Comments Add Comment

धनगढी उपहानगरपालिकामा रुखलाई मकैको बोटले यसरी दिँदैछ धक्का

मेयरका उम्मेदवार सबैले अाफू जित्ने अाशा गरेका छन्, तर कोही पनि विश्वस्त छैनन्

२० असार, धनगढी । ७ नम्बर प्रदेशको सम्भावित राजधानी र एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको मतगणनामा सबैको चासो छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिष्ठा समेत गाँसिएकाले यो उपमहानगर चासोको केन्द्रमा रहेको हो ।

विवादका कारण पटकपटक स्थगित हुँदै पुन: सुरु भएको मतगणना निकै सुस्त गतिमा चलिरहँदा राप्रपा र फोरम लोकतान्त्रिक बाहेक मुख्य तीन दल र एक जना स्वतन्त्र उम्मेदवारले आफू जित्ने अपेक्षा गरेका छन् । तर, कोही पनि विश्वस्त छैनन् ।

धनगढीको सबैभन्दा रोचक पक्ष के हो भने, कांग्रेसको गढमामा कांग्रेसको रुखलाई मकैको बोटले चुनौती दिइरहेको छ । मकैको बोट स्वतन्त्र उम्मेदवार गोपाल हमालको चुनाव चिह्न हो, जसले मेयरमा कांग्रेसलाई टक्कर दिइरहेका छन् ।

कांग्रेसले आफ्नो मुख्य गढ मानेको वडा नम्बर ३ को मतगणना भइरहँदा स्वतन्त्र उम्मेदवारले कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याएपछि खैलाबैला मच्चिएको छ । वडाध्यक्षतर्फ कांग्रेसका उम्मेदवारको मत अधिक छ ।

पछिल्लो गणना अनुसार, कांग्रेस उम्मेदवार नृप वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालको बराबरी अर्थात् ५ हजार १ सय ४७ मत छ । सबैभन्दा बढी मतदाता भएको र काग्रेसले सबैभन्दा बढी अपेक्षा गरेको यो वडामा हमालले सबै पार्टीको भोट आफूतिर बटुलेका छन् ।

पछिल्लो गणनामा एमालेका दुर्गा जोशीको ३ हजार ९ सय ५५ र माओवादीका रामसमझ रानाको मत २ हजार ९ सय ३३ छ । जबकि उपमेयरमा सबै पार्टीका उम्मेदवारले मेयरको भन्दा फराकिलो अन्तरमा भोट ल्याएका छन् । कांग्रेसका नृप वडले मेयरमा ५ हजार १ सय ४७ मत पाउँदा उपमेयरमा ६ हजार २ सय २२ मत परेको छ ।

एमालेकी उपमेयरले मेयरको भन्दा १ हजारभन्दा बढी मत पाएकी छन् भने माओवादीको पनि त्यस्तै छ । स्वतन्त्र उम्मेदवारले सबै दलका मेयरका मत आफूतिर लैजान सफल भएको देखिन्छ । तर, उनी सबैभन्दा ठूलो थ्रेट चाहिँ कांग्रेसका लागि बनेका छन् ।

अहिलेसम्म मतगणना सम्पन्न भएका वडामध्ये कांग्रेसले १, २ र १७ मा वडाध्यक्ष जितेको छ । माअोवादीले १८ र एमालेले १९ नम्बर वडाको वडाध्यक्ष जितेको छ । ती वडाबाट मेयरमा उनीहरुले अपेक्षित पाउन सकेनन् ।

गणना भएका र भइरहेका वडा नम्बर १ देखि ६ सम्म बजारक्षेत्र हो र कांग्रेसको बलिया पकड भएका वडा हुन् । तर, त्यहाँ रुखलाई मकैको बोटले कडा टक्कर दिएको छ । एमालेले १८ र १९ लाई आफ्नो पकड मानेको हो । तर, त्यो अनुसारको मत आएन ।

अब एमालेले ६, ७, १३ र १४ नम्बर वडाबाट अगाडि बढ्न सकिन्छ भन्ने आश गरेको छ । कांग्रेसले अब ४, ५, र ६ नम्बर वडाबाट आशा गरेको छ । तर, स्वतन्त्र उम्मेदवारले ती सबै वडाबाट आफू अगाडि बढ्ने ढुक्कसँग बताइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार हमाल आफ्नो जितप्रति ढुक्क भइरहँदा कांग्रेस र एमाले भने अन्तरघातको आरोप लगाइरहेका छन् । अहिले पनि उम्मेदवारहरु आफू जित्नेमा अाशावादी छन्, तर हमाल जत्तिको होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment