Comments Add Comment

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक मंगलबार

५ असार, काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मंगलबार यहाँ हुँदैछ ।

चार वर्षको अन्तरालमा हुन लागेको उक्त बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन यु पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका छन् । बैठकमा चीन सरकारको सहयोगमा नेपालमा जारी विकास–निर्माणका आयोजना, चिनियाँ सहयोग तथा लगानी वृद्धिलगायत आपसी सहकार्य र सहायताबारे छलफल हुनेछ ।

सचिवस्तरीय उक्त संयन्त्रको बैठकमा नेपाल र चीनबीच विगतमा भएका सहमति कार्यान्वयनका साथै चीनले अघि सारेको बृहत् परियोजना ओबोरमा नेपालले हस्ताक्षर गरिसकेका सन्दर्भमा त्यसबाट नेपालले प्राप्त गर्ने सहायताबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनियाँ प्रतिनिधिमण्डलले बुधबार अपराह्न बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

साथै चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रमा जारी पुनःनिर्माणबारे जानकारी लिनाका साथै चिनियाँ सहयोगमा निर्मित निजामती अस्पताल स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment