Comments Add Comment

२० वर्षअघिकै प्रत्यासीलाई हराउँदै महेश बने इलामको मेयर

देउमार्इ नगरपालिकामा पनि एमाले विजयी

१८ असार, इलाम। इलाम नगरपालिकाको मेयरमा नेकपा एमालेका महेश बस्नेत दोस्रो पटक बिजयी भएका छन् ।

२०५४ सालमा पनि उनले इलाम नगरपालिकाको मेयर जितेका थिए । आइतवार साँझ मतगणना सम्पन्न हुँदा बस्नेतले ११ हजार ३३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २६८ मत ल्याएका छन् । यसरी नै उपमेयरमा पनि एमालेकै सुशीला नेम्बाङले जितेकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चन्दा कार्कीलाई पराजित गरेकी छिन् । नेम्बाङले १० हजार ९४६ मत ल्याएकी छिन् । कार्कीले भने ९ हजार २५४ मत ल्याएकी छिन् । इलाममा जितेसँगै एमालेले बिजय उत्सव मनाएको छ ।

२० वर्ष अघि भएको स्थानीय निकायको निर्वाचनमा पनि बस्नेत र कर्माचार्यले मेयरमा प्रतिष्पर्धा गरेका थिए । ७३ मतले बस्नेतले कर्माचार्यलाई हराउँदै २०५४ सालमा पनि एक कार्यकाल इलाम नगरपालिकाको मेयर भएका थिए ।

कर्माचार्य कांग्रेसका जिल्ला सभापति पनि हुन् । उनी २०७० सालको संविधानसभा चुनावमा एमाले नेता झलनाथ खनालसँग पराजित भएका थिए ।

इलाम नगरपालिकाको वडा नं १ मा नेकपा एमालेका अम्बिका गौतम, २ नम्बरमा नारदप्रसाद प्रसाद लम्साल, ३ मा नेपाली कांग्रेसका तीर्थराज गुरुङ, ५ मा एमालेका ठाकूर श्रेष्ठ, ६ मा एमालेका माधवप्रसाद भट्टराई, ७ मा नेपाली कांग्रेसका नरेश श्रेष्ठ, ८ मा नेपाली कांग्रेसका होमबहादुर बस्नेत, ९ मा नेकपा एमालेका श्यामकृष्ण घिमिरे, १० मा नेकपा एमालेका रोमबहादुर लुङ्गेली, ११ मा नेपाली कांग्रेसका रबिन एक्तेन र १२ मा नेपाली कांग्रेसका लाखमान लिम्बूले जितेका छन् ।

देउमाई नगरपालिकामा पनि नेकपा एमाले जीतको नजिक पुगिसकेको छ । अहिलेसम्म इलामका १० स्थानीय निकाय मध्ये चार गाउँपालिका र एक नगरपालिकाको मत परिणाम आएको छ । सन्दकपुर, माइजोगमाई, चुलाचुली गाउँपालिकामा एमालले जितेको छ । भने माङ्सेबुङ्ग गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । मत परिणाम आउन बाँकी रहेको सुर्योदय र देउमाई नगरपालिकामा एमाले अगाडि छ ।

यसरी नै इलामका स्थानीय तहको ८१ वडाहरु मध्ये ६६ वटा वडाको मत परिणाम आइसकेको छ । अहिलेसम्म वडाहरुमा नेकपा एमालको अग्रता रहेको छ । नेपाली कांग्रेसले मछ्याइरहेको छ । नेकपा एमालले हालसम्म ३५ वटा वडाहरुमा प्यानलै जितेको छ । नेपाली कांग्रेसले १२ वडाहरुमा प्यानलनै जितेको छ । १७ वटा वडाहरुमा नेकपा एमाले कांग्रेस र माओवादी केन्ऽले मिश्रति जित हात पारेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक र राष्ट्रिय जनमुक्ति मोर्चाले एक वडामा प्यानलनै जितेको छ । माओवादी केन्ऽले भने एक वडाध्यक्ष र एक सदस्य मात्र अहिलेसम्म हात पारेको छ ।

देउमार्इ नगरपालिकामा पनि एमाले विजयी

यस्तै इलामकै देउमाई नगरपालिका पनि एमालेले जितेको छ । नेकपा एमालेका सुर्यप्रसाद पोख्रेलले विजयी भएका छन् ।

उनले ७०२ मत अन्तरले नेपाली कांग्रेसका होम दुलाललाई पराजित गरेका हुन । पोख्रेलले ७ हजार ३४७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दुलालले ६ हजार ६४५ मत प्राप्त गरेका छन् ।

यसरी नै उपमेयरमा पनि एमालेकी पविमाया राईले जितेकी छिन् । उनले १५ सय ९७ मतले नेपाली कांग्रेसकी सुर्यमाया राईलाई पछि पार्दै जित हात पारेकी हुन् । एमालेकी राईले ७ हजार ९८७ मत र कांग्रेसकी राईले ६ हजार ३९० मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment