Comments Add Comment

ललितपुरबाट थाले रामचन्द्रले देउवामाथि दबाब अभियान

भन्छन्-यस्तो हबिगत रहने हो भने आउने सबै चुनाव हारिन्छ


२८ असार,काठमाडौं । दुवै चरणका स्थानीय चुनावमा पार्टीले नराम्रो पराजय भोग्नु परेको भन्दै नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल पक्षले सबै जिल्लामा कार्यकर्ता तहमा छलफल थालेको छ ।

पार्टी सभापति शेरवहादुर देउवाले चुनावी समिक्षा गर्न नचाहेपछि पौडेल पक्षले आफ्नो समूहको भेला आयोजना गर्न थालेको हो ।

मंगलबार ललितपुरबाट शुरु भएको चुनावी समिक्षा तथा दबाव अभियान सबै जिल्लामा पुर्‍याइने पौडेल निकट स्रोतले जनाएको छ । ललितपुरको भेलामा जिल्लाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहितका अगुवा नेताहरु सहभागी थिए ।

भेलालाई रामचन्द्र पौडेल र प्रकाशमान सिंहले सम्बोधन गरेको स्रोतले जनाएको छ । पौडेलले देउवाको नेतृत्वमा कांग्रेस ओह्रालो लागेको र अबका चुनावहरुमा पनि एमालेले कांग्रेसलाई पछि पार्ने खतरा देखिएकाले बेलैमा नेतृत्वलाई दबाब दिन कार्यकर्तालाई आह्वान गरेका छन् ।

पौडेल निकट एक केन्द्रीय सदस्यले भने, ‘ललितपुरबाट शुरु भएको यो अभियान सबै जिल्लामा पुग्छ । कतिपय जिल्लामा पौडेल आफैं जानेछन् भने अरुसँग काठमाडौंमै भेला हुन्छ । नेतृत्वको स्वेच्छारिता र पार्टीको अधोगति रोक्न हामी मौनता तोडेर बाहिर आउनुपर्ने भयो ।’

पौडेलको यो अभियानको मुख्य उद्देश्य चुनावी समिक्षा, महासमिति बैठक बोलाउने र देउवालाई दबाव दिने उद्देश्यबाट चलाइएको हो । कांग्रेसको बिधान अनुसार प्रत्येक वर्ष बोलाउनुपर्ने महासमिति बैठक देउवाले टार्दै आएको आरोप लागेको छ ।

पौडेल निकट एक जिल्ला सभापतिले भने, ‘देउवाले पटक्कै टेरेनन् । अब तलदेखि नै दबाव दिनका लागि जिल्ला सभापतिहरु, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको भेला लगातार गर्ने कुरा भएको छ । यहि ताल हो भने आउने चुनावमा कांग्रेसले यो भन्दा ठूलो पराजय भोग्नुपर्ने देखिएको छ ।’

पहिलो चरणको चुनावको पराजय लगत्तै समिक्षा गरौं भन्दा पार्टी सभापति देउवाले नचाहेको आरोप पौडेल पक्षको छ । त्यहि कारण दोस्रो चरणमा थप पराजय भोग्नुपरेको भन्दै पौडेल पक्षले कार्यकर्ता तहबाटै नेतृत्वमाथि दबाव दिने अभियान चलाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment