Comments Add Comment

मुख्यसचिवबाट राजीनामा नदिई एडीबीको जागिर खान गए सुवेदी

निमित्तको जिम्मा केदारलाई

२७ असार, काठमाडौं । नेपालमा निकै अनौठा खालका राजनीतिक घटना हुने गरेका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै नेपाल सरकारका बहालवाला मुख्यसचिव सोमलाल सुवेदी पदबाट राजीनामै नदिई एसियाली विकास बैंक (एडीबी)को जागिर खान विदेशिने भएका छन् ।

एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जान लागेका मुख्यसचिव सुवेदी राजीनामा नदिई मंगलबार सिंहदरबारबाट विदा भएका छन् । सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी काज मिलाएर एडीबीको उपकार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न फिलिपिन्सको मनिला जान लागेका हुन् ।

सुवेदी साउन १ गतेदेखि एडीबी कार्यालयमा हाजिर हुने तयारीमा छन् । सोही तयारी अनुसार उनी मंगलबार बिदा भएको स्रोतले बतायो ।

निजामती सेवाअनुसार सरकारले अधिकतम तीन वर्षसम्म काज दिन सक्छ । एडीबीको जागिर अनुकुल नभए पुनः पदमा फर्किने दाउअनुसार उनले काज मिलाएको स्रोतले बतायो ।

तर, नेपाल सरकारको मुख्यसचिव पद एउटा जागिरमात्र नभएर सरकारको प्रतिष्ठासँग पनि जोडिएको विषय हो । सो पदबाट राजीनामा नदिई सरकारको मुख्यसचिवले विदेशमा जागिर खान गएको सम्भवतः यो नेपालको इतिहासमै पहिलो घटना हो ।

सुवेदीको अनुपस्थितिमा केदारबहादुर अधिकारीलाई निमित्त मुख्यसचिवको जिम्मा दिइएको छ ।

तामाङ पनि विदा भए, अब को बन्ला मुख्य सचिव ?

सुवेदीसँगै वरिष्ठता क्रमको पहिलो नम्बरमा रहेका सचिव धनबहादुर तामाङ पनि मंगलबारदेखि घर फर्किएका छन् । उनको कार्यकाल बुधबारसम्म थियो । उनी मंगलबारबाट विदा बसेका हुन् ।

वरिष्ठताका आधारमा तामाङ मुख्य सचिवका प्रमुख दाबेदार थिए । डा. सुवेदीलाई विदा गरेलगत्तै तामाङलाई मुख्यसचिवको रुपमा सरकारले आजै नियुक्तिको निर्णय गर्नुपर्नेमा त्यसो हुन नसकेपछि उनले अवकास पाएका छन् ।

तामाङपछि वरिष्ठता क्रमको दोस्रो नम्बरमा सचिवद्वय शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठ तथा तेस्रो नम्बरमा राजेन्द्रकिशोर क्षेत्री छन् । यी तीनमध्ये एकजना निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवमा आसीन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment