Comments Add Comment

झापा र इलामको माटोमा अम्लियपन बढ्दो, उर्वराशक्ति पनि घट्यो

१ साउन, झापा । झापा गाउँपालिकामा रहेको न्यू देउमाई कृषि सहकारीमा आबद्ध कृषक वर्षेनि उत्पादनमा ह्रास आएपछि उनीहरु निराश थिए । सबैको जग्गामा उत्पादन घटेपछि सहकारीमा त्यस विषयमा छलफल भयो । र, केही कृषकले कृषि विकास कार्यालयमा पनि कुरा राखे ।

त्यसको केही समय पछि माटो परीक्षण प्रयोगशाला सुरुङ्गाले माटो शिविरको आयोजना गर्‍यो । माटो परीक्षणपछि थाहा भयो- जमिनमा अम्लीयपन बढेको रहेछ ।

सहकारीका अध्यक्ष ईश्वर दाहाल भन्छन्, ‘उत्पादनका लागि चाहिने प्राङ्गारिक पदार्थ पनि घटेको रिपोर्टमा देखियो ।’ उनका अनुसार विभिन्न बालीका लागि चाहिने तत्वहरु नाइट्रोजन, फसफोरस, पोटास लगायतको मात्रा पनि घट्दो थियो ।

परीक्षणपछि माटो विगि्रँदै गएकाले कृषिजन्य उत्पादनमा कमी आएको यहाँका कृषकले बुझे । यस वर्ष उनीहरुले कृषि प्राविधिकको सल्लाह अनुसार माटोलाई सुधार्न कृषि चुनको प्रयोग गरेका छन् । साथै, माटो सुधार्न अन्य विभिन्न विधि पनि अपनाएका छन् ।

झापा र इलामको माटोको उर्वराशक्ति घट्दो

झापाको सुरुङ्गामा रहेको माटो परीक्षण प्रयोगशालाद्वारा अनलाइनखबरलाई उपलब्ध रिपोर्टको तुलानात्मक अध्ययनले झापा र इलामको माटोमा पछिल्लो चार वर्षको अवधिमा अम्लीयपन बढ्दै गएको देखाएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा झापाको माटो ३२ प्रतिशत र इलामको माटो १४ प्रतिशत अम्लीय थियो । आर्थिक वर्ष ०७१/७२ मा झापाको माटोमा अम्लीयपना ५ प्रतिशत बढ्यो भने इलाममा ४० प्रतिशत अम्लीयना बढ्यो ।

आर्थिक वर्ष ०७२/७३ मा झापाको माटोको अम्लीयपना ४१ प्रतिशत पुग्यो भने इलामको माटो ६० प्रतिशत अम्लीय भेटियो ।

आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा झापाको माटो ४६ प्रतिशत अम्लीय भेटिएको छ । यसले हरेक वर्ष झापा र इलामको माटोमा अम्लीयपना बढ्दै गएको देखाउँछ ।

यति मात्र होइन, प्रयोगशालाको रिपोर्टले झापा र इलामको माटोमा प्राङ्गारिक पदार्थ पनि घट्दै गएको देखाएको छ । जसले गर्दा माटोको उर्वराशक्ति पनि घट्दै गई उत्पादकत्व पनि कम हुँदै गएको माटो विज्ञहरु बताउँछन् ।

यसकारण माटोमा अम्लिएपन बढ्छ

माटो परीक्षण प्रयोगशाला, सुरुङ्गाका प्रमुख माटो विज्ञ हरिबहादुर भुजेलले अनलाइनखबरलाई दिएको जानकारी अनुसार माटो विगि्रँदै जानुको प्रमुख कारण भनेको अन्दाधुन्ध रासायनिक पदार्थको प्रयोग हो ।

‘घरेलु मलको प्रयोग गर्ने चलनै हराइसक्यो,’ उनी भन्छन्, ‘विषादीको प्रयोग अत्यधिक छ । यसले पनि माटोलाई विगार्न भूमिका खेल्दै आएको छ ।’

उनका अनुसार बाली लगाइसकेपछि मकैंको ढोंड, पराल, छ्वाली जस्ता बस्तुलाई खेतमै जलाउँदा पनि नकारात्मक असर गर्छ । वर्षमा एउटै मात्र बाली लगाउँदा पनि समस्या उत्पन्न भएको उनको भनाइ छ ।

चक्रीय प्रणाली अनुरुप विभिन्नखाले बाली लगाउनु पर्ने उनी बताउँछन् । उनका अुनसार मुख्य सिजनमा धान, गहुँ रोपेपछि कोषे बाली लगाउने गर्नुपर्छ ।

मास, मुग जस्ता बाली लगाउनाले जमिन उर्वर हुन्छ । त्यसैले बाली चक्र प्रणाली लागू गर्दा उत्पादन वृद्धि हुने उनी बताउँछन् ।

माटो अम्लीय हुँदा के हुन्छ ?

माटो विज्ञहरुका अनुसार बाली नै पिच्छे कति अम्लीयपना उपयुक्त हुने भन्ने फरक-फरक हुन्छ । झापाको हकमा कुरा गर्नु पर्दा यो मुलुककै सबैभन्दा बढी धान फल्ने जिल्ला हो ।

यहाँ ९० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गर्छ भने १९ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ । तर, अहिलेकै हिसाबमा माटोमा अम्लीयपना बढ्दै जाने हो भने एक दिन सबैभन्दा धेरै धान फल्ने जिल्ला झापामा धानको उत्पादन ज्यादै न्यून हुने अवस्था पनि आउन सक्ने कृषि विज्ञ बताउँछन् ।

खेती गर्न जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ । र, माटोलाई सुधार्नु पर्ने हुन्छ ।

अन्यथा, त्यो माटोमा अन्य किसिमका उपयुक्त बाली पनि लगाउन सकिन्छ । जस्तैः ४.५ देखि ५.६ सम्म पीएच हुँदा चिया खेती गर्न सकिन्छ ।

कसरी सुधार्ने माटो ?

झापाको धान सुपर जोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाका अनुसार प्राङ्गारिक मलको प्रयोगलाई बढाएर माटोलाई विगि्रनबाट जोगाउन सकिन्छ ।

साथै, कृषकलाई माटो परीक्षणको बारेमा सचेत गराई सुधार्ने उपायहरुको बारेमा पनि अवगत गराउनु पर्छ । कृषि चुनको प्रयोग गरेर पनि माटोलाई सुधार्न सकिने उनले बताए ।

‘कृषकहरुलाई चुन अनुदानमा उपलब्ध गराउनु पर्‍यो,’ उनी भन्छन्, ‘सहुलियत हुँदा सबै कृषकले प्रयोग गर्छन् ।’ उनका अनुसार बाली चक्र प्रणालीको प्रयोगले पनि माटोलाई सुधार्न महत्वपूर्ण भूमिका खेल्छ ।

खेतबारीमा पराल, भुस, छ्वाली आदि नजलाउनुको सट्टा कुहाएर मल बनाउन पनि उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment