Comments Add Comment

‘आरएसएस’ जस्तै धार्मिक संगठन बनाउने राप्रपाको निर्णय

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग


६ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भाजपाको ‘आरएसएस’ जस्तै धार्मिक संगठन बनाउने भएको छ । शुक्रबार सकिएको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले ‘नेपाल धर्म तथा संस्कृति परिषद्’ गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले भने, ‘हिन्दु, बौद्ध र किराँत सनातन धर्म संरचनाका लागि परिषद् गठन गर्ने निर्णय भएको छ ।’

राप्रपाका एक नेताका अनुसार यो भारतीय जनता पार्टीको ‘आरएसएस’ जस्तै अवधारणा हो । तर, परिषद्को संरचनाबारे कुनै ठोस निर्णय भइसकेको छैन । महिला र युवामा केन्द्रीय रहने परिषदको संरचना ७४४ स्थानीय तहसम्मै हुनेछ ।

राप्रपाले सरकारमा पार्टीको सहभागिता र संविधान संशोधनबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर, तीन दिनसम्म चलेको बैठकले यसबारे निर्णय लिन सकेन र कार्यसम्पादन समितिलाई जिम्मा लगाएको छ ।

तर, राप्रपाले मुलुकमा विखण्डनकारी शक्ति सक्रिय भएको भन्दै चिन्ता व्यक्त गरेको छ । बैठकले विखण्डनकारी शक्तिलाई निस्तेज तुल्याउन र राष्ट्रिय अखण्डता बलियो बनाउन दलहरुलाई आहृवान गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।

राप्रपाले राष्ट्रियताको संरक्षण र सम्वर्धनलाई पार्टीको मूख्य कार्यभार बनाउने निर्णय गरेको छ । हिन्दु राष्ट्र स्थापना, भ्रष्टाचारविरुद्ध अभियान र राष्ट्रिय विकासलाई मूख्य एजेण्डा बनाउने निर्णय भएको थापाले बताएका छन् ।

साथै नेपालको नोटमा पृथु नारायण शाहको तस्वीर अंकित गर्न र ६० वर्षदेखि बृद्धभक्ता दिन पनि माग गरेको छ । हाल दलित समुदायमा ६० वर्ष पुगेका र अन्य समुदायका ७० वर्ष उमेर पुगेकाहरुले मात्र बृद्ध भत्ता पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment