Comments Add Comment

तालमेलमा कांग्रेसको कीर्तिमानः कुन जिल्लामा कोसँग ?

विप्लव माओवादीदेखि लिम्बुवान र खम्बुवानसँग गठबन्धन

५ असार, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा दलहरुबीचको तालमेल असफल भए पनि दोस्रो चरणमा मुख्यतः सत्तारुढ कांग्रेस र माओवादीले तालमेल अझ कसिलो बनाएका छन् । राप्रपासँगको तालमेल मीठो नभएपछि एमालेले भने दोस्रो चरणमा राप्रपासँगको तालमेललाई निरन्तरता दिएन ।

दोस्रो चरणमा सबैभन्दा धेरै स्थानमा सबैभन्दा धेरै दलसँग तालमेल गर्नेमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । देशको सबैभन्दा ठूलो दल कांग्रेसले प्रमुख प्रतिस्पर्धी एमालेदेखि लिम्बुवान र खम्बुवान जस्ता दलहरुसँग पनि तालमेल गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

एकले अर्कोलाई प्रमुख प्रतिस्पर्धी ठानेका कांग्रेस र एमालेबीच रोल्पाको माडी गाउँपालिकामा तालमेल भएको छ भने चुनाव बहिस्कार गरेको बिप्लब माओवादीले थवाङमा कांग्रेससँग तालमेल गरेको छ । यद्यपि विप्लवले स्वतन्त्र उम्मेदवार उठेका कार्यकर्तालाई गद्दार घोषित गरेका छन् ।

कांग्रेसले बुटवल उपमहानगरपालिका सहित अधिकांश स्थानमा माओवादीसँग तालमेल गरेको छ । राप्रपा, संघीय समाजवादी, लिम्बुवान, खम्बुवान जस्ता दलसँग पनि कांग्रेसले तालमेल गरेको छ ।

विशेष गरी पूर्वी पहाडमा कांग्रेसले एमाले विरुद्ध सबै दलहरुलाई आफ्नो छातामुनि ल्याउने प्रयास गरेको छ । कांग्रेसले करीव ७० स्थानीय तहमा विभिन्न दलसँग तालमेल गरेको छ ।

ताप्लेजुङमा कांग्रेस–माओवादी

फुङलिङ नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेर लिएर तालमेल गरेका छन् । यहाँ एमाले एक्लै मैदानमा छ भने राप्रपाले उपमेयरमा मात्र उम्मेदवारी दिएर च्याँखे थापेको छ ।

इलामःकांग्रेस,माओवादी,संघीय,लिम्बुवान

इलामको सन्दकुर गाउँपालिकामा माओवादीले अध्यक्ष र लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध लिम्बुवानले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरमले उम्मेदवारी दिएर तालमेल गरेका छन् ।

मोरङःएमाले–गच्छदार, माओवादी–उपेन्द्र

बिराटनगर महानगरपालिकामा एमालेले मेयर र फोरम लोकतान्त्रिकले उपमेयर लिएर तालमेल गरेका छन् भने संघीय समाजवादीले मेयर र माओवादीले उपमेयर लिएर तालमेल गरेका छन् ।

रतुवामाई नगरपालिकामा माओवादीले मेयर र उपेन्द्र यादव नेतृत्वको फोरमले उपमेयर लिएर तालमेल गरेका छन् । पथरी शनिश्चरेमा पनि माओवादीले मेयर र फोरमले उपमेयर लिएर तालमेल गरेका छन् ।

कटहरी गाउँपालिकामा फोरमले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । धनपालथान गाउँपालिकामा पनि फोरमले अध्यक्ष र माओवादीले उपाध्इक्ष लिएर तालमेल भएको छ ।

धरानमा माओवादी–संघीय फोरम

सुनसरीका दुई उपमहानगरपालिकामध्ये धरानमा माओवादीले मेयर र संघीय समाजवादी फोरमले उपमेयर लिएर तालमेल गरेका छन् ।

धनकुटाः कांग्रेस,राप्रपा र संघीय फोरम

महालक्ष्मी नगरपालिकामा कांग्रेसले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गरेका छन् । चौबिस गाउँपालिकामा कांग्रेसले अध्यक्ष र संघीय समाजवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

त्यस्तै धनकुटाकै साँगुरीगढी गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष र संघीय समाजवादीले उपाध्यक्ष लिएर तालमेल भएको छ ।

भोजपुरमा एमाले बाहेक सबै एक ठाउँ

एमालेका प्रदेश नम्बर १ का सहसंयोजक शेरधन राईको जिल्लामा एमाले बिरुद्ध सबै दल एकजुट भएका छन् । राईकै गाउँपालिका हतुवागढीमा एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राई विरुद्ध कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर ५ दलबीच तालमेल भएको छ ।

टेम्के मैयुम गाउँपालिकामा संघीय समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । साल्पा सिलिछो गाउँपालिकामा कांग्रेसले अध्यक्ष र संघीय समाजवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

रामप्रसाद राई गाउँपालिकामा कांग्रेस,संघीय समाजवादी र खम्बुवान पार्टीबीच तालमेल हुँदा कांग्रेसले अध्यक्ष र संघीयले उपाध्यक्ष लिएका छन् ।

तेह्रथुममा कांग्रेस–माओवादी

आठराई गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । फेदाप गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

रुपन्देहीमा कांग्रेस–माओवादी–जनमुक्ति

बुटवल महानगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल भएको छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीले पनि कांग्रेसलाई सघाएको छ । तिलोत्तमा नगरपालिकामा कांग्रेसले मेयर र जनमुक्तिले उपमेयर लिएर तालमेल भएको छ ।

सैनामैना नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल भएको छ । देवदह नगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल भएको छ ।

गुल्मीमा कांग्रेस–माओवादी

गुल्मीका अधिकांश गाउँपालिकामा सत्तारुढ कांग्रेस माओवादी चुनावी तालमेल भएको छ । धुर्कोट गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाप्यक्ष लिएर तालमेल भएको छ ।

कालिगण्डकी गाउँपालिकामा कांग्रेस माओवादीले अध्यक्ष र उपाध्यक्ष लिएर तालमेल गरेका छन् । रुरु गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर तालमेल गरेका छन् ।

अर्घाखाँचीमा कांग्रेस–माओवादी

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका सहित ४ स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । सन्धीखर्कमा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल भएको छ ।

शितगंगा नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल भएको छ । मालारानी गाउँपालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर तालमेल भएको छ भने भूमिकास्थान नगरपालिकामा पनि माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएर तालमेल भएको छ ।

प्युठानमा माओवादी–राजमो
प्युठानको प्युठान नगरपालिकामा माओवादीले मेयर र जनमोर्चाले उपमेयर लिएर तालमेल भएको छ । स्वर्गद्धारी नगरपालिकामा जनमोर्चाले मेयर र माओवादीले उपमेयर लिएर चुनावी तालमेल भएको छ ।

ऐरावती गाउँपालिका अध्यक्षमा राजमो र उपाध्यक्षमा माओवादीले उम्मेदवारी दिएर तालमेल गरेका छन् । गौमुखी गाउँपालिकामा पनि जनमोर्चाले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर तालमेल गरेका छन् । नौबहिनी गाउँपालिकामा पनि उनीहरुबीच तालमेल भएको छ ।

रोल्पामा कांग्रेस–एमाले, विप्लब

रोल्पाको थवाङमा विप्लब माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएर तालमेल भएको छ । माडी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएर तालमेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment