Comments Add Comment

होटलमा थपिँदै २७ अर्ब लगानी, कहाँ–कहाँ बन्दैछन् १० पाँचतारे ?

आगामी दुई वर्षमा पाँचतारे होटल दोब्बर हुने

१२ असार, काठमाडौं । आगामी दुई वर्षभित्र देशमा पाँचतारे होटलको संख्या दोब्बर हुने भएको छ । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् ।

होटल एसोसियसन अफ नेपाल (हान) का अनुसार होटल क्षेत्रमा २७ अर्ब ५ करोड बराबरको लगानी भइरहेको छ । निर्माणाधीन अवस्थामा रहेका १० वटा होटल सन् २०१९ भित्रमा सञ्चालनमा आउने हानले जनाएको छ ।

होटलमा यसरी लगानी बढ्दै गए पनि विदेशी पर्यटक आगमन भने खासै उत्साहजनकरुपमा बढेको छैन । सरकारले सन् २०२० सम्ममा वार्षिय २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ, तर अहिलेकै छाँटले त्यो पुरा हुन निकै कठिन देखिन्छ ।

हानका महासचिब बिनायक शाह भन्छन्, ‘होटल निर्माणको क्रम बढी रहेको छ तर सोही अनुसारको पर्यटकको आगमन हुन सकिरहेको छैन ।
कुन होटल कहाँ ?

ठमेलको छाँयादेवी सेन्टरमा बन्दै गरेको पाँचतारे होटल सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने व्यवस्थापकको तयारी छ । ५ अर्ब बराबरको लगानी रहेको यो होटलमा २ सय २० वटा कोठा रहनेछन् ।

त्यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको एमआइटी ग्रुप होल्डिङ्सले निर्माण गरिरहेको होटल शेराटन सन् २०१९ भित्र सञ्चालनमा ल्याउने तयारी छ । करिब १२ अर्ब लगानी रहेको यो होटलमा २ सय२५ कोठा रहने छन् ।

त्यस्तै नक्सालमा बनिरहेको म्यारियट होटल पनि २०१९ भित्रै सञ्चालनमा ल्यउने योजना बनाइएको छ । ४ अर्ब लगानीमा बन्न लागेको यो होटलमा २ सय ३५ कोठा बन्दैछन् ।

रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले निर्माण गरिरहेको टाइगर प्यालेस पनि पाँचतारे होटल हो ।

सिल्भर हेरिटेजको नेपाल प्रमुख राजेन्द्र बजगाईका अनुसार यो होटलको निर्माण कार्य लगभग सकिएको छ । छिट्टै नै होटल सञ्चालनमा ल्याउने तयारी भएको बजगाई बताउँछन् । करीव १५ विगाहा क्षेत्रफलमा निर्माण भइरहेको यो होटलको लगानी ३ अर्ब छ भने यसमा २ सय रुमहरु छन् ।

भैरहवाको बालापुरमा पाँचतारे बोधि रेडसन होटल सञ्चालनमा आउन लागेको छ । अहिले सञ्चालनमा रहेको बोधी रेडसन होटललाई स्तरोन्नती गरेर पाँचतारे बनाउन लागिएको हो । बोधि रेडसनमा अहिले ६४ रुमहरु रहेका छन् । स्तरोन्नती भएपछि होटलमा १ सय ८ वटा रुमहरु पुग्ने बताइएको छ । जसका लागि अहिले १ अर्ब बराबरको लगानी भइरहेको छ ।

नेपाल–भारतको सीमानामा पर्ने बेलहियामा नान्स होटल बन्दैछ । कुल ७० करोड लगानीमा बन्दै गरेको यो होटलमा १ सय रुम हुनेछन् । यो होटल पनि सन् २०१९ सम्ममा सञ्चालनमा आइसक्ने छ ।

पवन प्यालेस होटल पनि सन् २०१९ सम्ममा सञ्चालनमा आइसक्ने हानले जनाएको छ । करिब १ अर्ब ३५ करोडमा बन्दै गरेको यो होटलमा १ सय ४८ वटा रुमहरु हुनेछन् । यो होटल लुम्बिनीको पर्साचोक नजिकै बन्दैछ । यो होटल पवनकुमार हलुवाईले बनाइरहेका छन् ।

त्यस्तै अन्नपूर्ण भ्यु होटल पनि सञ्चालनमा आउने तयारीमा छ । १ अर्बको लगानी रहेको यो होटलमा १ सय १० कोठा छन् । होटल लि शेर्पा र दुगर ग्रुपको लगानीमा पनि होटल निर्माण भइरहेको छ ।

अन्य होटल पनि प्रशस्तै

देशभरमा अहिले २ वटा चारतारे होटल सञ्चालनमा छन् भने तिनतारे १२ वटा छन् । २ तारे होटलहरु २२, एकतारे १८ र तारारहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे छन् ।

पछिल्लो समय पर्यटकको होमस्टेमा आकर्षण बढेपछि होटलमा अकुपेन्सी कम हुँदै गएको छ । हानका अनुसार अहिलेसम्म होटल क्षेत्रमा निजी क्षेत्रको २ सय ५० अर्ब बराबरको लगानी रहेको छ ।

विभिन्न राजनीतिक दलहरुबाट हुने नेपाल बन्दको आह्वानले होटल क्षेत्रले एकै दिनमा ठूलो क्षति भोग्ने गरेको छ । एकैदिन बन्द हुँदा पनि यो क्षेत्रमा करिब ४ करोड बराबरको क्षति हुने हानले जनाएको छ ।

दुई वर्षअघिको भूकम्म र नाकाबन्दीका कारण यो क्षेत्रले ठूलो नोक्सानी ब्यहोर्नुपर्‍यो । अहिले पनि होटलहरुले भूकम्पअघिको अवस्थामा विदेशी ग्राहक पाइरहेका छैनन् । त्यस्तै निर्माणाधीन होटलले पनि पूर्वनिर्धारित समयमा होटल सञ्चालनमा ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment