Comments Add Comment

नागार्जुन नगरपालिकाको बजेट: हरेक वडाका पाँच जनालाई सहुलियत ऋण

सडक, स्वास्थ्य, शिक्षा र भूकम्पपीडित प्राथमिकतामा

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत

२५ असार, काठमाडौं । नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि ६४ करोड ७२ लाख ९० हजार रूपैयाँको बजेट तयार पारेको छ । बजेटमा सडक, खानेपानी, ढल निकास, स्वास्थ्य र विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिइएको छ ।

नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले अनलाइनखबरसँग भने, ‘बजेट तयार भएको छ । आज ११ बजे सार्बजनिक गर्छौं ।’

नगरपालिका र वडा कार्यालयहरुको भवन निर्माण कार्यका लागि १५ करोड बजेट बिनियोजन गरिएको बस्नेतले जानकारी दिए ।

हरेक वडाका पाँच जनालाई सहुलियत ऋण

नागार्जुन नगरपालिकाका १० वटै वडाका बासिन्दालाई स्वावलम्बी बनाउने उद्देश्यले सहुलियत ऋणको व्यवस्था पनि बजेटमार्फत गरिएको छ । त्यसको लागि करिब एक करोड रुपैयाँ छुट्याइएको छ ।

हरेक वडाका पाँच–पाँच जनालाई व्यवसाय गर्न तीनदेखि पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने छ । यसरी ऋण दिँदा समावेशी सिद्धान्तलाई आधार मानिने छ । तर यो योजना यस वर्ष परीक्षणको लागि मात्र ल्याइएको र प्रभावकारी देखिए निरन्तरता दिइने मेयर बस्नेतले बताए ।

‘पढेकालाई त सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने भयो तर नपढेकालाई के गर्ने त भनेर यो अवधारणा हामीले परीक्षणका लागि ल्याएका छौं,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘महिला, युवा, दलित, विपन्न वर्गलाई समेटिने गरी बजेट दिन्छौं । हेरौं यो कत्तिको सफल हुन्छ ।’

स्वास्थ्य बीमालाई ७५ लाख

नागार्जुन नगरपालिकाले नगरबासीका लागि स्वास्थ्य बीमाको योजना पनि ल्याएको छ । नगरबासीले साढे १२ सय रुपैयाँ बुझाए त्यसमा थप साढे १२ सय रुपैयाँ थपेर स्वास्थ्य बीमा गरिने छ । त्यसका लागि नागार्जुन नगरपालिकाले करिब ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले देशभरका नेपाली नागरिकलाई पनि स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । तर, त्यसका लागि एकमुष्ठ २५ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । नागार्जुन नगरपालिकाले भने साढे १२ सय नागरिकले बुझाउने र त्यसमा थप साढे १२ सय नगरपालिकाले थपिदिने व्यवस्था मिलाएर २५ सयको स्वास्थ्य बीमा कार्यक्रम ल्याएको मेयर मोहन बहादुर बस्नेतको भनाइ छ ।

सामुदायीक विद्यालयलाई ६० लाख

नागार्जुन नगरपालिकाभित्रका सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्ने र बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने उद्देश्यले बिभिन्न कार्यक्रम सन्चालन गर्ने योजना अनुसार ६० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था लगायतका योजना यसभित्र समेटिएका छन् ।

नागार्जुन नगरपालिकाभित्र १९ वटा सामुदायीक विद्यालय छन् । तिमध्ये तीन वटा विद्यालयमा विद्यार्थीहरुको संख्या न्युन भएकाले ‘मर्ज’ गर्नुपर्ने अवस्थामा छन् । संकटमा रहेका विद्यालय बाहेकलाई बजेटको व्यवस्था गरिने मेयर बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

भूकम्प पीडितलाई निःशुल्क नक्सापास

भूकम्प पीडित नागार्जुन नगरपालिकाबासीका लागि लक्षित गरेर पनि कार्यक्रम ल्याइएको छ । रातो कार्ड भएका भूकम्प पीडितलाई घरको नक्सा पास गर्न पैसा नलाग्ने व्यवस्था बजेटमार्फत् गरिएको छ ।

यसैगरी नगरपालिकालाई हराभरा बनाउने योजना पनि बनाइएको छ । त्यसका लागि सबै नगरबासीले घरमा फलफूलको बिरुवा रोप्नुपर्ने छ ।

‘आँप, सुन्तला, एबोकाँडो लगायत फलफूलको बिरुवा रोप्नुपर्ने नियम बनाएका छौं, यसबाट नगरपालिकालाई हराभरा बनाउन सहयोग पुग्छ,’ बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment