Comments Add Comment

मध्यरातको बाढीले बगायो खुसी

२ साउन, काठमाडौं । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन् । श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुन्छिन् ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थपेका थिए । उनको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याएका थिए । साँझ खाना खाएपछि भने उनी छट्पटाइरहेका थिए । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उनी भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र–बाहिर गर्दै थिए ।

छिमेकीले ‘सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छ’ भने पनि उनले मानेनन् ।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उनले श्रीमतीलाई ‘कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्यो’ भने । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भनिन् । तर, उनले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गरे ।

उनले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भभने । उनले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराए । ‘हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्किएनन् । हामी आत्तियौं’, कृष्णाले गहभरि आँसु पार्दै भनिन्, ‘छिमेकीहरू त्यसतर्फ जानुभयो तर बाँसघारी नै बगाइसकेको रहेछ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाउनुभयो तर उहाँ र छोरीलाई बाढीले बगायो ।’

एक छोरा र चार छोरीसहितको तामाङ परिवार गाउँमा जग्गाजमिन नभएपछि फर्पुबाट १८ वर्षअघि खिम्ती बजारमा झरेको थियो । टाउको र पेटको बिरामी कृष्णालाई अर्को साता उपचारका लागि राजधानी लैजाने तयारी थियो । ‘घर बनाएको पैसा अर्को साता आउँछ, त्यसपछि काठमाडौंमा उपचारका लागि लैजाउँला, अहिलेलाई जसोतसो बसौं,’ श्रीमान भनेको सम्झना गर्दै कृष्णाले भनिन्, ‘अब मलाई कसले उपचार गराउला ? बरु छोरीको साटो म आफैं जानुपर्ने रहेछ । म त बिरामी छु, थलिएर मरौंला तर यो बालबच्चाको पालपोषण कसले गर्छ भन्ने चिन्ताले धेरै सताएको छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment