Comments Add Comment

तुलसीपुर उपमहानगरको बागडोर वन अभियन्ता र शहीद पत्नीको हातमा

घनश्याम पाण्डेलाई २० वर्षपछि पनि जनताको विश्वास


२२ असार, दाङ । पकड क्षेत्रमा कांग्रेसलाई स्तब्ध बनाउदै दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले जितेपछि दाङमा चुनावका अनेक खाले विश्लेषण भइरहेका छन् । कांग्रेसका प्रभावशाली नेता दिपक गिरीले चुनाव जितेको ठाउँमा एमालेका युवा नेता घनश्याम पाण्डेले धावा बोले ।

एमालेका लागि तुलसीपुर उपमहानगरपालिकाको बिजय सन्जिवनी बुटी जस्तै बनेको छ । किनकी यहि उपमहानगरपालिकाका मतदाता समेत हुन् एमालेका नेता शंकर पोखरेल । पोखरेल गत संविधानसभा चुनावमा पराजित भएका थिए । तर यसपटक समग्र दाङको नतिजाले पोखरेल पुलकित छन् ।

को हुन् घनश्याम पाण्डे ?

ठीक २० वर्षअघि यहि बेला घनश्याम पाण्डे तत्कालिन तुलसीपुर नगरपालिकाको उपमेयर जित्दा जम्मा २३ वर्षका युवा थिए । २८ वर्षको उमेरमा उपमेयरबाट बाहिरिएपछि उनी देश बिदेश धेरै डुले । राजनीतिक कार्यकर्ता भन्दा सामाजिक र सामुदायिक अभियन्ताका रुपमा आफूलाई स्थापित गरे ।

समयको चक्रले २० वर्षपछि फेरि घनश्यामलाई दाङको तुलसीपुरमा निम्त्यायो । एमालेले टिकट दिएर पठाउँदासम्म पनि घनश्यामलाई कतिपयले ‘टुरिस्ट’ उम्मेदवार भन्न भ्याए । तर बिहीबार बिहान उनले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा भारी मतान्तरले जितेर आलोचकहरुको मुख बन्द गराइदिए ।

सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्ष बनेपछि उनको परिचय राजनीतिक भन्दा सामाजिक अभियन्ताका रुपमा फेरिएको थियो । उनी सामाजिक अभियानमा रहे पनि राजनीतिक गतिबिधिबाट भने टाढा रहेनन् । नेकपा एमालेका बिभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका पाण्डेलाई पार्टीले यसपटक जोखिम मोलेर तुलसीपुर उपमहानगरको मेयरमा उठाएको थियो । तर उनले सहज जित निकाल्न सफल भए ।

पाण्डेको राजनीतिक यात्रा

०३० भदौ ८ गते टेकबहादुर पाण्डे र अमृता पाण्डेको पहिलो सन्तानका रुपमा तुलसीपुर उपमहानगरपालिका ८ अश्वारामा जन्मिएका उनले ग्रामिण विकासमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् भने विएस्सी र एल.एल.वी. सम्मको समेत अध्ययन पूरा गरेका छन् ।

०४३ सालमा मावि भ्युडहर सुनपुरमा अध्ययन गर्दा अनेरास्ववियुमा संलग्न भएर एमालेको राजनीतिमा प्रवेश गरेका पाण्डेले ०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका समेत निर्वाह गरेका थिए । ०४६ सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्य भएका पाण्डेले ०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए ।

मावि हंसपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट वि.एस्सी. सम्मको अध्ययन गरे । पाल्पामा अध्ययन गर्दा कुशल संगठकको परिचय बनाएका उनी सोही क्याम्पसमा ०५२ मा स्ववियु उपसभापति समेत भएका थिए ।

उपमेयर बनेपछि लोकप्रिय

विभिन्न समयमा सरकारी र निजी विद्यालयमा करिव ५ वर्ष अध्यापन गरेका पाण्डेले ०५४ सालको स्थानीय निकायको चुनावमा २३ वर्षको कलिलो उमेरमा तुलसीपुरको तत्कालीन नगरपालिकाको उपमेयरमा निर्वाचित भए । तुलसीपुरमा केही नयाँ र जनपि्रय काम गरेका पाण्डे त्यतिबेला नै जनतामाझ लोकप्रिय थिए । नेपालमा भर्खरै विकास क्रममा रहेको सामुदायिक वनको क्षेत्रमा केन्द्रीय सदस्य हुदै अध्यक्षसम्म भएका पाण्डे विश्वभर सामुदायिक वनको विज्ञका रुपमा समेत परिचित छन् ।

वनकै मुद्दालाई स्थापित गर्नका लागि विश्वका ५० भन्दा बढी देश पुगिसकेका पाण्डेले संयुक्त राष्ट्रसंघको महासभामा समेत सामुदायिक वनको मुद्दालाई उठाइसकेका छन् । ०६२/६३ को जनआन्दोलनमा १ महिना प्रहरी हिरासतमा समेत परेका पाण्डे ०६२ सालमा एमाले दाङको जिल्ला कमिटी सदस्य समेत भएका थिए ।

०६४ सालमा एमालेको प्राकृतिक स्रोत विभागको केन्द्रीय सदस्य समेत भएका पाण्डे अहिले अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका छन् । सहकारी तथा गरिवी निवारण विभागको केन्द्रीय सदस्यका रुपमा क्रियाशिल उनी सामुदायिक सञ्चार, शिक्षा, बैंक तथा वित्तिय विकास, कृषि तथा बजारीकरण लगायतका क्षेत्रमा लामो समयदेखि क्रियाशिल हुँदै आएका छन् । नेपाली, अंग्रेजी, हिन्दी र थारु भाषामा विशेष दख्खल राख्ने पाण्डेले तुलसीपुर उपमहानगरलाई ५ वर्ष भित्रमा मुलुककै समृद्ध नगरको रुपमा विकास गर्ने अठोट लिएका छन् ।

शहीद पत्नीको उपमेयर यात्रा

तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित माया आचार्य दाङको वामपन्थी आन्दोलनकी अग्रणी महिला हुन् । ०३५ सालमा १६ वर्षको उमेरमा दंगाली आन्दोलनका प्रखर व्यक्तित्व श्रीमणी आचार्यसँग वैवाहिक सम्वन्धमा बाँधिएकी थिइन् ।

दंगाली कम्युनिष्ट आन्दोलनका आधारस्तम्भ मानिने नेत्रलाल अभागी, शोभाराम बस्नेत लगायतले उनको विवाहका लागि भूमिका खेलेका थिए । श्रीमणीलाई विवाह पश्चात मात्रै उनले चिनेकी थिइन् । उनको विवाह भएको बेला श्रीमणी शिक्षक थिए । घरमा ससुरा कांग्रेस र श्रीमान कम्युनिष्ट दुईखाले राजनीतिक वातावरण भएपनि उनलाई यसले खासै प्रभाव पारेन । उनले एकैपटक कांग्रेस र कम्युनिष्टका कार्यकर्ताहरुलाई बेग्ला बेग्लै ठाउँमा खाना खुवाउथिन् ।

०५० सालमा पार्टी सदस्यता लिएकी मायाको प्रत्यक्ष राजनीतिक जीवनको आरम्भ भने ०४६ सालबाट नै भएको हो । उनले अनेमसंघ उरहरी गाउँ कमिटीको सचिव भएर राजनीतिको यात्राको सुरुवात गरेकी थिइन् । ०४७ मा अनेमसंघको क्षेत्रिय सदस्य हुदै ०४८ सालमा जिल्ला कमिटीमा समेत उनले संलग्नता जनाइन् ।

पाटीको आठौं र नवौ राष्ट्रिय अधिवेशनमा प्रतिनिधिको रुपमा समेत उनले प्रतिनिधित्व जनाइसकेकी छिन् । विजौरी गोलिकाण्डमा गोली लागेर घाइते भएका श्रीमणी आचार्यको ०६४ पुस ३ गते मृत्यु भएपछि उनलाई शहीद पत्नीका रुपमा एमालेले सम्मान दिँदै आएको थियो ।

हाल नेकपा एमाले जिल्ला कमिटी सल्लाहकारका रुपमा समेत क्रियाशिल आचार्यले तुलसीपुर उपमहानगरपालिकाको उपमेयरका रुपमा आफूले नमूना कामहरु गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment