Comments Add Comment

‘खोलाको जग्गालाई आयल निगमले १५ करोड तिर्‍यो’

आपूर्ति सचिवले भने-निगमले हामीलार्इ टेरेन

फाइल तस्वीर

३ साउन, काठमाडौं । पटक-पटक बोनसको विवादमा तानिने नेपाल आयल निगम यो पटक जग्गा खरिद विवादमा मुछिएको छ ।

अायल निगमले पछिल्लो पटक पेट्रोलियम भण्डरणका लागि १ अर्ब ६१ करोड खर्चिएर  विभिन्न स्थानमा जग्गा किनेको छ । तर,  अायल निगमले बिचाैलियासँग सेटिङ गरेर प्रचलित मूल्यभन्दा बढीमा जग्गा किनेको अाराेप लागेको छ । अर्थ समितिको बिहीबारको बैठकमा सांसदहरूले यसबारे गम्भिर चासो र चिन्ता प्रकट गरे ।

‘आयल निगमले भैरहवामा कठ्ठाको ९० हजारको जग्गालाई १३ लाख तिरेछ । त्यो जग्गा पनि खोलामै परेको छ । अब त्यो एक कठ्ठा जग्गा काम लाग्ने बनाउन फेरि कठ्ठामै १३ लाख नै खर्चिनुपर्छ’ अर्थ समितिको बैठकमा रुपन्देहीका सभासद अब्दुल रजाकले आश्चर्य  र आक्रोश एकैसाथ पोखे । उनले अहिले पनि अायल निगमले १५ करोडमा किनेको जग्गा खाेलामै डुबिरहेको बताए ।

उनले सार्वजनिक प्रयोजनका लागि जग्गा किन्दा आयल निगमले बिचौलियासँग सेटिङ गरेको आरोप लगाउँदै यसले सरकारी नियमको खिल्ली उडाएको बताए ।

उनले समग्रमा साढे २ करोडको जग्गालाई १५ करोड तिर्नुले निगमको बद्नियत प्रष्ट भएको बताए । उनले जग्गा खरिद प्रकरणमा निगम ‘नाङ्गो’ भएको कडा टिप्पणी गरे ।

संसदीय समितिमा आयल निगमको जग्गा खरिदमा असन्तुष्टी पोख्ने रजाक मात्रै थिएनन् । अन्य संसदले पनि आयल निगमले जग्गा खरिदमा १ अर्बको घोटाला गरेको दावी गर्दै निगमबाट जग्गा बेच्ने कुनै पनि किसानले निगमले किनिएको भनिएको मूल्य नपाएको दावी गरे ।

सांसदहरुले किसानको बैंक खातामा निगमले किनिएको भनिएको जग्गा बराबरको रकम हालेको/नहालेको र जग्गा खरिद गर्दा कानुन मिचिएको/नमिचिएकोबारे अनुसन्धान गर्न माग गरे । उनीहरुले खोलामै परेको जग्गा समेत पेट्रोलियम भण्डारणका लागि भन्दै किनिएको भन्दै कम मूलकया जग्गालाई सेटिङमै आथिर्क लाभ लिन गरी खरिद गएको दावी गरे ।

कहाँ कसरी किनियो जग्गा ?

निगमले  चितवनमा २४ विगाह जग्गा २२ करोडमा, भैरहवामा २० विगहा जग्गा १५ करोडमा, सर्लाहीमा २० विगाह जग्गा ८ करोडमा र झापामा २४ विगाह जग्गा २२ करोडमा किनेको छ । अन्य स्थानमा समेत गरेर आयल निगमले अहिलेसम्म १ अर्ब ६१ करोड रुपैयाँको जग्गा किनेको छ ।

निगमले यसरी जग्गा किन्दा दलालहरुले किसानहरुलाई बढी मूल्य दिने प्रलोभन देखाएर लालपूर्जा जम्मा गरेका थिए । आयल निगमका अधिकारीहरुले दलालसँग अतिरिक्त लाभ लिने गरी पहिल्यै नै जग्गाको टेण्डर स्वीकृत गर्ने गरी सेटिङ गरेको आरोप लागेको छ ।

कम मूल्यका जग्गा पनि उच्च मूल्यमा टेण्डर गरिएको र प्रक्रिया पुर्‍याए जस्तो गरी किसानलाई कम मूल्य नै दिएर जग्गा किनिएको आरोप लागेको छ ।

छानविन हुने 

आयल निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा किन्दा घोटाला गरेको निश्कर्ष निकाल्दै समितिले छानविन गर्ने भएको छ।  अर्थ समिति बैठकले आयल निगमले जग्गा खरिदमा सेटिङ गर्दै भएको घोटाला छानविन गर्न एक संसदीय उपसमिति बनाएको छ ।

सांसद अब्दुल रजाक, इच्छाराज तामाङ लगायत सदस्य रहेको उपसमितिले आयल निगमले गरेको घोटालाबारे छानविन गर्ने भएको छ ।

बैठकमा डाँकिएका आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सबै प्रक्रिया पुर्‍याएर जग्गा खरिद गरिएको बताए । उनले विभिन्न स्थानमा जग्गा खरिदको काम चलिरहेको उल्लखे गर्दै आफूहरुले बद्नियत राखेर काम नगरेको स्पष्ट गरे ।

उनले कतिपय क्षेत्रमा कम मूल्यमा परेका टेण्डरका जग्गा पनि प्राविधि रुपमा उपयुक्त नदेखिएकाले नकिनिएको स्पष्टीकरण दिए ।

सचिवले भने-निगमले टेरेन

तर, बैठकमै उपस्थित आपूर्ति मन्त्रालयका सचिव तथा आयल निगमका बोर्ड अध्यक्ष प्रेमकुमार राईले निगमलाई प्रक्रिया पुर्‍याएर कम मूल्य परेका टेण्डर स्वीकृत गर्न भनिएको बताए । तर, बोर्डको निर्देशन नमान्दै निगमले मनलाग्दी तवरले जग्गा किनेको आपूर्ति सचिवले स्वीकार गरे ।

आयल निगमका प्रवनध निर्देशक खड्काले भने जग्गा खरिदबारे गोटमटोल जवाफ दिएर पन्छिए । उनले ६ अर्बको जग्गा किन्न स्वीकृति पाएको तथ्य प्रस्तुत गर्दै अन्य स्थानमा पनि जग्गा किन्न लागिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment