१४ असार, रोल्पा । थवाङबासीको उत्साहजनक सहभागितामा स्थानीय चुनाव सम्पन्न भएको छ । थवाङ गाउँपालिकामा कुल मतदाता ५ हजार ८ सय ५३ जना रहेका छन् ।
थवाङमा करिब ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
थवाङ गाउँपालिकाको वडा नम्बर १ र २ मा खसेको मत संख्या आए पनि ३ र ४ मा खसेको मतसंख्या आइसकेको छैन । वडा नम्बर १ मा कुल मतदाता १ हजार ७९ रहेकोमा ६ सय ७९ मत खसेको छ । यसैगरी वडा नम्बर २ मा कुल मतदाता १ हजार २१२ रहेकोमा ८ सय २२ मत खसेको थवाङबाट पत्रकार मौसम रोकाले जानकारी दिए ।
साविकको थवाङसहित, मिरुल र उवा गाविस गाभेर थवाङ गाउँपालिका बनाइएको छ । थवाङको वडा नम्बर १ र २ साविक थबाङ गाविसमा पर्दछन् भने वडा नम्बर ३ साविक मिरुल गाविसमा र वडा नम्बर ४ र ५ साविक उवा गाविसमा पर्दछन् ।
अन्य जिल्लामा निर्वाचन बिरोधी गतिविधि गरेको विप्लव नेतृत्वको नेकपाले समेत रोल्पामा चुनाव लडेको छ । थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपाबाट अमित घर्ती स्वतन्त्र उम्मेदवार छन् ।