Comments Add Comment

कविता: शहरलाई तीन प्रश्न

महल भन्नु नै –
एक बित्ता माटो
बैठक कोठामा सजिएको नक्कली फूल
भित्तामा टाँगिएको पहाडको नक्सा
पिजडामा थुनिएको एउटा सुगा
बलेसीमा जबरजस्ती अटाइएको एउटा धुपी
अनि ‘सावधान’ लेखिएको गेट न रहेछ !

छिमेकी भन्नु नै पल्लो कोठाको मान्छे ।

समग्रमा शहर भन्नु चाहिँ
सपनाहरुको चिहानघारी रहेछ
यहाँ लाखौं मान्छेहरु
दिनहुँ मलामी बन्दा रहेछन् सपनाको ।

ओ शहर !
मेरो इलाकामा त –
ऊ त्यो एक हुल नीर गाई र एक बथान डाँफे मेरै हुन्
किनकि आँखाले भ्याएसम्मको जङ्गल मेरै पिँजडा हो
लेकमा राताम्य फुलेको लालीगुराँस पनि
मेरै घरको डिलमा फुलेसरह हो
गोडाले भ्याएसम्मको घर मेरै छिमेकी हुन्
तिम्रो बैठककोठामा टाँगेको पहाडको नक्सा, ऊ पारिको साहोनाम्लाङ डाँडा हो
त्यो गेटमा लेखिएको ‘स्वागतम्’ पनि तिम्रै लागि हो ।

ओ शहर !
मलाई पाखे भन
या त तिम्रो शहर कत्रो छ, तिमी आफैं भन
तर मेरो इलाकाको फैलावट बस् यति नै हो ।

ओ शहर !
तिम्रो महलको राष्ट्रपति मेरै चौरको भैंसी गोठालो हो
तिम्रो प्रज्ञा-प्रतिष्ठानको कुलपतिले ऊ तलको पौवा प्रा.वि. मा क, ख सिकेको
तिम्रो देशको मुख्तियार गोर्खाको थिए होलान्
नोर्गे दाजु सोलुका हुन् क्यारे
पासाङ दिदी लुक्लाका हुँदा हुन्
सिंहदरबारको नेताको दाँतमा अझ हरियो सिस्नु अल्झिएको छ
फेसन डिजाइनर ह्यारीले यहीँ बनेको खाडीको भोटो फटाएको
आज आलिसान पलङमा सुत्ने अग्रवालको ढाडमा अझै गुन्द्रीको डाम छ
तिम्रो अस्पतालको डाक्टर झाडापखालाले बित्न लाग्दा
कन्दमुल खुवाएर कसो बाँचेको
तिम्रो महल ठड्याउने कर्मी काकाको चिहान ऊ पारि हो
तिमीले खाने चामलमा माली गाईको मल छ
तिमीले खाने चाउचाउलाई यहाँ गहुँ भन्छौं
तिमीलाई सफाचट राख्ने कुचो, ऊ त्यो हिलाम्मे आलीको डिलमा फुल्छ ।

ओ शहर !
फुटानी नगरुँ भन्दा पनि
यस्तै-यस्तै उत्पादन हुन्छन् पाखेहरुको कारखानामा
तिमी आफैं भन, तिम्रो कारखानामा के-के उत्पादन हुन्छन् ?

ओ शहर !
तिमी हाम्रो शिरको टीका चोर्छौ
अनि मलाई कुरुप भन्छौ
हुन त यहाँ हिउँको सुन्दरताको बयान अचाक्ली हुन्छ
चिसो हिउँ थाप्ने पत्थरको नाम कतै लिइन्न
चित्त नदुखाऊ –
तर तिमी ठ्याक्कै चोरेको टीका लगाउने चिसो हिउँ जस्तै लाग्छ
ठीकै छ,
हामी हाम्रो शिरबन्दी आफैं खिप्छौं र खिप्दै छौं ।

आऊ शहर
त्यहाँ एरोबिक मस्किएर पसिना खेर नफाल
तिमीले त धेरै पढेको छौ रे
तर तिमीलाई थाहा छ ?
यहाँ त एक थोपा पसिनाले एक पोटी लसुन फल्छ ।

ओ शहर !
यहाँ त सपना पनि औधी लजाउँछ मस्त निद्रा बिच्काउन
अब अन्तिम प्रश्न गर्छु
नढाँटी भन त –
तिमीसँग सपना सँगसँगै अरु के-के छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment