Comments Add Comment

न्यायाधीश उपचारका लागि अमेरिका जाने भएपछि भरतपुर प्रकरण अझै लम्बियो

२ साउन,काठमाडौं । पटक-पटक पेशी तोकिएर स्थगित भएको भरतपुर प्रकरणमा सोमवार सुनुवाई सुरु भए पनि न्यायाधीश विदेश जानुपर्ने कारणले जारी सुनुवाई पुनः एक साता पर सरेको छ ।

 

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमवार सुनुवाई सुरु भएको हो ।

सोमबार रिट निवेदकका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्न भ्याए ।

उनले भरतपुर महानगरपालिकाको मतगणनास्थल अनाधिकृत कब्जा नभएको र ऐन पढेर मतपत्र च्यात्ने अपराध गरिएको जिकिर गरेका थिए ।

उनले प्रहरीको प्रतिवेदनमा पनि कब्जा भएको नभनिएको र निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पनि तत्काल दिएको बयानमा कब्जा नभनेको हुनाले अदालतले भविष्यमा यस्ता घटना हुन नदिन पनि ब्याख्या गरिदिनुपर्ने जिकिर गरे ।

सोमबार बहस नसकिएकाले अब अर्को सुनुवाई साउन ८ गते हुने भएको छ ।

न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता पर धकेलिएको हो ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वाेच्चमा रिट परेको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् ।

एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् । २० नम्बर वडाको मतगणना बाँकी रहदा १९ नम्बरको आधा भन्दा बढि गणना भइसकेपछि मतपत्र च्यातिएको थियो ।

पछिल्लो गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment