Comments Add Comment

‘प्रेमगीत २’मा ८ लाख पारिश्रमिक लिएका प्रदिप भन्छन्-‘१५ लाखसम्मको अफर आयो’


नायक प्रदिप खड्काको क्रेज अहिले चुलिएको छ । विशेषगरि, चलचित्र ‘प्रेमगीत’मा काम गरेपछि एकाएक चर्चामा रहेको उनको क्रेज ‘प्रेमगीत २’ रिलिजको संघारमा आइपुग्दा अझ उकालो लागेको छ ।

देशभर गरिएको कन्सर्टमा उनलाई हेर्न आउने यूवायूवतीको भीडले पनि त्यो कुरा पुष्टी गर्छ । चलचित्र ‘प्रेमगीत’मा काम गर्दा उनलाई निर्माता सन्तोष सेनले २ लाख पारिश्रमिक दिएका थिए । तर, ‘प्रेमगीत २’मा काम गर्दा प्रदिपले पारिश्रमिक ८ लाख पुर्‍याए । निर्माता सेनका अनुसार प्रदिपलाई उनले ‘प्रेमगीत २’मा काम गर्दा ८ लाख पारिश्रमिक दिएका रहेछन् । यही चलचित्रका लागि प्रदिपले करिब २ बर्ष खर्चिए । यसका लागि शरीर बनाए, मिहिनेत गरे । यहीकारणले पनि सन्तोषले ८ लाख दिन राजी भए ।

प्रदिप अब ‘प्रेमगीत २’को नजिताको पर्खाइमा छन् । उनले भने-‘म चलचित्रको रिलिजको पर्खाइमा छु । यसपछि, पारिश्रमिक कती लिने भन्ने निर्धारण हुनेछ ।’

तर, यो चलचित्र रिलिज अगाडि नै उनलाई १५ लाखको अफर आइसकेको छ । प्रदिपले अनलाइनखबरसँग भने-‘अहिले नै २ वटा ब्यानरबाट १५ लाखको अफर आएको छ । एउटाको कथा निकै मन परेको छ । मैले, १५ लाख पारिश्रमिक र थाइल्याण्ड र बर्माको राइट्स मागेको छु ।’
प्रदिप भन्छन्-‘सबैभन्दा पहिला त मलाई कथा नै चित्त वुझ्नपर्छ । यसपछि मात्र पारिश्रमिकको कुरा हुन्छ ।’ ‘प्रेमगीत २’ले राम्रो व्यापार गरेको खण्डमा पारिश्रमिक १५ लाख भन्दा बढी लिने सोचमा प्रदिप देखिएका छन् ।

तपाइलाई १५ लाख पारिश्रमिक दिदा निर्मातालाई के फाइदा हुन्छ, अनलाइनखबरको प्रश्नमा उनले भने-‘अहिले चलचित्र ओभरसिज राइट्स नै ८० लाखमा विक्री हुन्छ । चलचित्रले पनि इनिसियल व्यापार राम्रो गरिरहेको छ । मैले एउटा चलचित्रको कथादेखि रिलिजसम्म पुरा समय दिन्छु । यसैले, यो पारिश्रमिक धेरै हो जस्तो मलाई लाग्दैनँ ।’

सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत २’मा प्रदिपले नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरेका छन् । चलचित्रको छायांकन नेपाल, थाइल्याण्ड र बर्मामा गरिएको छ । चलचित्रले उत्कृष्ट व्यापार गर्ने आँकलन चलचित्र वृत्तमा गरिएको छ ।

प्रदिप र अश्लेषासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment