Comments Add Comment

एमाले सांसद महिन लिम्बूको उपचारका क्रममा निधन

११ असार, काठमाडौं । व्यवस्थापिका संसद् सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य महिन लिम्बु सुब्बाको शनिवार राति धरानमा निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित सांसद सुब्बाको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको एमालेले जनाएको छ ।

धनकुटा जिल्लाकी प्रभावशाली नेता लिम्बु संविधानसभाको दोस्रो चुनावमा एमालेबाट समानुपातिक सभासद् बनेकी थिइन् । उनी एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य थिइन् ।

महिम सुब्बा २०४९ र २०५४ को स्थानीय चुनावमा धनकुटाको बुढीमोरङ गाविसबाट लगातार गाविस उपाध्यक्ष र अध्यक्ष भएकी थिइन् । सुब्बा २०५४ मा गाविस अध्यक्ष निर्वाचित भएपछि गाउँ विकास समिति महासंघको अध्यक्ष समेत भइन् ।

एमालेनिकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिवसमेत रहेकी सुब्बाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको एमालेका नेता राजेन्द्र राईले बताए ।

पार्टीले उनको निधनमा एक दिन शोक मनाउने निर्णय गरेको छ । स्थानीय चुनावको मुखैमा सांसद् सुब्बाको निधनले पार्टी स्तब्ध भएको जिल्ला सचिव सुरेन्द्र पौडेलले बताए ।

६० वर्षीया लिम्बुका २ छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment