Comments Add Comment

झापामा जिसस गठनको यस्तो छ तयारी

जिससमा एमाले हाबी हुने निश्चित

२५ असार, झापा । झापामा भएका १५ वटा स्थानीय तहमध्ये १४ वटाको नतिजा आइसकेको छ । बाँकी रहेको अर्जुनधारा नगरपालिकाको गणना पनि अन्तिम चरणमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता कायम छ । यसरी हेर्दा झापामा एमालेले प्रमुखमा ७, उपप्रमुखमा १२, कांग्रेसले प्रमुखमा ५, उपप्रमुखमा २ र राप्रपाले प्रमुखमा ३ र उपप्रमुखमा १ स्थानमा जितेको छ ।

नेपालको संविधानको धारा २२० मा उल्लेख भएअनुसार नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र जिल्ला समन्वय समिति गठन हुनु पर्छ । जसमा मतदान गर्ने अधिकार नगरसभा र गाउँसभाका प्रमुख र उपप्रमुखलाई हुन्छ ।

झापामा विजयी प्रमुख र उपप्रमुखको संख्या हेर्दा एमालेको मतदाता संख्या बढी छ । एमालेसँग १९ मत छ भने कांग्रेसँग ७ मत र राप्रपासँग ४ मत छ । त्यसैले जिल्लाको समन्वय समितिमा एमाले हाबी हुने निश्चित छ ।

झापाका प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार जिल्ला समन्वय समितिमा एक÷एक जना प्रमुख र उपप्रमुख, तीन जना महिला सदस्य, एक दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुल्लाबाट सदस्य रहने व्यवस्था छ ।

उनका अनुसार १५ वटै स्थानीय तहका प्रमुख र उप्रमुख सदस्य हुने जिल्ला सभाले जिसस गठन गर्छ । जसको कार्य जिल्लाका सबै स्थानीय तहबीच समन्वय गर्नु हुन्छ ।

जिससलाई स्थानीय तहमा भएका विकास निर्माणका कार्य र सरकारी कार्यालयको अनुगमन गर्ने अधिकार पनि हुन्छ । जिससको उम्मेदवारका बन्नका लागि गाउँ वा नगरसभामा भएकै हुनुपर्ने प्रावधान रहेको पाण्डेले बताए ।

‘जिससमा जाँदा नगर वा गाउँ सभामा राजीनामा दिनु पर्ने भएकाले सदस्यले मात्र उम्मेदवारी दिन्छन्’, उनले भने, ‘अनि, जिल्ला सभाको निर्वाचनबाट जिल्ला समन्वय समिति बन्छ ।’

पाण्डेका अनुसार अर्जुनधारा नगरपालिकाको नतिजा घोषणा भइसकेपछि जिसस गठन गर्नका लागि निर्वाचन आयोगले निर्देशन दिन्छ । आयोगले नै मिति तोक्छ । र, त्यस अनुसार कार्यक्रम तोकेर जिसस गठन प्रक्रिया सुरु हुन्छ ।

जिससमा एमाले हाबी हुने निश्चित

जिल्ला सभामा बहुमत भएकाले जिल्ला समन्वय समितिमा एमाले हाबी हुने निश्चित छ । एमाले स्रोतका अनुसार पार्टीले अर्जुनधारा नगरपालिकाको वडा नं. ५ मा वडा सदस्य जितेका कुन्दन भट्टराईको जिसस प्रमुख बन्ने सम्भावना बढी छ ।

यसअघि उनले अर्जुनधारा नगरपालिकाको मेयरको टिकट पाउन निकै कसरत गरेका थिए । तर, पार्टीले हरिकुमार राणालाई टिकट दिएपछि उनलाई जिसस सभापति बनाउने भन्दै थमाइएको थियो ।

जसका कारण वडा नं. ५ मा वडा सदस्यको उम्मेदवार परिवर्तन गरिएको थियो । यसअघि पार्टीकै सक्रिय युवा सदस्य रोहित चौधरीलाई वडा सदस्यको टिकट दिने निर्णय भएको थियो । तर, भागबण्डा मिलाउने क्रममा उनले पछि सार्नुपर्याे ।

जिल्ला सभामा एमालेको बहुमत भएकोले जिससको सबै पदमा एमालेले दाबी गर्नेछ । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले भने जिससको बारेमा पार्टीभित्र गृहकार्य नभएको बताएका छन् । तर, स्रोतका अनुसार सभापतिमा भट्टराईलाई अघि सार्ने यसअघि नै तयारी गरिएको छ भने अन्य पदमा कसलाई अघि सार्ने भन्ने बारेमा नेताहरुको आन्तरिक छलफल भइरहेको छ ।

भद्रपुर नगरपालिकाको वडा नं. २ का वडा सदस्य पदम लिम्बू र गौरादह वडा नं. १ का सदस्य चन्द्र सुब्बामध्ये एक जनालाई जिससको उपप्रमुख बनाउने पार्टीका केही नेताले तयारी गरिरहेको पनि स्रोत बताउँछ ।

को हुन् भट्टराई ?

भट्टराई ०५४ सालमा भएको स्थानीय निर्वाचनमा साबिक अर्जुनधारा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । ०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार हुँदा उनी नेपाल गुठी संस्थानको केन्द्रीय प्रशासक समेत बनेका थिए ।

उनी नेकपा एमाले जिल्ला समितिको पूर्व सचिवालय सदस्य पनि हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका भट्टराईले केही वर्ष शिक्षण पनि गरेका थिए । उनले ०४४/४५ सालमा बिर्तामोडको सगरमाथा स्कूलमा अंग्रेजी विषय पढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment