Comments Add Comment

गुल्मीका चुनावी एजेण्डा : अण्डरग्राउण्ड विद्युत लाइन, उज्यालो घर, नमूना नगर

२ असार गुल्मी । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको चुनावमा गुल्मीमा रहेका प्रमुख दलहरुले आफ्ना चुनावी एजेण्डाहरु लिएर प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा दलहरुले गाउँगाउँमा पुगेर भोट मागिरहेका छन् ।

सबै स्थानीय तहमा उम्मेदवार टुङग्याएर प्रचारमा लागेका दलहरु गुल्मीका २ वटा नगरपालिका रेसुङ्गा र मुसिकोट नगरपालिकामा केन्द्रित भएका छन् ।

नगरपालिकामा पार्टीका जिल्ला प्रमुख नै प्रतिस्पर्धामा उत्रिएका छन् ।

गुल्मीमा यसपटक मतदाताहरुले पार्टी र अनुहार हेरेर भन्दा एजेण्डाका आधारमा भोट दिने अनुमान गरेर दलहरुले आफ्ना एजेण्डाहरु जनप्रिय बनाएको दावी गरेका छन् ।

रेसुङ्गा नगरपालिमा दलका एजेण्डा ः भूमिहीनलाई लालपूर्जादेखि प्राविधिक शिक्षा

भुवनप्रसाद श्रेष्ठ, कांग्रेस

रेसुङ्गा नगरपालिकामा कांग्रेसकै पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ मेयर पदको उमेद्वार हुन् । पार्टीका जिल्ला सभापति नै मेयर पदको उमेदवार भएपछि जिताउन सिङ्गो कमिटी नै लागेको छ । श्रेष्ठ २०४९ र २०५४ को स्थानीय निर्वाचन तम्घास गाविसका निर्वाचित अध्यक्ष हुन् । उनले रेसुङ्गा नगरको बिकासका लागि प्रमुख बिषय पर्यटकीय तथा धार्मिक क्षेत्र रेसुङ्गालाई बनाएका छन् ।

रेसुङ्गा क्षेत्रमा रिङ्गरोड, घरघरमा पानी, सडक र बिजुली विस्तार गर्ने उनका प्रमुख एजेण्डा रहेका छन् । तम्घास-खाम्सेपानी-नयाँगाउँ सडक, तम्घास-नेटा सडक कालोपत्रेलाई पनि उनले आफ्नो एजेण्डा बनाएका छन् ।

त्यस्तै रेसुङ्गा नगरमा पहिलेबाटै खानेपानीको सहजताको लागिरहेको बताउँदै श्रेष्ठले त्यसको बिस्तारलाई पनि आफ्नो प्रमुख एजेण्डा बनाएका छन् । साथै शिक्षा र स्वास्थ्यका क्षेत्रका आमुल परिवर्तन गर्ने योजना श्रेष्ठको रहेको छ ।

डिल्लीराज भुषाल, एमाले

एमालेको तर्फबाट मेयरको उमेदवार बनेका डिल्लीराज भुषालले आफूले कुनै सरकारी सुविधा नलिने बताएका छन् । त्यस्तै उनले पनि रेसुङगा क्षेत्रको विकास, रेसुङ्गा विमान स्थललाई समयमै सम्पन्न गरी सेवा बिस्तार गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपापानी बितरणलाई आफ्ना प्रमुख चुनावी एजेण्डा बनाएका छन् । साथै उनले बृद्धा भत्ता बढाएर घरमै पुर्‍याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक संजाल पुराएर कालोपत्रे गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

धर्म विश्वकर्मा, माओवादी केन्द्र

नेकपा माओवादीको तर्फबाट मेयर पदको उमेद्वार बनेका धर्म बिश्वकर्माले एक वर्षभित्र रेसुङ्गागा नगरमा भएका सवै खरले छाएका घरका छाना हटाएर टीन राख्ने, भूमिहीनलाई उचित स्थानमा जग्गा उपलब्ध गराएर लालपूर्जा दिने, सबै वडाका बिद्यालयलाई प्राविधिक बनाउने, रेसुङ्गा बहुमुखी क्याम्पसको विकास गर्ने, रेसुंगामा केबुलकार संचालन गर्ने, तम्घास अस्पतालको विकास गर्ने तथा रेसुङगा विमानस्थललाई समयमै सम्पन्न गर्ने योजना बनाएका छन् ।

यो नगरमा नयाँ शक्ति पार्टीबाट पदमबहादुर खत्री नगर प्रमुख पदमा उम्मेदवार बनेका छन् । बैध नेतृत्वको नेकपा क्रान्तीकारी माओवादीले नन्दराम रानालाई प्रमुखमा उम्मेदवार बनाएको छ ।

मुसिकोट दलका एजेण्डा ः नमूना नगर, उज्यालो घर, अण्डरग्राउण्ड विजुलि लाइन

कृष्णहरी सापकोटा, कांग्रेस

जिल्लाको सबैभन्दा बढी मतदाता भएको नगर मुसिकोट नगरपालिका हो । त्यस नगरमा नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाको मेयरपलका उमेदवार कृष्णहरी सापकोटाले चुनावी एजेण्डाको रुपमा स्वास्थ्य क्षेत्रको विकासलाई अगाडी सारेका छन् ।

केही समय अगाडि सापकोटाले दुई करोडको जग्गा निःशुल्क प्रदान गरी निःशुल्क भवन निर्माण गरेर आँखा अस्पताल निर्माण गरेका थिए । उनले मानिसको स्वाथ्य भनेको महत्वपूर्ण कूरा भएकाले सुविधा सम्पन्न अस्पताल, कृषी, सडक बिस्तार, प्राविधिक शिक्षालाई प्राथमिकताका साथ लिएका छन् । उनले सबै वडाहरुमा सेवाहरुलाई सहज र सरल बनाउने तथा बृद्धबृद्धाहरुका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

सोमनाथ सापकोटा, एमाले

नेकपा एमालेको तर्फबाट पार्टी सचिव सोमनाथ सापकोटा मेयरका उमेदवार हुन् । धेरै जसो ग्रामीण क्षेत्र समेटेर बनेको मुसिकोट नगरपालिकाका उमेदवारहरुका एजेण्डा पनि गाउँ सुहाउँदा छन् । सापकोटाले कृषी र पर्यटन मार्फत नगरबासीको सपना पूरा गर्ने बताए ।

बिशेषगरी कृषिमा आधुनिकिकरण, व्यवसायिकरण, नेपालमै कफीको जननी मानिने आँपचौर आफ्नै नगरमा पर्ने भएकोले कफीको बजारिकरण र व्यावसायिकरणमा जोड दिएका छन् ।

बालउद्यान, जेष्ठ नागरिक गृह, खेलकुद मैदान, सबै टोलहरुमा सडक संजाल, उज्यालो घर, सरकारी विद्यालयको स्तरउन्नती गर्ने, मध्यमस्तरको प्राविधिक शिक्षालय स्थापना गर्ने,नगर क्षेत्रमा ५० शैयाको अस्पताल स्थापना गरी सञ्चालन गर्ने, पत्येक वडामा स्वास्थ्य केन्ऽ मार्फत एम्बुलेन्स सेवा पुराउने सापकोटाले चुनावी एजेण्डा तयार गरेका छन् । नगरबासीका निजी सपना पूरा गरी नमूना नगर बनाउन आफूले उमेदवारी दिएको उनले बताए ।

खुमबहादुर थापा, माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरको उमेदवार बनेका खुमबहादुर थापाले किसानलाई किसान भत्ता, अण्डरग्राउण्ड बिद्युत लाइन बिस्तार, प्रत्येक वडामा महिनामा दुई दिन पुगेर आफै सेवा दिने, नगरपालिकामा चक्रपथ निर्माण गरी नगरबस संचालन गर्ने उर्वर जमिन पलटिङमा रोक लगाउने तथा अनुत्पादक क्षेत्रमा बस्ती बिस्तार गर्ने योजना बनाएको उम्मेदवार थापाले बताए ।

अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment