Comments Add Comment

कल्लीः उपन्यास अंश- आइमाई हुनुको अर्थ खुल्यो !

बिहे गरेको ठ्याक्कै नौ वर्ष आठ महिना भएछ…।

घाम डाँडामुन्तिर डुब्नुअघि नै घरका थुप्रै काम सक्ने हतारो थियो कल्लीलाई ।

“ए बा काँ छौ ?” बाहिरबाट कसैले बोलायो । बा निस्किए आँगनमा ।

“लौ डिल्लु तँ ?” बाहिर बाको खुसी मिसिएको स्वर सुनियो ।

कल्लीले भित्रैबाट नियाली । भर्खरै आएको नौजवानले घुँडा टेकेर बाको गोडामा ढोग्दै थियो । ए बाबै… हो त नि यो त्यही छुच्चो केटो, डिल्लु । आब्बुई नि, यिनी त हलक्क बढेर बाभन्दा पनि अग्ला भएछन् ! हेरेको हे¥यै भई कल्ली ।

“लौ के भित्र उभ्भेर ट्वाल्ल परेर हेरिर’की ? बाइर आ’र ढोग्,” बाले कराएर झस्काए । अनि पो झसङ्ग हुँदै बाहिर आएर ढोगिदिई उसले ।

आम्मै नि, कत्रा भएछन् यी त ! उसैले मयल माडिदिएको त्यो पाउ अहिले त दोब्बरभन्दा पनि ठूलो । कति गोरा भएका । ओठमाथि जुँगाको गुजुल्टो । अनि लगाई पनि पूरापूर शहरिया हाकिमकै जस्तो । उसको अगाडि त आफू धूलीमैली । सँगै उभिन पनि नसुहाउने ।

मनैले यसो भनेर होला ऊ रातोपिरो अनुहार लगाएर दौडिँदै आफ्नो कोठामा छिरी । अनि ऐनाअगाडि उभिएर आफूलाई नियाली । हरे ! साँच्चै रहेछ । यो रूपसँगै राख्दा पनि फिटिक्कै नसुहाउने । रूप त तै तै छ नि, तर रूप ढाक्ने लत्ताकपडा पो मैलो । मनले भन्यो र तुरुन्तै काठको जाली दराज खोली र रूप सुहाउँदो कपडा छानेर लगाई । अनि लजाउँदै बाहिर निस्की । आँगनमा उभिएको डिल्लुले घुटुक्क थुक निल्दै उसलाई हेरेको देख्दा कल्लीको शरीरमा लाजको परत चपक्क टाँसिए झैं भयो । के बोलूँ ? के नबोलूँ ? अकमक्क !

“बा काँ जानुभो ?”

“म आ’को खुसीमा मासु लिन भनेर तल्ला घर ग’का छन् । ला यो ब्याग भित्र राखिदे । म पुनि एसो तल्तिर ग’र आउँछु,” फुत्किने सुर गरेर बोल्यो डिल्लु ।

“लौ घरभित्रै नछिरी ?” अचम्म लाग्यो कल्लीलाई ।

“आफ्नै घर हो । जुन बेला छिरे पुनि के भो । तल्ला घर काकालाई मुख देखा’र आइहाल्छु,” आखिर फुत्किएरै छाड्यो डिल्लु ।

वर्षौंपछाडि आएको बूढाको मन हतपत बुझ्न कसरी सकिन्छ र ? यत्रा वर्षसम्म घर बिर्सिएको त्यो मन, आज फर्किएर आउँदा, खै त्यो मनभित्र के के बोकेर आए कुन्नि ? म बीचैमा बोलिदिँदा रिसाउने पो हुन् कि । बरु यी बाउछोरा पल्ला घरबाट फर्किनुअघि पँधेराबाट पानी भरेर फर्किसक्छु भन्ने सोचेर गाग्री बोकेर ऊ पँधेरातिर लागि ।

त्यहाँ पँधेर्नीहरूको हुलजुलम थियो ।

“कल्ली तेरो पोइ फक्र्यो अरे नि हाओ ?” एउटीले प्वाक्क सोधी हाली ।

“भर्खरै आ’का,” लजाएर भनी कल्लीले ।

“अनि भख्खर आ’को लोग्ने छोडेर तँ किन याँ नि ?” आँखीभौँ घुमाएर सोधी अर्कीले ।

“बाउछोरै तल्ला घर काकाकाँ झर्‍या’छन् । म उनलाई न्वाउने पानी लिन आ’की,” कल्लीको सफा मनको सफा उत्तर ।

“भनेपछि थापिहाल्छेस् ता मेरै पालाँ ?” फेरि अर्कीले बोली ।

“थाप हाओ थाप । हतार होला तँलाई । यत्तिका दिनपछि पोइ आ’को,” खित्का छोडेर हाँसे ।

लाजले रातोपीरो भई । पानी भरेर फर्किहाली ऊ । एक छिनपछि त बाउछोरा प्लास्टिकको पोको च्यापेर उक्लिँदै गरेको देखियो । डिल्लुले अचानामा मासु टुक्य्रायो । त्यसपछि बाबुछोरा बात मार्न थाले । कल्ली खाना बनाउन थाली । पाकेपछि पस्किदिएर चुलाको छेवैमा उभिएर खाएको हेर्न थाली ।

“बुझिस् ब्वारी, एल्ले ता दश किलास पढेछ नि हाओ,” खाँदाखाँदै बाले आँखा घुमाउँदै भने । डिल्लुले निकै पढेछु जस्तो गरी । सानले गमक्क परेर कल्लीतिर हेर्‍यो ।

“त्याँ काम गरेरै ता बाँच्न गाह्रो छ बा । झन् पढेर बाँच्न ता कसरी सक्थे र ? धन्न तेति भापुनि पढेँ भन न तिमी ।”

“तर जे भन् तइँले शहराँ बसेर जे जसरी पढिस् । मुइले याँ कल्लीलाई पनि पढाएँ ।”

“हो र कल्लीले पनि पढी ?” डिल्लुलाई अचम्मै लाग्यो यो कुरा ।

“बोरु कति पढी सोध् न ?” अब बाको शान टड्कारो देखियो ।

“कति पढिस् तइँले ?”

“बाह्र कक्षा,” लजाउँदै सुस्तरी जवाफ फर्काई कल्लीले ।

“तेरो जस्तो इस्कुल ग’र होइन । घरधन्दा भ्या’र उति टाढाको क्याम्पस पढ्छे मेरो ब्वारी,” बाले यसो भनिरहँदा डिल्लु त कल्लीलाई हेरेकोहेर्‍यै भयो ।

“भात थपिदिऊँ ?” अप्ठ्यारो लागेर कुरालाई भाततिर बटारी उसले ।

“होइन भो ।”

“मीठो भएन कि क्याओ तँलाई ?” बाले खोतल्न खोजे ।

“होइन मीठो छ ।”

“एसको हात मीठो छ भनेर गाउँका धेरैले भन्छन्,” बाले मख्ख परेर भने ।

उनीहरू खाइसकेर उठेपछि कल्लीले पनि खाएर धन्दा सकी ।

“हाओ रात बितो ता । मलाई पुनि निद्रा लागो । तिमेरु पनि जाओ सुत,” बा कोठा छिरेपछि पो कल्लीको मुटु ढुकढुक भयो । अघिसम्म चलेकै थिएन जसरी ।

वर्षौंअगाडि ।

सानामा सँगै सुत्थे उनीहरू । तर, त्यो बेलामा बचपना थियो । लोग्नेस्वास्नी नै भए पनि त्यसको अर्थ बुझ्ने भएका थिएनन् उमेरले । बरु कुकुर र बिरालाको जस्तो झगडा गरिरहन्थे । तर आज वर्षौंपछाडि यो बुझ्ने उमेर भइसकेपछि पहिलोचोटि सँगै खाटमा सुत्दै थिए उनीहरू ।

डिल्लुको मनमा त्यो बेला कस्तो ढिकिच्याँउ खेल्दै थियो कुन्नि ? तर यता कल्लीको मनमा भने रोटेपिङ मच्चिँदै थियो । त्यसैले धेरैबेर कोठामा पनि नछिरेर बाहिरै उभिइरही ऊ लाजले ।

डराउँदै छिरी कोठामा । डिल्लु गन्जी र कट्टु लगाएर ओछ्यानमा पल्टिएर सानो मोबाइल खेलाइरहेको थियो । कल्ली डल्लो परेर खाटको एकाछेउमा बसी । टुक्रुक्क । लाजको बर्को ओढेर ।

“तेरो सुत्ने बेला भएन ?” लोभी नजर मिसिएको स्वर सुनियो ।

“तिमी सुत न । म एकछिनपछि…,” अत्तालिई डिल्लुको आवाजले कल्ली ।

“यही लुगा ला’र सुत्छेस् ?”

“हैन म…,” हरे शिव कसरी सकेको होला यो लोग्नेमान्छेले यस्तो कुरा गर्न ?

“लौ सुत् सुत्,” डिल्लु चार हात खुट्टा फ्याँकेर सुत्यो ओछ्यानमा । कल्लीले टाउको टेकाउने तकिया पनि ओगटेर । त्यहाँ त अहिले डिल्लुको पाखुरो पो थियो ।

“हात हटाऊ न,” केही सीप नलागेर अनुनय गरी कल्लीले ।

“किन मेरो पाखुराले तँलाई बिझाउँछ ? यीँ राख् न टाउको,” डिल्लुको कुरालाई झर्किएर हुन्न पनि भन्न सकिन ।

त्यसैले टुसुक्क टाउको अड्याइदिई पाखुरामा । अनि त डिल्लुले दाउ पारेर अङ्गालोमा बेरिहाल्यो कल्लीलाई । लाजले नखोलिएको कपडालाई पनि के भयो भयो ? आइमाई हुनुको अर्थ खुल्यो । त्यो डिल्लुको हातबाट खोलिएको कपडा सँगसँगै ।

“कल्ली तइँले ता निक्कै पढिछेस् नि ?”

कतैकतै रिसाएजस्तो अनि कतै ईष्र्या लागे जस्तो । माथि भित्तामा हेरेर बोलिरहेको थियो ऊ ।

“एत्तिका दिन के गरेर बिताउनु भनेर पढ्दै गएँ ।”

“पोइभन्दा बढी पढ्या जोई भन्छन् होला तँलाई अब यो गाउँमा,” व्यङ्ग्यको भाव थियो डिल्लुको बोलीमा ।

“के तिमीलाई यो पढाइले बिझ्या छ ?”

“स्वास्नीले पढ्या कुराँ के बिझ्नु र ? बोरु बुझायो पो मलाई ।”

“के कुरा बुझ्यौ तिमीले ?”

“देखिनस् अघि बाले समेत कसरी खसालेर भने मलाई ।”

“तेसो होइन । मुइले पढ्या कुराँ खुसी छन् बा ।”

“अनि मुइले नपढ्या कुराँ दुःखी ।”

“तिमीलाई ले’र धेरै सपना साँच्या’थे बाले ।”

“त के मुइले उनको सपना फुटाएँ ?”

“सपना काँचको हुन्छ र ? झर्लम्म खसेर फुटिहाल्ने । अनि फुटेर नजोडिने ! यो ता जिन्दगीको सपना हो । आज नभए भोलि पूरा गर्न सकिहाल्छौ नि ।”

“यो गाउँमा पो आज काम गरेर भोलि खाने कुरा हुन्छ । तर शहराँ भोलि आउला र खाउँला भनेर सोच्नै पनि सकिन्न । त्याँ ता सप्पै कुरा आज र अइले हुन्छ । भोलि र भरे भनेर कोई बस्दैनन् । गाउँको झुप्राँ बसेर सपना देख्न सजिलो हुन्छ । शहरको भीडभाडाँ तेई कुरा कल्पना गर्न पनि हम्मे ।”

“तिमी त शहर छिरेर शहर्‍या बनेछौ ।”

“अनि तँ गाउँ बसेर पढैया बनिछेस् ।”

कल्लीको निद्रा अचकल्टाएर डिल्लु सँगै लखतरान सुतिरहेको थियो । कल्लीले अघि सबैको सामुन्ने उज्यालोमा पनि पढ्न नपाएको, उठेर पनि बोल्न नपाएको डिल्लुको निदाएको अनुहार बल्ल पो पढ्न थाली । यो मेरो लोग्ने कस्तो ! वर्षौंपछाडि पनि यसरी भेट्दा दुई वचन सन्चो बिसन्चो सोधेनन् । आफूले पढेको कुरालाई सबैको सामु बखान गर्दा पढाइमा उसले दुई खुड्किलाले उछिनेको कुरा सुन्नासाथ पर्लक्कै पाखा पल्टाएर कुरो बटारे । चुँक्क पढाइको कुरो चुहिन नदिई कुरोमा कुरो टालेर यताको कुरो कता पुर्‍यायो पुर्‍यायो ।

उसले नदेखेको शहर बजारको कुरा गर्‍यो । गाउँमा नआइपुगेको मोटर गाडीको कुरा ग¥यो । अग्ला अग्ला घरका कुरा गर्‍यो । अनि शहरीया केटीहरूले त्यहाँ धेरैधेरै पढेको कुरा गर्‍यो । आफ्ना बाउलाई साथमा राखेर यताको कुरा गर्‍यो । उताको कुरा गर्‍यो । तर, स्वास्नीसँग केही त्यस्तो कुरा गरेन । मात्र लोग्ने बन्यो । शरीरको भोक मेटाउने ।

आज नबोले भोलि बोल्लान् । समय छँदै छ । कति कति कुरा गर्लान् आखिर म स्वास्नी उनैको । उनी लोग्ने मेरै । त्यही कुरामा सन्तोष मानेर पल्टिई कल्ली ।

आज कल्लीको बिहान पनि जिउ जस्तै हलुङ्गो भएर उदायो । सँगै डिल्लु सुखले पल्टिएको थियो ।

ऊ उठेर धन्दामा लागि । सबै उठेर आँगनमा भेला भए ।

“होइन के भन्छ यो केटो ?” बाउ छोरामा के बात भयो कुन्नि ? बाको कठोर सवाल तेर्सियो । कल्लीको कान चङ्ख हुन पुग्यो ।

“हो बा, म पासपोर्ट बनाउन आ’को ।”

“अब तेत्रो बर्ख शहराँ बसेर पुगेन तँलाई ?”

“कुरो बुझ न ।…. ।”

“होइन बा एसो मौका पाए ।”

“भनेपछि विदेशिने सुर छ तेरो ?”

“खोइ ! यो देशाँ पोइसा कमाउन सक्केला जस्तो लागेन मलाई ।”

“होइन डिल्लु अब तइँले पोइली सन्तान कमाउनुपर्छ । मलाई नातिनातिनाको अन्वार देखाउनुपर्छ ।”

“मलाई अहिल्यै दाम्लोमा बाँध्ने कुरा नगर बा । पोइली पैसा कमाउन देऊ । म आज गाविसको सिफारिस लिएर सिडिओ कार्यालय गईकन नागरिकताको निवेदन दर्ता गरेर आउँछु ।”

“खोइ के भनूँ म तँलाई बाबु,” डिल्लुको कुराले गलायो बालाई ।

‘तेसो भा ब्वारीको पुनि बे दर्ता गरेर नागरिकता बनाइदे । अनि जेसुकै गर !’ बाले भने ।

‘किन गर्नुपरो ?’

‘नगरेर हुन्छ ?’

‘गरेर चिँ के गर्छौ ?’

‘जे गरे पुनि बे दर्ता गरेर नागरिकता बनाइदे ।’

‘तेई काम छ ।’

‘नत्र तँलाई पोइसै दिन्नँ । कसरी जाँदो र’छस् हेरुँ ।’

डिल्लु सकसमा पर्‍यो । करैले स्वीकार गर्‍यो– बिहे दर्ता गर्ने र कल्लीको नागरिकता बनाइदिने कुरा ।

“म एई काम ले’र आ’को हुँ बा । नत्र ता….,” लागि पनि हाले डिल्लु र कल्ली माथि सिनामको गाविसतिरको बाटो । बाले आँगनमा उभिएर हेरिरहे डिल्लु र कल्ली गएतिर ।

एक दिन बाले भने–

“लौ यो केटाले ता मेरो लगाम चुँडायो । अब म बूढाले एल्लाई कसरी वशमा राख्न सक्छु र ? ब्वारी अब तेरै जिम्मा भो । तैंले नै वशमा राख्नू,” हरेस खाए जस्ता देखिए बा– छोरोको चालामाला देखेर ।

“तपाईंले नसक्या काम मुइले कसरी सकूँला र बा ?”

“म बूढाको मायाले थाम्दैन अब । मुइले भन्या मान्ने उमेर होइन यो । बोरु तँ स्वास्नी होस् । स्वास्नीका मायाले पगालो भने परिवारकै भलो,” कुरो सकेर गई पनि हाले बा गाई दुहुन ढुङ्ग्रो बोकेर ।

कल्ली घोत्लिई । कस्तो मायाले पगाल्ने होला यिनलाई ? के गर्ने होला म ? चिन्तामा पौडिएर जुक्ति निकाल्न खोज्दै थिई कल्ली ।

“तिम्रो मन यो गाउँमा किन नअड्या ?” साँझपख एक्लै भेट्दा कुरा कोट्याई कल्लीले ।

“होइन हाओ कल्ली के छ र याँ ?” निष्ठुरी वचन झर्‍यो डिल्लुको मुखबाट ।

“म छु । तिम्रा बा छन् । यो घर छ ।”

“तर सँगै गरिबी पुनि ता छ ।”

“अनि त्यो शहराँ ? विदेशाँ ?”

“पोइसो छ त्याँ ।”

“पोइसाले ता चामल दाल किनूँला । सलाई मिठाई किनूँला । तर परिवार र माया….. ।”

“तँ बुझ्दिनस् । हेर् पोइसा भए… ।”

“त्यो पोइसाको के काम र परिवार नै नभएपछि ? आफ्ना आफन्त नै नभएपछि ।”

“भोको पेटले भात खोज्छ । आफन्त होइन,” कस्तो खस्रो कुरा गर्न सक्या– सुन्दा पनि लाटोकोसेरो जस्ती भई कल्ली ।

बेलुका बा घरमा आए ।

“हाओ डिल्लु म ता बूढो भैसकेँ । सक्दिनँ अब । यो घर र तेरो स्वास्नी जिम्मा लिई तँ । बिचरी एस्को पुनि ता लोग्नेसँग बस्ने हाँस्ने उमेर भो नि अब ता । एल्लाई कति दिन अलग राख्नु मुइले तँबड,” बीचमा आएर साथ दिए बाले पनि ।

“केई गरेर देखाउने बेलाँ एसरी बाँध्ने काम नगर तिमी ।”

“तेरी स्वास्नी याँ छे, म छु ।”

“यो कुरो बिर्सेर कामतिर लाग्ने जाँगर छ अइले मभित्र । बे भ’का लोग्नेले तिलहरी झुण्ड्याउँदैनन् घाँटीमा बा । घराँ स्वास्नी छे भन्ने कुरा बिर्स्या छुइनँ मुइँले । तेति मत्तै पुनि होइन । भोलि बच्चाबच्ची पुनि हुन्छन् । मुइले दुःख गर्न खोज्या तिँदेर्कै लागि हो । तिम्रै लागि हो । यो कल्लीकै लागि हो ।”

“अरू ता के भनूँ र म ? यी दश नङ्ग्राको दुःख गरे परिवार पिरलोमा पर्दैनथ्यो कि भन्ने मत्तै हो,” बाले त मनको व्यथा मजैसँग पसारे उसको अगाडि । तर, कल्लीले त त्यो पनि भन्न सकिन ।

डिल्लुले पैसाको माग राख्यो ।

“जिन्दगीमा मुइले कइल्यै तेत्रो पोइसा देख्या छैन बाबु ।”

“तर जसरी पुनि तिमीले एक लाख रूप्पे जुटाइदेऊ बा । उता म्यानपावरको अफिसाँ बुझाउनु छ ।”

“काँबड ल्याऊँ म ? मलाई कल्ले पत्याउँछ र ?”

“एसरी हार खायौ भने ता मेरो सपना सप्पै भताभुङ्ग हुन्छ बा ।”

“तेरा कुराले घर बिग्रिने देखिर’को छु म ता ।”

“तिमीले एसरी भन्दा बोरु मेरो मन दुख्यो । परिवार र बाको सामु नभनेर यो बेथा अब म काँ ग’र ओकलूँ ?”

“खोइ ! कुनै बाटो देख्दिनँ म ता । तेत्रो रुप्याँ ।”

“यो घर सपार्ने हो भने, एसैलाई बन्धकी राख्देऊ ।”

“होइन के भन्या तइँले ?”

“कमा’र म निखन्छु ।”

“मेरा बाउबाजेले जोड्या सम्पत्ति ।”

“एसमा मेरो पुनि भाग लाग्छ । जसरी पुनि यो गाँठो तिमीले फुकाउनैपर्छ बा ।”

“म साहुकाँ ग’र कुरा गर्छु,” केही सीप नलागेपछि बा पनि डिल्लुसँगै बग्न बाध्य भए ।

बिचरा निहुरमुन्टी न लगाएर झुल्के घाममै पुगे शान्तिराम । झलक साहुको आँगनमा । हातमा घरजग्गाको लालपूर्जा बोकेर ।

“किन आइस् ए शान्तिराम एकाबिहानै मेरो दैलोमा ?”

“छोराले गर्दा आएँ यो घरजग्गाको लालपूर्जो बोकेर ।”

“के भो र छोरालाई ?”

“अरू ता के हुनु र ? देश छोड्छु भन्छ पोइसा कमाउन । मलाई यो कागजपत्र बन्धकी राखेर एक लाख जोहो गरिदिनुपरो साहुजी ।”

“देश छोड्ने सप्पैले पैसा कमाउँदैनन् शान्तिराम । विदेशमा पोइसा रुखाँ फल्छ र ? पन्ध्र दिन पुनि भएको छैन त्यो सन्तेको छोरा मरेर बाकसाँ प्याक भ’र देश फर्केको ।”

“मरे माने पो केटोले । के गर्नु झलक साहु ? हिजोआजका केटाहेर्ले बूढापाकालाई के गन्थे र ।”

छोरो नमाने पनि शान्तिरामले साहुलाई भने मनाई छाडे ।

कुरा बाँकी कति कति ! गरेर जति घटाउँदा पनि बाँकी नै बाँकी । तर, कुराजस्तो दिन भएन । दिनमा त्यस्तो बाँकी पनि रहेन । डिल्लुको जाने दिन आइहाल्यो । जीवनका सबैभन्दा सुन्दर दिनहरू अब डिल्लुसँग बिताउने रहर कल्लीको मनमा झाङ्गिन थालेपछि डिल्लु निस्कने बन्दोबस्त मिलाउँदै थियो ।

मन बाँध्न नसकेकी कल्ली भरिएको पूजाको थाली लिएर आँगनमा उभिएकी थिई ।

“अब जाँदै छस् तँ । हामीले भनेको मानिनस् । परदेशाँ पुगेर केई पिर चिन्ता नलिनु । घर बन्धकीको पुनि चिन्ता नलिनु । बोरु बन्धकी परेको यो घराँ बूढो बाउ र स्वास्नीको मन बन्धकी पर्‍या छ भन्ने सम्झिनू । अनि तेल्लाई चाँडो फुकाउने गरी आउनू,” बाले निधारमा टीको टाँसिदिँदै आशिष् दिए ।

(शिखा बुक्सले प्रकाशन गरेको हरिमाया भेटवालको उपन्यास कल्लीअसार ३१ गते शनिबार पाठकमाझ आउँदै छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment