Comments Add Comment

असार १५ विशेष कविता: किसानको रहर


सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।

बिहानपख झुल्किन्छ घाम देउराली पाखामा
असारे गीत घन्किन्छ अनि सुरिलो भाकामा ।

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्न गर्नु नै पर्ने उकाली-ओराली ।

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा ।

सुनौला बाला झुलेर होला भुइँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment