन्तरमा कांग्रेसले जित्दा काठमाडौं र पोखरा जस्ता ठूला महानगरमा २० हजार भन्दा बढिको अन्तरले हार व्यहोर्नु परेको छ ।

कांग्रेसले २६ नगरपालिकामा उपमेयर जितेको छ । माओवादी केन्द्रले १० नगरपालिकामा मेयर र १३ नगरपालिकामा उपमेयर जितेको छ । नेपाल मजदूर किसान पार्टीले भक्तपुरको मेयर र उपमेयर जितेर आफ्नो बर्चश्व कायम राख्दा अन्य दललहरुले नगरपालिकामा मेयर जित्न सकेनन् । राप्रपाले बागलुङ, बेनी र डोल्पाको ठूलीभेरी नगरपालिकामा उपमेयर जितेको छ ।

गाउँमा कांग्रेस एमाले बराबर, माओवादी आधा

महानगर, उपमहानगर र नगरपालिकामा एमालेभन्दा पछि परेको कांग्रेसलाई गाउँपालिकाले ठूलो हार हुनबाट जोगाएको देखिन्छ । कांग्रेस र एमालेले बराबरी अर्थात ७२/७२ गाउँपालिका अध्यक्षमा जित हासिल गरेका छन् । शहरी क्षेत्रमा जनमत गुमाएको कांग्रेसलाई गाउँ क्षेत्रले एमालेको हाराहारीमै राखिदिएको देखिन्छ ।

माओवादी केन्द्रले ३५ गाउँपालिका अध्यक्ष जितेर कांग्रेस एमालेको आधा शक्ति गाउँमा बनेको छ । माओवादीलाई पनि शहरी जनमतले नपत्याएको देखियो । काठमाडौं, पोखरा जस्ता महानगरमा माओवादीले जमानत समेत जोगाउन सकेन ।

एक-एक गाउँपालिका अध्यक्ष मात्रै जित्नेमा राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति भएका छन् । मुस्ताङ र डोल्पामा ३ जना स्वतन्त्रले अध्यक्ष जितेकोमा एकजना अध्यक्ष एमाले प्रवेश गरिसकेका छन् ।

उपाध्यक्ष एमालेका धेरै

पहिलो चरणमा चुनाव भएका कुल १८५ गाउँपालिका मध्ये ७२ अध्यक्ष जितेको एमालेले उपाध्यक्ष भने ८३ जना जितेको छ । ७२ अध्यक्ष जितेको कांग्रेसले उपाध्यक्ष भने ५८ जनामात्रै जितेको छ ।

३६ गाउँपालिका अध्यक्ष जितेको माओवादीले उपाध्यक्ष ३६ जनै जितेको छ ।

त्यस्तै ५ जना स्वतन्त्र उम्मदेवारले अध्यक्ष पलमा जित हात पारेकोमा डोल्पाको डोल्पोबुद्धका उपाध्यक्ष एमाले प्रवेश गरेपछि एमालेका उपाध्यक्षको संख्या ८४ पुगेको छ ।

राप्रपाले दुई उपाध्यक्ष जितेको छ भने राष्ट्रिय जनमोर्चाले एक उपाध्यक्ष जितेको छ ।

वडाध्यक्षमा कसको कति ?

पहिलो चरणमा चुनाव भएका स्थानीय तहको वडाध्यक्षमामा पनि एमालेले कांग्रेस भन्दा २ सय बढी अध्यक्ष जिताउन सफल भएको छ । एमालेले कुल वडाहरुको ४३.२३ प्रतिशत अर्थात ११ सय २१ वडाध्यक्ष जितेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ३५ प्रतिशत अर्थात ९१० वडाध्यक्ष जितेको छ । माओवादी केन्द्रले १७ प्रतिशत अर्थात ४६४ वडाध्यक्ष जितेको छ । २८ जना वडाध्यक्ष स्वतन्त्रबाट जितेका छन् भने राप्रपाका २४ र अन्य दलले ४९ वडाध्यक्ष जितेका छन् ।

महिला र दलित महिला सदस्यको नतिजा

स्थानीय तहमा कम्तिमा एक महिला सदस्य अनिवार्य रहने प्राबधानले पहिलो चरणमा २५८६ महिलाहरु सदस्यमा निर्वाचित भएका छन् । ती मध्ये ११९५ महिला एमालेबाट निर्वाचित भएका छन् । कांग्रेसबाट ८६१, माओवादी केन्द्रबाट ४५१, राप्रपाबाट २५, नेमकिपाबाट २० र अन्य साना दलबाट ४३ महिला सदस्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै दलित महिलातर्फ एमालेबाट ११२५, कांग्रेसबाट ८१०, माओवादीबाट ४५०, राप्रपाबाट १८, राष्ट्रिय जनमोर्चाबाट १३ र अन्य दलबाट ३६ जना छन् ।

खुला सदस्यको नतिजा

कुल २८२ स्थानीय तहका लागि भएको दुई खुला सदस्यको निर्वाचनमा एमालेका २३४९ सदस्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका १७७१, माओवादी केन्दका ९०१, राप्रपाका ४८, नेमकिपाका ४२ र अन्य दलबाट ८० जना निर्वाचित भएका छन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु सहित कुल १३ हजार ३ सय ५६ जना निर्वाचित भएकामा एमालेले कांग्रेसलाई करीव २५ सयले पछि पारेको छ ।

एमालेबाट कुल निर्वाचित जनप्रतिनिधिको संख्या ४५.२३ प्रतिशत अर्थात ६०६१ छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको संख्या ३३.९ प्रतिशत अर्थात ४५२९ छ भने माओवादीबाट १७.५२ प्रतिशत अर्थात २३४१ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment