Comments Add Comment

जब आँखै अगाडि परिवारजस्तै गाईहरू जले…

बाबुरामको रोदन – परिवारजस्तै गाई सखाप भए, कसरी सम्हालिऊ

गोकर्णेश्वरको सुन्दरीजलस्थित रुप्सेटारमा ‘रिमोट’ नामको गाई यतिबेला मृत्युसँग अन्तिम लडाइँ लडिरहेको छ । आफूले औधी माया गर्ने गाईको आगोले शरीरका अधिकांश भाग र आँखासमेत जलेर पीडा खपिरहेको दृश्य हेर्न बाबुराम कार्कीलाई निकै सकस भइरहेको छ ।

रिमोटको यो अवस्था देखेर उनी भक्कानो छाडेर रुन्छन् । गाई फार्मको शनिबारको भयानक दुर्घटनापछि बाबुरामका आँखा पनि सुकिसकेका छन् । हरेक गाईसँग भावनात्मक रूपले जोडिएका बाबुरामसँग रिमोटको सम्बन्ध निकै गहिरो छ ।

त्यसैले जीवन र मृत्युको दोसाँधमा रहेको रिमोटलाई उनले साथ छाडेका छैनन् ।

रिमोट ओम कृषि फार्ममा रहेका मध्येकै चलाख गाई हो । फार्ममा ब्याउने गाई, आइपरेको समस्या, गाई–बाच्छाबाच्छीलाई चोटपटक लाग्दा, तिर्खा र भोक लाग्दा सबैभन्दा पहिलो सूचना उही रिमोटले मालिक बाबुरामलाई कराएर जानकारी गराउँथ्यो ।

रिमोटकै सूचनाका आधारमा बाबुराम र कामदार गाई गोठमा पुगेर समस्या समाधान गर्थ्यो । ‘तर आज उही रिमोट मृत्युसँग लड्दै छिन्, मेरो आमा आईसीयुमा भर्ना हुँदाको भन्दा पनि ठूलो हृदयविदारक घटना भयो मेरा लागि,’ बाबुरामले आइतबार भने, ‘समस्या पर्दा सबैलाई जोगाउन सूचना दिएर हामीलाई सधैं जागा बनाइरहने रिमोट आफैं जीवन मृत्युको दोसाँधमा परिन् । सकेसम्मको उपचार गर्दै छु । चिकित्सकले बाँच्दैन भनेका छन् । तर, मैले अझै आश मारेको छैन ।’

ओम कृषि फार्मका मालिक बाबुरामले सानैदेखि आफ्नै हातले रिमोटलाई स्याहारेका हुन् । गोठमा हुने सबै प्रकारका सूचना आफूलाई समयमै उपलब्ध गराएका कारण बाबुरामले उक्त गाईको नाम रिमोट राखेका हुन् ।

आगलागीमा परी सिकिस्त बनेका गाईको उपचारका लागि एनिमल नेपाल, स्नेहा केयर, जिल्ला पशु सेवा, पशु चिकित्सालय त्रिपुरेश्वरका दुई दर्जनभन्दा बढी पशु चिकित्सकले रिमोटसहित अन्य गाईको सघन उपचार गरिरहेका छन् ।

बाबुरामलाई रिमोटको पीडा खप्न गाह्रो भइरहेका बेला शनिबारको भीषण आगलागीमा परी गर्भवती अवस्थामा ज्यान गुमाएकी ठूली, लुती, लकी, उमा, लक्ष्मीलगायत सबै गाईको मायाले त्यतिकै पीडा दिएको छ । शनिबार बिहानसम्म हराभरा र गाईको आवाजले गुञ्जायमान हुने फार्म सुनसानमय छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

तस्वीरः अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment