Comments Add Comment

मध्यरातमा सडकमा निस्केका हाकिमलाई भारतीय ठेकेदारको प्रश्न- खानेपानीको पाइपमाथि ढल किन ?

७ असार, काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव र खानेपानी मन्त्रालयका सचिवले नेतृत्व गरेको टोली शुक्रबार आधारातमा काठमाडौंका सडकहरुको अनुगमनमा निस्कियो । सरकारी हाकिमले छड्के जाँच गरेको भनिए पनि पूर्वजानकारी पाएजस्तै गरी ठेकेदार र कामदार रातारात काममा खटिइरहेका भेटिए ।

अनुगमनकै क्रममा सडकमा भेटिएका एकजना भारतीय ठेकेदारले चाहिँ नेपाल सरकारका सचिवहरुलाई उल्टै एउटा गम्भीर प्रश्न तेर्स्याए, जुन प्रश्न काठमाडौंबासीको स्वास्थ्यसँग सम्बन्धित छ ।

मेलम्ची खानेपानीको पाइपभन्दा माथिपट्टि ढल राखिएको गुनासो गर्दै ती भारतीय ठेकेदारले भने- ‘मैले संसारमा काँही पनि यस्तो देखेको छैन, ढल फुट्यो भने खानेपानीमा पस्न सक्छ । संसारमा काहीँ पनि काठमाडौंमा जसरी खानेपानीको पाइपभन्दा माथि ढल राखेको मैले देखेको छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सडकका खाल्डाखाल्डी तत्काल पुर्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे र खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय नेतृत्वको टोली शुक्रबार राति राजधानीका सडकको अनुगमनमा निस्केको थियो ।

राति ९ बजे बत्तीसपुतलीस्थित द्वारिकाज होटल अगाडि सचिवहरुका गाडी पुग्दा मेलम्ची आयोजना कार्यान्यन इकाइका निर्देशक तिरेश खत्री पनि त्यहीँ भेटिए । खत्री ठेकेदारहरुलाई काम लगाउने निकायका हाकिम हुन् ।

सचिवहरु अनुगमनमा आउँदैछन् भन्ने पूर्वजानकारी पाएजस्तै गरी ठेकेदारहरु पहिल्यै सडकमा सजग अवस्थामा भेटिए । गौशाला हुँदै चाबहिल चोकसम्म पुग्दा भारतीय ठेकेदार सुनिल दयाल पनि सडकमै तैनाथ थिए । कामदाहरु काम गरिरहेको अवस्थामा भेटिए भने स्काभेटरले माटो उठाए जस्तो गरिरहेको थियो ।

सचिवका अघिपछि गाडीहरुको लर्को थियो । गौशालाबाट चाबहिलसम्मको सडक हिलोले गर्दा हिँडिनसक्नु देखिन्थ्यो ।

चाबहिलदेखि चुच्चेपाटीतर्फको बाटोमा प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भारतीय ठेकेदार दयाललाई सोधे- काम कहिले सक्छौ त ?

ठेकेदार दयालले मौसमले साथ दियो भने चुच्चेपाटीतिरको सडक ५ दिनमा कालोपत्रे गरिसक्ने बताए । त्यस्तै धोबीघाटतिरको सडक १० गतेभित्र बनाइसक्ने ठेकेदारले जवाफ दिए ।

चाबहिलमा ठेकेदारसँग सामान्य सोधपुछ गरेपछि सरकारी हाकिमहरुको टोली महांकालतर्फ लाग्यो, जहाँ हाइटेन्सन छेउमा मजदुरहरु पाइप बिछ्याउने काम गरिरहेका थिए । सडक अस्तव्यस्त थियो । त्यहाँ चाहिँ अनुगमन टोलीलाई देखाउन नभई साँच्चै नै काम भइरहेको जस्तो देखिन्थ्यो ।

त्यहाँ पनि भारतीय ठेकेदार दयाल नै उपस्थित थिए । उनले एकातर्फ हाइटेन्सन रहेको र अर्कोतर्फ व्यक्तिका घरहरु भएकाले पाइप बिच्छ्याउने काम कठिन भएको बताए । मेलम्चीको पाइप राख्नका लागि ४ मिटर खन्नुपर्ने भएकाले घरहरु भत्कने चिन्ताले काममा अप्ठ्यारो हुने गरेको उनले सुनाए ।

यही क्रममा भारतीय ठेकेदारले खानेपानी मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिवको ध्यानाकर्षण गराउँदै मेलम्चीको पाइपभन्दा माथि ढलको पाइप राखिएकोमा आफ्नो असहमति जनाए ।

‘मैले संसारका धेरै देशहरुमा सडक र पाइपको काम गरेको छ, यस्तो त संसारमा काँही पनि देखेको छैन सर,’ ठेकेदारले भने- पछि ढल वा खानेपानीको पाइप फ्ट्यो भने असर गर्न सक्छ ।’

महांकालको महाबिजोग हेरिसकेपछि सचिवहरुको टोली महाराजगञ्जतर्फ लाग्यो । महाराजगञ्ज एउटा कार खसेको खाल्डो भएको ठाउँसम्म पुग्दा त्यहाँ पनि कामदार र ठेकेदारहरु सडकमै तैनाथ भेटिए । त्यहाँको खाल्डो पुरिइसकेको रहेछ ।

सचिव घिमिरेले यस्तो खाल्डो भएको ठाउँ वा डिभाइडर हरुमा परैबाट टल्कने खालको संकेत राख्नुपर्ने सुझाव दिए ।

 

‘खाल्डो परेको ठाउँलाई घेरेर राख्नुर्थ्यो’ सचिवको भनाइ भुइँमा र्झन नपाउँदै नेपथ्यबाट जवाफ आयो- घेर्न त घेरेको थियो सर ।

महारागञ्जको खाल्डो हेरेपछि सचिवहरुको टोलीले जमलको सडक निरीक्षण गर्‍यो ।

सडक अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडो काम सक्न निर्देशन दिएपछि आफूहरुले काम कसरी भइरहेको भनेर स्थलगत अवलोकन गरेको बताए ।

त्यसैगरी खानेपानीका सचव भीम उपाध्यायले अब यसैगरी निरन्तर अनुगमन गरिने र काम चाँडो सक्न दबाव दिइने प्रतिक्रिया दिए ।

तर, सचिवहरुले ढलको पाइप भन्दा मुनि खानेपानीको पाइप बिछ्याएको विषयमा भने कुनै प्रतिक्रिया जनाएनन् ।

अनुगमनका थप तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment