Comments Add Comment

राष्ट्रिय राजमार्गमा दैनिक ६ घन्टा अवरोध, दशौं हजार यात्रुलाई सास्ती

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक ।

१० असार, काठमाडौं । नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ । दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौं हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन् ।

राजधानीबाट पूरै देशलाई जोड्ने यो नै मुख्य सडक हो । स्तरोन्नतिमा ढिलाइ हुँदा दिनमा हजारौं यात्रुले सास्ती बेहोर्नुपरिरहेको छ । यो सडकको स्तरोन्नति १० असार ०७२ मा सुरु भएको थियो । अहिलेसम्म आधा काम भएको छ, तर आगामी चैतमा सक्ने नयाँ लक्ष्य छ ।

सडक जम्मा ३३ किलोमिटर, ठेकेदार नेपाल र भारतका नारायणगढ–मुग्लिङ (स्तरोन्नतिसहित) सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ । सडकलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ । पहिलो साढे १० किलोमिटर सडकको विस्तार भारतको बिएलए ग्रुप र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौंडाले गरिरहेका छन् । त्यस्तै, बीचको साढे १० किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको

लामा कन्स्ट्रक्सन संलग्न छन् । अन्तिम १२ किलोमिटरको काम भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले गरिरहेका छन् । तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीको ‘ज्वाइन्ट भेन्चर’मा सडक स्तरोन्नति भइरहेको छ । यति सुस्त गतिमा काम भइरहे पनि आयोजना प्रमुख चन्द्रनारायण यादवले भने निर्माण कम्पनीहरूले सन्तोषजनक काम गरिरहेको बताए । तर, उनका अनुसार नै अहिले यस सडकखण्डमा करिब ५० कामदार कार्यरत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment