Comments Add Comment

डोल्पालीका दुःखः एक कल फोनका लागि २ दिन पैदल

गाउँपालिका भरिमा एउटा मात्र टेलिफोन !

१ साउन, काठमाडौं । पर्यटकीय दृष्टिले महत्वपूर्ण माथिल्लो डोल्पामा टेलिफोन सेवा प्रभावकारी नहुँदा पर्यटक र स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ ।

डोल्पोबुद्ध गाउँपालिकामा रहेका द्यो, कालङ, ताक्सी, पोल्दे, तिन्जे र सिमेन गाउँहरु मध्य द्योमा मात्र टेलिफोन सेवा छ । यो फोन पनि स्थानिय तबरबाट सञ्चालनमा ल्याइएको हो ।

सिमेन गाउँबाट द्यो गाउँमा फोन गर्न आउनका लागि दुई दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । दुई वर्ष अघिसम्म द्योमा हेलो मोबाइलको टावर थियो । तर हेलो मोबाइल केही समयसम्म सञ्चालनमा आएर बिग्रिएपछि सञ्चालनमा नआएको लामो समय भइसकेको छ ।

फोन नहुँदा कोही बिरामी पर्‍यो भने अकालमै ज्यान गुमाउनु पर्ने समेत अवस्था छ । डोल्पाको सदरमुकामदेखि चार दिनको पैदल यात्रा पश्चात द्यो गाउँ पुग्न सकिन्छ । यातायात र सञ्चार दुबै नहुँदा स्थानीयले निकै कष्टकर जीवन विताउनु परेको छ । द्यो गाउँमा हेल्थ पोष्ट पनि छ तर उपचार गर्ने स्वास्थयकर्मीहरु नभएको स्थानीयको भनाइ छ ।

केाही विरामी भएपछि उपचारका लागि हेलिकप्टरबाट उपचारका लागि लैजानुपर्ने अवस्था हुन्छ । त्यो अवस्थमा समेत कहिलेकाहीँ सञ्चार नहुँदा अकालमा ज्यान समेत गुमाउनु पर्ने अवस्थामा रहेको बताउछन् द्यो गाउका अध्यक्ष ग्याल्बो भोटे ।

उनी भन्छन्, ‘सबैले हेलिकप्टमा उपचार गराउन कहाँ सक्छन् र कति स्थानीयले त अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । पानी पर्दा र घाम नलाग्दा द्योमा भएको फोन समेत सञ्चालनमा आउन कठिन हुने गरेको छ ।

फोनका लागि चाहिने सोलारहरुबाट ब्याट्री चार्ज हुन सकेन भने फोन समेत सञ्चालनमा आउन कठीन हुने गरेको बताउँछन् अध्यक्ष ग्याल्बो ।

‘अहिले चलिरहेको टेलिफोन पनि कहीलेकाहीँ बन्द हुने गर्दछ यो अवस्थामा पुरै डोल्पोबुद्ध गाउँपालिका सञ्चारविहीन जस्तै बन्दछ,’ ग्याल्बोले भने, ‘डोल्पोबुद्ध गाउँपालिकामा नियमित टेलिफोन सञ्चालन होस् भनेर सरकारसँग बरोबर माग राखेका छौं, तर खासै सुनुवाइ हुन सकेको छैन ।’

अहिले द्यो गाउँमा फोन गर्न आउनका लागि स्थानीयहरु पोल्देदेखि दुई दिन, तिन्जेदेखि एक दिन हिँडेर आउँछन् । यसैगरी कालाडदेखि ३ घण्टा, ताक्सीदेखि १ घण्टा हिँड्नुपर्ने द्योका अध्यक्ष ग्यालबोले बताए ।

अन्य दिन भन्दा शनिबार फोन गर्नका लागि लाइन नै बस्नु पर्ने अवस्था छ । डोल्पोबुद्ध गाउँपालिकाबाट काठमाडौं तथा अन्य स्थानमा पढ्न आएकाहरुलाई सम्पर्क गर्नकालागि शनिबार लाइन बस्नु पर्ने अवस्था रहेको हो । टेलिफोन कहिलेकाहीँ विग्रियो भने निकै सास्ती बेहोर्नुपर्ने अवस्था छ ।

डोल्पामा पर्यटन ब्यवसाय गर्दै आएका स्थानीय जितेन्द्र झाँक्री भन्छन् कहिलेकाहीँ पर्यटक विरामी हुँदा निकै सास्ती बेहोर्नु परेको छ । एक्पोर डोल्पाका प्रवन्ध निर्देशक झाँक्री भन्छन्, ‘पर्यटन क्षेत्रमा सबैभन्दा आधारभूत आवश्यक्ता नै सूचना तथा जानकारी हो त्यो नै छैन भने अन्य सुविधाको अवस्था कस्तो होला तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment