Comments Add Comment

गृहमन्त्री शर्माको आग्रह- भोट किनबेच हुनसक्छ चनाखो हुनुस्

'जनताले खाना खुवाए, हामीले अधिकार दियौं'

११ असार, दाङ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चुनावमा जनताको मत किन्ने प्रयास हुन सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका छन् । उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न मतदाताहरुलाई आहृवान समेत गरे ।

आइतबार बिहान दाङको राप्ती गाउँपालिका-१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’

‘जनताले खाना खुवाए, हामीले अधिकार दियौं’

माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा बिभिन्न चुनावी सभामा सहभागी हुन आइतबार दाङ आएका छन् । उनको पहिलो सभा लालमटियाबाट सुरु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले माओवादी उम्मेदवारहरु विजयी भएमा शासक नभई जनताको कामदारको रुपमा काम गर्ने बताए ।

उनले झूठा आश्वासन नदिने बरु काम गरेर देखाउने बताए । ‘हाम्रा उम्मेदवारहरु जनताको मन जितेर अघि बढ्छन् । आश्वासन बाँड्दैनन्,’ मन्त्री शर्माले भने, ‘हामी हाम्रा उम्मेदवारलाई शासक बन्न दिँदैनौं उनीहरुले जनताको कामदारको रुपमा काम गर्नेछन् ।’

जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको स्मरण गर्दै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिरेको टिप्पणी गरे । माओवादीकै पहलमा जारी भएको संविधानमा २२ वटा मौलिक अधिकार उल्लेख भएको भन्दै उनले त्याग र बलिदानबाट प्राप्त ति अधिकारहरुलाई चुनावमार्फत कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।

‘हामी जनताको निर्वाचित सरकार निर्माण गर्दै संविधान निर्माण प्रक्रियामा छौं । संविधानको धारामामात्र लेखिएका अधिकार कार्यान्वयनको चरणमा छौं,’ मन्त्री शर्माले भने, ‘लाखौं जनतालाई आन्दोलनमा उतारेर प्राप्त भएको अधिकार हो यो । हिजो जनताका भात र रोटी खायौं आज अधिकार सम्पन्न बनाएका छौं ।’

देश २० वर्षदेखि माओवादीको एजेण्डामा अघि बढेको भन्दै उनले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको दाबी गरे । विगतमा बनेका कांग्रेस-एमालेका सरकारहरुले जनतालाई माओवादीले जति अधिकार दिन नसकेको मन्त्री शर्माले बताए ।

विगतमा जनताको अधिकारको विषयमा मुख नखोल्नेहरु अहिले अंशियार बनेर आएको भन्दै मन्त्री शर्माले प्रश्न गरे, ‘पटक-पटक सरकारमा बसेकाहरुले के गरे ? थारुको नारा लिएर अंशियारहरु आएका छन् । उनीहरु हिँजो कहाँ थिए ?’

राजनीतिक इच्छाशक्ति भए १० वर्षभित्र देश समृद्ध

छोरा-छोरीहरुले आफ्नो तलबको १० प्रतिशत आमा-बुवालाई दिर्नैपर्ने व्यवस्था पनि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले नै लागू गरेको मन्त्री शर्माले बताए । ‘अब वृद्धवृद्धालाई दुई हजार दिएर जीवन चल्दैन । त्यसैले छोरा-छोरीले कमाइको १० प्रतिशत दिनैपर्ने कानुन प्रचण्ड सरकारले बनाएको छ,’ उनले भने ।

अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धि हो भन्दै उनले राजनीतिक इच्छाशक्ति भए १० वर्षमा नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने धारणा राखे । अघिल्लो सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारीमा रहँदा देशबाट लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका शर्माले भने, ‘म सरकारमा रहँदाको अनुभवले भन्छ, १० वर्षभित्र देशलाई समृद्ध बनाउन सकिन्छ । त्यो आत्मविश्वास बढेको छ ।’

माओवादी केन्द्रले तल्लो वर्गलाई माथि उठाउने, आर्थिक समृद्धि हासिल गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने, सरकारी विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धी बनाउने र स्वास्थ्य बीमामार्फत सबैलाई उपचारको व्यवस्था मिलाउने मन्त्री शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment