Comments Add Comment

बजारमा बिकेका गीतकारः जसले गायक जत्तिकै चर्चा कमाए

स्वीकारोक्तिः मान्छेहरुले नसुन्दिए हुन्थ्यो भन्ने गीत पनि लेखेको छु

अक्सर गीतकारहरुको गुनासो हुन्छ- गायक-गायिका गीत गाएर सबैको सामु चिनिन्छन्, तर त्यही गीत लेख्ने मान्छेको कुनै गन्ती हुँदैन ।

यसका अपवाद हुन् गीतकार एकनारायण भण्डारी । पछिल्लो समय नेपाली सुगम संगीत र त्यसभन्दा पनि लोकगीतको क्षेत्रमा यो नाम निकै चल्तापुर्जा मानिन्छ । उनको नाम सुन्दै नसुनेकाहरुले पनि उनले लेखेको र लय बनाएको गीत सुनेर परिचय गाँसेका छन् ।

उनी त्यो समयबाट गुज्रिँदै आएका स्रष्टा हुन्, जतिबेला रेडियो-टीभीका सांगीतिक कार्यक्रममा कुनै गीत प्रसारण हुँदा फलानो गायक-गायिकाको गीत भनेर सीमित गरिन्थ्यो । गीतकार सधैं उपेक्षाको कुनामा खुम्चिनुपर्थ्यो । त्यो क्रम अहिले पनि सरदर उस्तै छ ।

त्यस्तो चरण पार गरेर आएका एकनारायणको चर्चा गायक-गायिकाहरुकै हाराहारीमा हुने गर्छ, जसले अहिलेसम्म आफ्नो आवाजमा जम्मा एउटा गीत रेकर्ड गराएका छन् । त्यसो त यसरी चर्चा पाउनुमा केही हदसम्म उनले गरेको चलाखीको पनि हात छ । त्यसबारे उनी हामीसँग बिस्तारै खुल्दै जानेछन् ।

उनले जनजिब्रोमा झुण्डिने धेरै गीत नेपाली संगीत क्षेत्रलाई दिइसकेका छन् । चाहे ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’ जस्ता लोक भाका हुन्, चाहे ‘तिर्खा लाग्यो पानी खाएँ’, ‘मलाई बाँसुरीले रुवायो’ जस्ता सुगम संगीत हुन् वा ‘मेरो मनैको फूल टिपी’, ‘कम्मरमाथि पटुकी’ जस्ता फिल्मी गीत । ‘मूल हौ भने रसाइदेऊ’, ‘आउँदै गर मालती’ जस्ता लोक आधुनिक गीतबाट पनि उनले छाप छोडेका छन् ।

०६० को दशकदेखि गीत लेखनमा सक्रिय भएका उनको जाँगर अझै पनि उस्तै छ । पछिल्लो समय उनले लेखेको ‘नाइँ मलाई थाहा छैन’ बोलको गीत पनि खूबै चल्यो ।

श्रोताको मन-मगजमा बस्ने यस्ता स्वादिला भाका तयार पार्दा उनले गीत गुणस्तरीय होस् भनेर उत्तिकै ध्यान पुर्‍याउँदै आएका छन् । तर, आफूले गरेका कामबारे उनी आत्मालोचना गर्दै हाकाहाकी स्विकार्छन्, ‘हो, म बजारमा बिकेँ ।’

बजारको पञ्जाः आफ्नै गीत फेसबुकमा सेयर गर्न डर

एकनारायण आत्मिक सुखका लागि गीत लेख्ने गीतकार हुन् । सुरुवात त्यही उद्देश्य प्राप्तिका लागि गरेका थिए । तर, लेख्दै र संगीतमा भिज्दै आउँदा उनका लागि संगीत भनेको उठ्ने, खाने र सुत्ने सबथोक बनिदियो । ०५९ सालमा स्याङ्जाबाट बीए पढ्न काठमाडौं आएका उनले जीविका चलाउने माध्यम यसैलाई बनाए ।

आफू व्यावसायिक भएर बाटो बिराएको स्विकार्दै गर्दा उनी आजका अधिकांश नेपाली गीतले बाटो बिराएको विश्लेषण गर्छन् । ‘आम सर्जक र कलाकारले पहिले सौखका लागि गीत-संगीत गर्थे र गुणस्तरीय चिज आउँथ्यो’, उनी भन्छन्, ‘अहिले संगीत व्यवसायीकहाँ पुग्यो र कला गुमायो ।’

उनले नेपालमा संगीतको स्वर्ण समय अडियो क्यासेटको जमाना पनि भोगे । क्यासेट हुँदै बीचको समयमा गीत सुन्ने/सुनाउने प्रविधि सीआरबीटीसम्म आउँदा उखान/टुक्का जस्ता गीतहरु बन्ने क्रम बढ्यो । सीआरबीटी धराशायी भएर अहिले गायक-गायिकाको आम्दानीको स्रोत स्टेज भइदिएको छ ।

‘यसले गर्दा मिठासभन्दा पनि माहौल तताउने र श्रोतालाई उचाल्ने डान्सिङ गीत बनाउनेे लहर चलेको छ’, अहिलेको संगीतको ट्रेन्ड केलाए, ‘क्याची बनाउने नाममा कला र साहित्य हाल्दा श्रोताले बुझ्दैनन् भनेर मान्छेहरु स्टेज झ्यामझुम तताउनेतिर केन्दि्रत भए । यसलाई त विकृति नै मान्नुपर्‍यो नि !’

यो माहौलले गीतमा साहित्यका थरीथरी रस मिसाउने एकनारायण जस्ता सिर्जनशील गीतकारलाई पनि नराम्ररी गाँजेको छ । उनी पहिले बजारको माग नहेरी स्वतन्त्र सिर्जनामा रमाउँथे । पछिल्लो समय गुजाराको आधार यही भएपछि गायक-गायिकाले कस्तो गीत माग्छन्, त्यस्तै बनाएर पारिश्रमिक थाप्छन् ।

यो माहौलले स्वतन्त्र सिर्जनामा रमाउने आफूलाई घाटा लागिरहेको उनको भनाइ छ । आफ्नो मन रमाउने गीत फुर्सदमा लेख्ने उनी बजारको ट्रेन्ड र गायक-गायिकाको ‘फर्मायश’ अनुसारका गीत बनाएर टकटकिने हतारमा हुन्छन् ।

बजारको पञ्जाभित्र बस्नुपर्दा उनीभित्र कति धेरै उकुस मुकुस भरिएको रहेछ । उनको स्वीकारोक्ति छ, ‘व्यवसायले मलाई पनि छोएको छ । कतिपय गीतहरु राम्रा श्रोताले नसुन्दिए हुन्थ्यो भन्ने खालका पनि गरेको छु ।’

श्रोतामा आफूप्रति गलत धारणा बढ्ला भन्नेमा उनी सचेत छन् । अगाडि उनी थप्छन्, ‘त्यस्ता गीतहरु फेसबुकमा सेयर गर्न डराउँछु ।’

कुनै समय यस्तो थियो, लेखेका गीतमध्ये छानेर मनले खानेजति मात्र बाहिर ल्याउँथे एकनारायण । उनै गीतकार पछिल्लो समय कति व्यवसायिक भए भन्ने कुरा वर्षमा रेकर्ड हुने उनका गीतको संख्याले नै बताउँछ । पहिले वर्षमा उनका १५/२० वटा गीत आउँथे, अहिले उनले लेखेका वा संगीत गरेका सय वटा गीत रेकर्ड हुन्छन् ।

त्यसो त गीत हिट भएपछि गायक-गायिका स्टेज शोका लागि देश-विदेश जाने भएकाले आर्थिक समस्याले उनीहरुलाई छुँदैन । एउटा गीतकार भने गीत बेचेरै पालिनुपर्दा गीतको संख्या बढाउँदै ‘गणितीय रेश’ मा लाग्न बाध्य हुँदा हुन् । एकनारायणको व्यथा पनि यस्तै छ ।

उनी व्यवसायिक हुनुको आधार पुष्टि गर्दै आफ्नो बचाउ गर्छन्, ‘मैले १५-१६ वर्ष यही क्षेत्रमा बिताएँ । व्यवसायिक आधारहरु सीआरबीटी र पीआरबीटी बन्द भए, युट्युबको भ्युजबाट मात्रै बाँच्ने अवस्था छैन । अहिले चैतको मूलमा म जोगिइरहेँ भने भोलि आफूले चाहेको संगीत पनि गरुँला ।’

बजारको व्यावसायिक लहर कस्तो निर्मम छ भने बिमाकुमारी दुरा जस्ता कलाकारमाथि लगानी गर्न पत्याउँदैन, ज्योति मगरमा जति पनि पैसा खन्याउन तयार हुन्छ । ठेट पाराका शिष्ट गीत गाउँदा बजारमा नचलेकी तिनै ज्योति शृंगारिक रसका डान्सिङ गीतमा अहिलेको रुपमा आएपछि मज्जाले चलिन् । यो तीतो सत्यलाई बुझेका एकनारायण गीत माग्न आउने पैसावाल गायक-गायिकाको आग्रह टार्ने मूर्खता गर्दैनन्, चाहे तीमध्ये कतिपय नयाँ कलाकार गाउनै नजान्ने किन नहोऊन् !

बजार र संगीतकर्मीहरुले खोजेको ‘झिल्के पाराका’ गीतसँगै उनी ‘इज्जत धान्ने’ आफ्ना स्वादका गीतहरु पनि बनाइरहेका हुन्छन् । त्यसबाट आफ्नो गुणस्तर कायम गर्ने उनको प्रयास हुन्छ । अरुहरुको रोजाइमा एकखालको गीत रचना गरे पनि वर्षमा १० वटा गीत गजबको निस्कियोस् भनेर आफू पनि लगानी गरिरहेका हुन्छन् । अहिलेसम्म दोहोरीका १५ सहित २० भन्दा बढी एल्बम निकालिसकेका उनी यतिबेला नयाँ एल्बमको तयारीमा छन् ।

गीत नफुर्दा रोएँ

नचाउने फास्ट बिटका गीतसँगै एकनारायणले हुरुक्कै पार्ने कारुणिक गीत पनि उत्तिकै लेखेका छन् । श्रोतालाई शब्दबाटै रुवाउने सामथ्र्य राख्ने यी गीतकार आफैं एक समय गीतका मामिलामा रुन्चे थिए ।

त्रिचन्द्र क्याम्पस पढ्ने उनी साथीसँग बसुन्धरामा डेरा लिएर बसेका थिए । गाउँमा छँदैदेखि गीत र कविता लेख्ने गर्थे । काठमाडौं आएपछि उनले आफूलाई कडा नियममा बाँधे, दिनको एउटा सिर्जना जसरी पनि गर्ने । त्यसो गर्न सक्नुलाई उनले आफ्नो खुबीको रुपमा अर्थ्याए । कुनै विद्यार्थी हरेक दिन स्कूल जान्छ, पढ्छ र होमवर्क गर्छ भने जस्तै उनले साधनाको अस्त्र साहित्य सिर्जनालाई बनाउने भए ।

‘मसँग दिनको एउटा सिर्जना गर्ने क्षमता हुनुपर्छ, नभए टिकिन्न भन्ने लाग्थ्यो’, ठिटौले उमेरको रमाइलो किस्सा सुनाए, ‘लेख्ने गरिराख्यो भने पछिलाई काम लाग्छ भन्ने भयो ।’

उनी दिनभर कलेज र साहित्यिक कार्यक्रमहुँदी समय खर्चेर साँझपख लेख्न बस्थे । तर, अनेक सोचेर कन्दा पनि चित्तबुझ्दो कुरा फुर्थेन । नफुरेपछि लेख्न सकिन्न कि भनेर मन एकतमासको हुन्थ्यो ।

‘सुरुवाती समयमा लेखेका गीत राम्रो नहुँदा र गीत नफुर्दा रोएको थिएँ’, उनले भने ।

रुम पार्टनर भने उनलाई हुटहुटी दिन्थे, ‘तिमीले लेख्न सक्छौ, फुर्छ पनि । अनि दिनकै लेख्नुपर्छ भन्ने हुन्छ र ?’

गीत सोच्दासोच्दै कहिले त रात छ्याङ्गै पार्थे उनी । यस्तै क्रममा एक रात लेखेको गीत हो-

‘आओ यादहरु हो आओ
म निदाएको छैन, कोल्टे फेर्दैछु’

लेख्न बस्दा केही नफुरेर गाउँघर, साथीसँगीका के-के यादले उनलाई पछ्याइरहे । त्यो उमेरको दोष पनि त्यस्तै, घरबाट टाढा विरानो शहरमा बस्दा भविष्यमा के होला, करिअर कस्तो होला भनेर निराशाका भावहरु एकनाश आइरहन्थे । बिहान ६ बजे कलेज लाग्थ्यो । यादहरुमा डुब्दाडुब्दै ४ बजे उनलाई ती हरफ फुर्‍यो । त्यतिबेला सुत्यो भने त निदाएर ६ बजेको कलेज छुट्ला भनेर उनी गीतमार्फत यादहरुलाई डाक्दै बसेका थिए ।

विदेशिन लाग्दा संगीतले रोक्यो

अनेक संघर्ष गर्दै समय क्रममा लोकप्रिय गीतकार बने पनि कुनै समय एकनारायण संगीत क्षेत्रप्रति एकदमै निराश थिए । संगीतमा लागेर जीवन चल्दैन भन्दै विरक्तिएर उनले विदेश जान पासपोर्ट नै बनाइसकेका थिए ।

त्यतिबेलासम्म उनका ‘ओ ढलेँ’, ‘घुम्तीनेर सोल्टिनी’, ‘छमछम पाउजुले’ जस्ता गीत आइसकेका थिए । ‘सुवास’ र ‘अध्याय’ गरी दुई एल्बम निस्किसकेका थिए । तर, खासै जादु देखाउन नसकेपछि उनले अब गीत लेख्दिनँ, बरु कवितामा मनका भाव पोखेर सन्तोष मान्छु भनेर निच मारे ।

उनको गीत बिक्थ्यो, तर बाँच्न चाहिने पर्याप्त पैसा साथमा हुन्थेन । रचनाकारलाई जति थोरै पैसा दिए पनि हुने र अरु सबैको पारिश्रमिक कम भएको त्यो समयमा उनी त झन् नयाँ गीतकार थिए । मुख फोडेर मलाई यति चाहियो भन्दा गीत गाइदिने अवसरै गुम्ला भन्ने चिन्ता त्यत्तिकै हुन्थ्यो । काठमाडौंको महँगीमा बाँच्न झन्-झन् गाह्रो भयो ।

उनी महिना-दुई महिनामा गाउँ पुग्थे । बुवाले पैसा ठिक्क पारिदिएका हुन्थे, बोकेर र्फकन्थे । गीतहरु हिट भइरहे पनि दुई-चार हजार लिन गाउँ पुग्दा छरछिमेकका दाजुभाइहरुले उनीमाथि प्रश्नचिह्न तेस्र्याउँथे ।

उनी मलिन अनुहार लाएर भन्थे, ‘गीत मात्र चलेर हुन्न रहेछ । एल्बममा आफैंले लगानी गर्‍यो भने मात्रै रोयल्टी खान पाइने रैछ ।’

त्यो सुनेपछि गाउँका दुई जना दाइले उनलाई २५-२५ हजार रुपैयाँ सापट दिने भए । त्यो पैसाबाट उनले ‘छमछम पाउजूले’ भन्ने गीत निकाले । त्यो गीतको कमाइले उनलाई ५-६ महिना पाले पनि अवस्था फेरि पुरानै दोहोरियो ।

यस्तै धरमरमा गीतकार भएर हिँडिरहँदा उनले ०६२ सालमा रारा म्युजिक कम्पनीमा जागिर पाए । कम्पनीमा उनको केही प्रतिशत सेयर पनि थियो । तर, मुख्य सञ्चालकहरु बिस्तारै निस्त्रिmय हुँदै गएपछि दुई वर्षमा उनले कम्पनी छोडे । हातमा थियो, एल्बमको रोयल्टी र अन्य पैसा गरेर ६५ हजार रुपैयाँ । उनी सरासर स्याङ्जास्थित घर गए र पासपोर्ट बनाए ।

सोच थियो, संगीतबाट पार नलाग्ने भो, अब विदेश उड्ने हो । पैसा नकमाउन्जेल अब गाउँ कुनै हालतमा फर्किन्नँ भनेर उनी हिँडेका थिए ।

तर, काठमाडौं आएपछि संगीतको हावाले उनको मन फुरफुर बनाउन छोडेन । उनले ६५ हजारको बिटोलाई नै आफ्नो जिन्दगीको फैसला गर्न जिम्मा लगाए । ‘यो पैसाले कम्पनी खोलेर गीत निकाल्छु, यदि त्यो गीत चलेर उक्सिए उक्सिन्छु नत्र हिँड्छु भन्ने निर्णय गरे’, उनले सम्झिए ।

त्यो पैसाले उनले आफूले पहिल्यै तयार पारिराखेको गीत ‘सुपारी चाम्रो’ रेकर्ड गराए । पाँच दस हजार ऋण खोजेर भिडियो पनि बनाए । भर्खर मोडलिङमा आएका शंकर बिसी र सम्झना बुढाथोकी भएको भिडियो राम्रो चल्यो ।

त्यसबाट हौसिएका एकनारायणलाई गाउँका दाइहरुले ‘आफ्नै कम्पनी चला, क्यासेट बेच्ने र अन्य सहयोग हामी गरिदिन्छौं, विदेश चाहिँ नजा’ भनेर आडभरोसा दिए ।
त्यसपछि उनले आफ्नै कम्पनी ‘सितारा म्युजिक प्रालि’ खोले । पहिले अर्काको म्युजिक कम्पनीमा काम गर्दा व्यावसायिक काम सिकेको अनुभव छँदै थियो । सिताराबाट ‘सुपारी चाम्रो’ भन्ने क्यासेट निकाले । त्यो एल्बम एक लाख प्रति बिक्री भयो ।

त्यो दिनदेखि उनलाई खान-बस्न गाह्रो भएन । पहिलो एल्बमको सफलताबाट हौसिएर अर्को एल्बम ‘लालुपाते नुघ्यो भुइँतिर’ ल्याए । त्यसले पनि उनलाई राम्रै धान्यो ।
बीचमा उनले केही सेन्टिमेन्टल र दोहोरी गीतहरु ल्याए । उनी गीतमा नयाँ-नयाँ प्रयोग गर्न रुचाउँछन् । प्रणयका गीतमा पनि कसरी नयाँपन दिन सकिन्छ भनेर उनी सोचमग्न बन्छन् । गीत लेख्दा सकभर समय र परिवेशलाई पनि छुन्छन् । जस्तैः देशबाट भर्खर राजा हटेर नोटबाट तस्बिर हट्न लागेको बेलामा उनले प्रेमिकालाई मायाको सत्तामा विराजमान गराउँदै शृंगारिक गीत लेखेः

‘तिम्रो फोटो हजारका नोटमा होस्
तिम्रो नाम संसारका ओठमा होस्’

संगीत कर्मको कमाइ जेनतेन गुजाराका लागि ठिक्क भए पनि घरको जेठो छोरो हुनुको नाताले उनलाई गीतका शृंगार र करुण रसमा डुबेर मात्र पुग्थेन । जिम्मेवारीको भारी पनि थियो । उनले माहिला भाइलाई डिग्री पास गराए । बहिनीले ब्याचलर पूरा गरिन् । कान्छो भाइलाई पाँच वर्षसम्म सँगै राखे ।

बीए पढ्नैका लागि काठमाडौं आएका उनले आफ्नो पढाइ भने पार लगाउन सकेनन् । संगीतको भूमरीमा धेरै संगीतकर्मीको साथ र श्रोताको मायामा पग्लिँदै घुमिरहे । संघर्षको समयमा उनलाई साथ र भरथेग दिने संगीतकार सुरेश अधिकारी, गायकहरु बुद्धिसागर बस्याल र राजु परियारलाई उनी विशेष सम्झिन्छन् ।

गायकको जस्तै लोभलाग्दो चर्चा

गीतकार/संगीतकार भएर पनि गायक-गायिका जस्तो सेलिबि्रटी छवि बनाउन सकिँदो रहेछ, यो कुरा एकनारायणबाट सिक्दा हुन्छ । तर, उनको अनुभव अरुको लागि कत्तिको अनुकरणीय हुन सक्दा, त्यो बेग्लै कुरा हो ।

गीतकार भएर गायककै जस्तो परिचय फैलाउन उनले केही चलाखी गर्नुपर्‍यो । त्यो सम्झिँदा मात्र पनि उनी रोमाञ्चित हुन्छन् ।

नेपालीमा एउटा भनाइ नै छ, ‘आफ्नो हात, जगन्नाथ ।’ आफ्नै म्युजिक कम्पनी भएपछि उनले आफूले चाहेको कुरा आफ्नो ढंगबाट सजिलै गर्न सक्ने भए । त्यही हतियारलाई उनले धार लगाए । अर्थात् कम्पनीबाट आफ्नो एल्बम निकाल्दा आफूलाई सकेसम्म ‘हाइलाइट’ पार्न खोजे ।

उनले आफ्नो कम्पनीबाट निस्किएको आफ्नो पहिलो एल्बममै ‘एकनारायण भण्डारीको सुपारी चाम्रो’ भनेर लेखे । एल्बमको कभरमा आफ्नै फोटो ढ्याप्प राखे ।त्यसबेलासम्म श्रोताले चिन्ने हिसाबले गायक-गायिकाको फोटो मात्र कभरमा आउँथ्यो । गीतकार/संगीतकारको नाम र तस्वीर पछाडिपट्टी कुचुक्क सानो राखिन्थ्यो ।
उनले गीतको म्युजिक भिडियोमा पनि गायकलाई लिप्सिङ गराएनन् । यसो गर्नुमा ईखले काम गरेको उनी सुनाउँछन् ।

भएछ के भने, एक जना गायकले गीत गाइसकेपछि भिडियोमा लिप्सिङ दिन आग्रह गर्दा मानेनछन् । अनेक अनुनय-विनय गर्दा पनि तिनी पन्छिरहे । ‘गायकलाई भिडियोमा देखाउँदा एल्बम बिक्छ कि भन्ने सोचले हामीले लिप्सिङ गराउने हो । तर, गायक नमानेपछि त्यो घटनाबाट ईख लागेेर मेरो नामबाट पनि एल्बम बिकाउने बनाउँछु भनेर अघि बढेँ’, उनले भने ।

कम बिके पनि बिकोस् भनेर आफ्नै नाम र फोटो राखेर उनले एल्बम बजारमा ल्याए । त्यसपछिका सबै म्युजिक भिडियोमा गायकको लिप्सिङ राख्नै छोडिदिए । उनको यो नियमबारे अनभिज्ञ रहेका कतिपय गायक भाइ गीतमा लिप्सिङ दिन पाए हाम्लाई स्टेज कार्यक्रमहरुमा निम्ता आउँथ्यो भनेर अझै पनि उनलाई आग्रह गरिरहेका हुन्छन् । उनी टार्छन्, ‘मेरो ट्रेन्ड नै यही हो भाइ । लिप्सिङ राख्दै राख्दिनँ ।’

टीभीहरुमा एल्बमको प्रोमो प्रसारण हुँदा पनि गीतकार/संगीतकारको हिसाबले उनकै नाम छायो, ‘एकनारायणको नयाँ प्रस्तुति लालुपाते नुघ्यो भुइँतिर ।’

रोचक के छ भने, १५-१६ वर्षदेखि संगीतमा निरन्तर लागिरहँदा र लोकदेखि आधुनिकसम्मका गीतहरु ल्याइरहँदा कति जनाले त एकनारायणलाई गायक नै भनेर चिन्छन् । ‘कोही-कोहीले त तपाईंले गीतैपिच्छे स्वर फरक निकाल्नुहुन्छ भन्छन् । खासमा त गीतहरुमा गायक नै फरक-फरक हुन्छ’, हाँसे ।

त्यसो त उनले गीत नगाएका पनि हैनन् । अहिलेसम्मको संगीत यात्रामा जम्मा एउटा गीत गाएका छन् । त्यो गीत पनि नामको भोकले सताएपछि गाएका थिए । गीतहरु लगालग हिट भए पनि बाटोमा हिँड्दा कुनै मान्छेले आफूलाई नचिनेपछि उनलाई ज्वरै आयो, त्यो ज्वरो थियो ईष्र्याको । गीतकार फलानो भनेर आफ्नो नाम भने पनि मान्छेले चिनेनन् । गीतको बोल भनेपछि मात्र बल्ल परिचय खुल्न थाल्ने ।

बारम्बार आफ्नो यस्तो हविगत देख्दा उनलाई झोकै चल्यो । सुरुमा उनले एउटा गीत गाए पनि गीतलाई स्वरले न्याय नगरेको महसुस भएपछि त्यो सार्वजनिक गर्न डराए । श्रोताले गाली गर्लान्, स्थापित हुँदै गरेको कम्पनी र आफ्नो सांगीतिक करिअरमै असर पर्ला भनेर मिक्सिङ भइसकेको गीतमा गायक राजु परियारलाई गाउन लगाए ।
केही समयको अन्तरालमा उनलाई लाग्यो, यत्रो समय संगीतमा लागिसकेपछि जीवनमा एउटा गीत चाहिँ गाउनुपर्छ ।

मरेपछिको सस्वर उपस्थितिको मोह उनीभित्र रहेछ ।

‘यी अन्तर्वार्तामा बोलेका कुरा त भोलि रहलान्, तर यो मान्छेले गीत चाहिँ कस्तो गाउँदो रै’छ त भनेर एउटा चिनोको रुपमा गाएको हुँ’, उनले सुनाए ।

देवी घर्तीसँग उनले ‘आँखा खोल्छु होला’ बोलको गीत गाएका हुन् । आफ्नो स्वरलाई कम आँक्दै उनले थपे, ‘चिनो/उपहार नराम्रो भए पनि केही हुन्न भन्ने लागेर गाएको हुँ ।’

कुनै दिन गीत गाउँला भन्ने रहर नसाँचेका उनीमा एउटा गीत गाएसँगै गाउने कुनै रहर बाँकी छैन ।

एकनारायणलाई मुख्य रुपमा गीतकारको परिचय प्यारो लाग्छ । तर, उनी संगीत पनि भर्छन् । संगीतकार हुनुमा पनि उनलाई ईखले नै प्रेरित गरेको रहेछ ।

आफूले एल्बम निकाल्ने भएपछि उनले संगीत भर्ने मान्छे खोजे । तर, जति जना संगीतकारको एल्बममा उनले गीत लेखेका थिए, ती कोही पनि उनको एल्बममा संगीत भर्न तयार भएनन् । त्यतिबेलाको चलन नै त्यस्तै रै’छ । सबै संगीतकारको प्रतिक्रिया उस्तै थियो, ‘म त अर्काको एल्बममा लय नै बनाउँदिनँ ।’

त्यो ईखले उनलाई आफैं संगीत सिक्नुपर्छ भन्ने चेत खुलायो । उनी स्थापित गीतकार भइसकेको समयमा कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीत पढ्न गए । ‘ओ ढलेँ म ढलेँ’, ‘मलाई बाँसुरीले रुवायो’, ‘छमछम पाउजूले’ लगायत गीतमा उनी आफैंले धुन भरेका हुन् ।

आफ्नो संगीतबाट अरुले पैसा कमाउलान् भन्ने भावनाले त्यसबेला संगीतकारहरुले अरुको एल्बममा धुन नभर्ने समयको कुरा थियो त्यो । यही मर्म बुझेका एकनारायणले अचेल कोही नयाँ गायक-गायिका आएर संगीत माग्यो भने सहजै दिने गर्छन् । ‘आफ्नो कारणले कोही एक स्टेप बढ्छ भने बढोस् न । यसो हेर्दा हल्का काम गरे जस्तो देखिए पनि नयाँ मान्छेलाई प्रेरणा हो त्यो’, उनी भन्छन् ।

यस्तो लाग्छ आजभोलि…

लोकगीतको क्षेत्रमा एकनारायणका केही फरक मत छन् । धेरैजसो लोकगीतहरु संकलन भनेर ल्याइन्छ । उनी भने गाउँघरमा ठेट कुरा पाइन छोडेको र संकलन भनेको हुँदै हुन्न भन्दै यसको विरोध गर्छन् ।

‘पछिल्लो समय गाउँमा सिर्जनशीलता पनि हराउँदै गयो । त्यसरी संकलन गर्न निक्खर लोकगीत भेटिँदैन । बोलीचालीका कुरा, बोल्ने टोन र पुराना थेगो लिएर त्यसमा थपथाप पार्ने मात्र हो’, उनी भन्छन् ।

उनको पछिल्लो समयको चर्चित गीत ‘नाइँ मलाई थाहा छैन’ त्यस्तै थेगो टिपेर लेखेका हुन् ।

साढे एक दशकको संगीत सफरमा आफूले के दिएँ र के पाएँ भनेर बेलाबेला उनी फुर्सदमा समीक्षा पनि गर्छन् । लोकगीतमा आफूले साहित्य र शृंगारिक रस भित्र्याएकोमा उनी जस लिन्छन् । सँगै थकथकी पनि मान्छन्, ‘बिछट्टै योगदान गर्न सकिएन !

‘लोकलयका कुरालाई अलिकता माथि ल्याएर लोकगीतका श्रोतालाई यसमै भुलाइराखेँ र लोक-प्रकृतिका शब्दहरु आधुनिक तथा चलचित्र गीतमा प्रयोग गरेर नेपाली लोक बेसबाट लेखे पनि हिट हुँदो रै’छ है भन्ने अवस्था बनाएँ’, उनी सुस्केरा पोख्दै भन्छन्, ‘तर, बिछट्टै योगदान गर्ने गरी झ्याउरे, टप्पा, सालैजो जस्ता कुरामा काम गर्न सकिएन ।’

लोकगीतमा उनी उदारवादी सोच राख्छन् । समयसँगै परिवर्तनलाई आत्मसात् गर्नुपर्ने खाँचो देख्छन् । हिजो मायालाई चौतारीमा भेटम्, रोधीमा भेटम् भन्ने समयबाट अहिले इन्टरनेटमा भेटम् माया, च्याटमा भेटम् भन्ने समय आएको छ ।

‘समाजको प्रतिविम्ब लोकगीत हो भनेपछि समाजमा जे लाइन्छ, जे खाइन्छ, जस्तो बोलिन्छ, त्यस्तो बनाउनुपर्छ’, उनी भन्छन्, ‘लोकगीतमा अंग्रेजी शब्द ल्याउँदा जोखिम भए पनि यो समयसापेक्ष कुरा हो । यसलाई विकृति मान्नुभएन भन्ने मेरो आग्रह हो ।’

हर समय नयाँ कोणबाट गीत लेख्न ध्यानमग्न रहने एकनारायणको खासै ठूलो सपना छैन । संगीतमा पाएको सफलता कायम राख्दै प्रेमका गीतमा पनि अलि कलात्मक र केही दार्शनिक गीतहरु पनि लेखूँ भन्ने उनको इच्छा छ । जस्तै कि, जिन्दगीको मजा नलिईकन हतारमा बाँचिरहेका यन्त्रमानवहरु देखेर उनले लेखेका थिएः

मान्छे यति हतार देख्छु कहाँ पुग्ने होला हगि
मृत्युभन्दा पर पनि जाने कुनै ठाउँ छ कि ?
रुन साँचिरहेछ मान्छे हाँस्न साँचिरहेछ मान्छे
यस्तो लाग्छ आजभोलि बाँच्न साँचिरहेछ मान्छे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment