Comments Add Comment

टेलिभिजन वितरक भन्छन्-क्लीन फीड लागे लगानी डुब्छ, चोरी मौलाउँछ

३० असार, काठमाडौं । साउन १ गते अर्थात आइतबारदेखि सरकारले नेपालको टेलिभिजन सेवामा क्लीन फीड नीति लागू गर्ने तयारी गरेको छ । तर, टेलिभिजन वितरकहरुले क्लीन फीड नीति फिर्ता नभए आइतबारदेखि टेलिभिजन सेवा बन्द गने घोषणा गरेका छन् । केबल टेलिभिजनका संघसहित नेपालको एक मात्रै डिस होमले पनि क्लीन फीड नीतिको बिरोध गर्दै तत्काल फिर्ता गर्न माग गरिरहेको छ ।

डिस होमले क्लीन फीड नीति नै गलत भएको भन्दै यसले फेरि नेपालमा भारतीय अवैध डीटीएचलाई प्रोत्साहित गर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदिप आचार्यले अहिले पनि तराईसहित विभिन्न क्षत्रेमा गरेर ५ लाख अवैध डीटीएच नेपालमा प्रयोग भइरहेकालेे क्लीन फीड नीतिले त्यसलाई थप प्रवर्द्धन मात्रै गर्ने बताए ।

चोरीको डीटीएच मौलाए सरकारले ठूलो नोक्सानी बेहोर्नुपर्ने कम्पनीको भनाइ छ । ‘यहाँ क्लीन फीड लागू भएपनि भारतीय च्यानलहरुले नेपालका लागि छुट्टै प्रशारण सामग्री फीड गर्न नसक्ने बताइसकेका छन् । अब यो नीति लाग्दा यहाँ प्रशारण हुने भारतीय च्यानलहरु अवैध हुने भयो’ आचार्यले भने,’अवैध रुपमा टेलिभिजन चलाउन नमिल्ने भएकाले साउन १ गतेदेखि टेलिभिजन सेवा स्वतः बन्द हुने अवस्था छ ।’

उनले भारतीय च्यानलले नेपालका लागि छुट्टै प्रशारण सामग्री नदिने स्पष्ट गरेकाले टेलिभिजन प्रशारकहरु समस्यामा परेको बताए । डिसहोमका अनुसार भारतीय च्यानलले टेक्निकल रुपमा सम्भव हुने भएपनि त्यसरी आउने विशेष फीडवाला सामग्री थप महंगो हुने भएकाले नेपाली उपभोक्ताको सामथ्र्यअनुसार सम्भाब्य नहुने बताएका छन् ।

‘नेपालका लागि छुट्टै फीड गर्दा च्यानल थप महंगो हुन्छ । यसले उपभोक्तालाई नै मार पर्छ’ सिईओ आचार्यले भने,’अब नेपाली विज्ञापन प्रवर्द्धन गर्न विदेशी च्यानलमा डाउनलिंकमा नभएपनि हामी आफैंले नेपालीे विज्ञापन प्रशारण गर्ने अवस्था विज्ञापन संघले बनाउन सक्छ । त्यो अवस्था नबनेसम्म क्लीन फीड लगाउँदा सबै मारमा पर्छन् ।’

यसो गर्न सकेमा नेपाली विज्ञापन बजार थप विस्तार गर्न र अहिले आएको सहज अवस्था पार लगाउन सहज हुने धारणा टेलिभिजन सञ्चालकको छ ।

क्लीन फीड नीति लागु भएसँगै विदेशी च्यानलले नेपालमा विज्ञापनरहित कार्यक्रम मात्रै प्रसारण गर्न पाउँछन् । अर्थात, यो नियम लागू भएपछि नेपालीहरुले भारतीय तथा अन्य देशका टेलिभिजनबाट प्रसारण हुने विभिन्न कार्यक्रममा विज्ञापन हेर्न पर्दैन भनिएको छ । यसबाट स्वदेशी विज्ञापन क्षेत्रलाई सोझो फाइदा पुग्ने विश्लेषण विज्ञापन प्रवर्द्धक र सरकारको छ ।

‘हामीकहाँ क्लीन फीडको इस्युलाई गतल रुपमा ब्याख्या गरियो । पैसा तिरेपछि ग्राहकले विज्ञापन नै हेर्नुपर्दैन भन्ने भ्रम यहाँ छरिएको छ’ आचार्यले भने,’हाम्रो देशको बजार र ग्राउण्ड रियालिटीलाई हेरेर सरकारले नीति लिनुपर्छ । यति धेरै टेलिभिजनहरुले गरेको अर्बौंको लगानी नै जोखिममा पर्ने गरी निर्णय भएको छ । मान्य छैन ।’

टेलिभिजन सञ्चालकहरुलेे ८५ प्रतिशत प्रशारण समाग्री अहिले भारतबाट आइरहेकाले त्यसलाई ध्यानमा राखेर मात्रै निर्णय गर्नुपर्ने बताएका छन् ।

डिस होममा सिईओ आचार्य सरकारले यतिबेला डिजिटलाइजेशनमा जोड गर्नुपर्ने बताए । डिजिटलाइजेशन पूर्ण रुपमा कार्यान्वयन भएपछि मात्रै क्लीन फीडको नीति अघि सार्नुपर्ने राय उनीहरुको छ ।

विदेशी टेलिभिजन च्यानलहरु क्लीन फीडमा प्रशारण गर्ने नेपाल सरकारको तयारीबाट भारतीय टेलिभिजन च्यानलहरु चिन्तामा परेका छन् । भारतीय टेलिभिजनहरुको छाता संगठन इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन् (आइबीएफ) ले विज्ञप्ति नै जारी गरेर क्लीन फीड नीति तत्काल लागु नगर्न नेपाललाई ‘सुझाव’ दिएको छ ।

आइबीएफले आफ्नो प्रेसमा यस्तो नीति लागू हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्ने दावी गरेको छ ।

आइबीएफले यो विभिन्न सोकारबालासँग आवश्यक छलफल नै नगरी ल्याइएको पनि उल्लेख गरेको छ । नेपालमा ‘एभरेज रेभिन्यु पर युजर’ पनि कम भएकाले तत्काल यसलाई कार्यान्वयन गर्न आर्थिक हिसाबले उचित नहुने आईबीएफको भनाइ छ । साथै उसले नेपालमा एन्टीपाइरेसी कानुन पूर्ण रुपमा कार्यान्वयनमा ल्याएपछि मात्रै यो उचित हुने बताएको छ ।

यो नीति कार्यान्वयन गर्नु पुर्व नेपालको ब्रोडकास्टिङ सेवा पूर्णरुपमा डिजिटलाइजेशन गर्नको लागि उसले सुझाव दिएको छ । आईबीएफले नयाँ च्यानललाई समेत क्लीन फीडबिना प्रसारणमा जान दिन अनुरोध गरेको छ ।

सञ्चार मन्त्रालयले आगामी १ साउनबाट क्लीन फीड नीति लागू गर्ने तयारी गरेपछि नेपालका टेलिभिजन प्रशारक पनि यसको विरुद्धमा छन् ।

भू-परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सोको कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दावी उनीहरुको छ ।

नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकालेे क्लीन फीड नीति रद्द गर्न उनीहरुले माग गरिहेका छन् । यो माग राख्दै उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरिसकेका छन् ।

नीति लागू भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रीयोग्य वस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने दावी टेलिभिजन सञ्चालकको छ ।

डिसहोमका सिईओ आचार्य भन्छन्-‘भारतीय प्रशारक फोरमले नेपालको लागि क्लीन फीड उपलब्ध गराउने नसकिने भनिसकेको छ । नेपालका लागि अलग्गै फीड तयार गरी प्रशारण गर्दा पनि नेपाली उपभोक्ताले क्लीन फीडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने पनि देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment