Comments Add Comment

नेपालको पहिचान, जनकपुर धाम ! (फोटो फिचर)

पर्यटन बोर्डका प्रमुख भन्छन्- अब जनकपुरको विकासमा ध्यान दिन्छौं

जनकपुर । जनकपुर उपमहानगरपालिकामा रहेको चर्चित जानकी मन्दिर धार्मिक हिसाबले नेपाल र भारत दुबै देशका हिन्दूधर्मावलम्बीको सम्बन्ध-सेतु हो ।

जनकपुर सीताको जन्मस्थल हो, जहाँ भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसर पारेर जन्तीका रुपमा तीर्थयात्रीहरु आउने गर्छन् । ऐतिहासिकरुपले महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ जानकी मन्दिर । यो मन्दिरमा पुग्ने जोकोहीलाई यहाँकोे कलात्मक बनावटले मन्त्रमुग्ध बनाउँछ ।

मुगल शैलीमा बनेको यस प्रख्यात मन्दिरलाई कलाको उत्कृष्ट नमूनाका रुपले हेर्ने गरिन्छ । प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभर रहेका हिन्दुहरुको आस्थाको केन्द्रका रुपले प्रख्यात छ ।

मन्दिर निमार्णका लागि भारतको मध्यप्रदेश टिकमगढकी राजकुमारी बृषभानु कुमारीले ९ लाख चाँदीका असर्फी खर्च गरेर निर्माण भएकाले यस मन्दिरलाई नौलाख मन्दिर पनि भन्ने गरिन्छ ।

मन्दिर निर्माण प्रक्रिया सन् १८९४ मा सुरु भई १९११ मा सकिएको थियो । जानकी मन्दिर मिथिलाअञ्चलको सांस्कृतिक धरोहरका रुपले प्रख्यात छ । नेपालमा भएका मन्दिरहरुमध्ये जानकी मन्दिर क्षेत्रफलका आधारमा पनि सबैभन्दा ठूलो मानिन्छ । मन्दिर निर्माण भएको ११५ वर्षजति भएपनि मन्दिरमा रहेका मूर्तिहरु ७ सय वर्ष पुराना छन् ।

जानकी मन्दिरमा चैतको रामनवमी, बैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोजमा पूणिर्मा कोजाग्रत र साउन-भदौमा झुला मेला लाग्ने गर्छ ।

जानकी मन्दिर पुग्नका लागि काठमाण्डौंदेखि सार्वजनिक बसमा ७/८ घण्टा लाग्छ । रामजानकी मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरु छन् ।

यहाँको मन्दिर र पोखरीहरुको उचित संरक्षण तथा सरसफाइ हुन सकेको छैन । ऐतिहासिक धरोहर भइकन पनि रामजानकी क्षेत्रको उचित संरक्षण हुन सकिरहेको छैन । मन्दिर र छेउछाउका पोखरीहरुमा पर्याप्त सफाइ नभएको गुनासो आइरहेको छ ।

जनकपुरको विकासमा अब ध्यान दिन्छौं

दीपकराज जोशी, प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

जनकपुर धेरै सम्भावना भएको क्षेत्र हो । धार्मिक तथा ऐतिहासिकरुपले जति महत्व बोकेको छ, त्यो अनुसार आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन हुन सकेको छैन । यसको प्रमुख कारण जानकी मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वको प्रचार-प्रसार हुन नसक्नु हो ।

जानकी मन्दिरको सौन्दर्यको जति ब्याख्या गरे पनि पुग्दैन । जानकी मन्दिरमा देशकै गौरव गर्ने धार्मिक आस्थाको धरोहर हो । यो मन्दिरमा अयोध्याबाट जन्ती आउने चलन छ । यसलाई प्रचार-प्रसार गरेर देशकै गौरब बनाउन सकिन्छ । विगतका दिनमा यसको धेरै प्रचार-प्रसार हुन सकेको छैन । अब यसतर्फ हामीले ध्यान दिने सोच बनाएका छौं ।

मन्दिर परिसरमा सरसफाइ तथा मिथिला संस्कृतिबारे जानकारी दिने व्यवस्था गराउने विषयमा पनि स्थानीयसँग मिलेर काम गर्ने सोच बनाएका छौं । रामजानकी मन्दिरका साथै शहरका अन्य भागमा रहेका विभिन्न तालतलैया, तथा यहाँको रहनसहनलाई समेत अगाडि बढाउन सकियो भने जनकपुर पर्यटकीय गन्तव्य बन्न सक्छ ।

यद्यपि हामीले स्वदेश तथा विदेशका कार्यक्रमहरुमा यसको प्रवर्द्धन गरिरहेकै छौं । आउँदो आर्थिक वर्ष हामीले स्थानीय समुदायसँग सम्पर्क बढाएर केही नयाँ कार्य गर्ने सोच बनाएका छौं । जनकपुरको विकासका लागि बृहतर जनकपुरसँग मिलेर काम गर्न खोजिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment