Comments Add Comment

पेरिसडाँडाबाट प्रचण्डले भने-केपी ओलीलाई धन्यवाद ! (भिडियोसहित)

एमाले र माओवादीको घमण्ड चूर भयो, कांग्रेसको पनि हुँदैछ


८ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहन वैद्य, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताका लागि आग्रह गरेका छन् ।

माओवादी केन्द्रको सेक्रेटरियट बैठकमा निर्णयहरु सार्वजनिक गर्न पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रचण्डले सबै माओवादीका घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गरेका हुन् ।

बैठकले पार्टी एकता, मुख्यतः मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र विप्लव समेतलाई एमता प्रक्रियामा आउन आह्वान गर्ने निर्णय गरेको प्रचण्डले बताए । शहीदका सपना र परिवर्तनका मुद्दालाई अघि बढाउन सबैले सोच्नुपर्ने दिन आइसकेको प्रचण्डले बताए ।

स्थानीय तहको चुनावले माओवादी केन्द्रलाई नै वैकल्पिक शक्तिको मूल धार बनाएको भन्दै अब आफूले सबै माओवादी घटकलाई एकतावद्ध गराउने दायित्व सिर्जना भएको उनले बताए ।

शासकीय स्वरुप फेर्ने प्रस्ताव

यसैवीच माओवादी केन्द्रको बैठकले प्रक्ष्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको राष्ट्रपतीय प्रणालीमा जोड दिने निर्णय गरेको छ ।

पहिलो संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणाली जाने सर्वसम्मत सहमति भएको थियो भन्दै प्रचण्डले दोस्रो संविधानसभापछि कांग्रेस र एमाले पछि हटेकाले पुरानै संसदीय प्रणालीमा जानुपरेको प्रचण्डले बताए ।

प्रचण्डले भने- ‘२००७ सालदेखि ०७४ सम्म पनि नेपालले कम्तिमा ५ वर्ष चल्ने सरकार पाउन सकेको छैन । १० वर्षमा १० वटा सरकार फेरिने जनताले स्थिर राजनीतिक प्रणालीको अपेक्षा गरेका छन् । कम्तिमा यो स्थितिको अन्त्य गरी ५ वर्ष चल्ने शासन प्रणाली बनोस् ।’

हिजो त प्रचण्डको पार्टी ठूलो छ, उसैले राष्ट्रपति जित्छ भन्ने कांग्रेस एमालेलाई लागेको भए पनि अब त्यस्तो अवस्था नरहेको उनले बताए ।

संसदको चुनाव पूर्ण समानपातिक

माओवादी बैठकले निर्वाचन प्रणालीलाई पनि फेर्नुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्ताव राष्ट्रपतिको चुनाव प्रत्यक्ष गर्ने र संसदको चुनावचाहिँ पूर्ण समानुपातिक बनाउनुपर्ने भन्ने छ ।

प्रचण्डले अहिलेको चुनाव प्रणालीको आलोचना गर्दै भने- ‘चुनाव साह्रै खर्चिलो हुन थाल्यो एउटा गाउँपालिकाको निर्वाचनमा ५/७ करोड खरोड खर्च गरेको पाइयो । अब प्रदेशमा डबल होला । केन्द्रमा त्यस्तै । गरीब गुरुवाले त छाडौं, मध्यम वर्गले पनि चुनाव लड्न नसक्ने अवस्था आयो ।’

पैसा खर्च गर्ने भएपछि तस्कर, भ्रष्टाचारी र दलालहरु हावी हुने प्रचण्डले बताए । ‘अब चुनावमा तस्करले लगानी लगानी गर्नुपर्ने भयो’ प्रचण्डले भने- ‘तपाईहरुले हिन्दी फिल्ममा देख्नुहुन्छ नि, तस्करले नेतालाई मुख्यमन्त्री बनाउँछ, आफूले भनेको काम गरेन भने मारिदिन्छ । नेपालमा पनि त्यस्तै हुने दिन टाढा देख्न छोडियो ।’

स्थानीय चुनावमा गरीबजतिले माओवादीलाई अलिअलि माया गरेको भन्दै प्रचण्डले शहरका टाढाबाठाले उज्यालो बनाए पनि, बाटो ठूलो बनाए पनि माओवादीलाई भोट नदिएकोमा विचित्र लागेको बताए ।

शहरमा बढी खर्च गर्नुपर्ने भएकाले आफूहरुले नजितको प्रचण्डले निश्कर्ष सुनाए । उनले भने- ‘निर्वाचन प्रणाली पनि हाम्रो देशको हित अनुकुल हुनेगरी बनाउनुपर्छ । राष्ट्रपतिको चुनाव गर्ने हो भने प्रत्यक्ष प्रणाली पनि भयो, समानुपातिकबाट संसद बनाएपछि खर्च गरिराख्नु परेन ।

आफूहरुले कार्यकारी राष्ट्रपति र निर्वाचन प्रणालीको परिमार्जनका लागि आन्दोलन गर्ने नभएर छलफलमात्रै चलाउने प्रचण्डले स्पष्ट पारे । उनले भने- ‘हामीले संघर्ष गर्छौं भनेका छैनौं, छलफल गर्ने भनेका छौं । जनतालाई राष्ट्रपतीय प्रणालीमा आउनोस् भनेका छौं । निर्वाचन प्रणालीमा छलफल गरौं भनेका छौं ।

विगतमा माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाऔं भन्दा कांग्रेस र एमाले चाहिँ प्रत्यक्षको पक्षमा उभिएर घमासान परेको प्रचण्डले बताए ।

‘संविधानसभाको चुनावपछि कांग्रेस र एमाले यति खुशी भए कि माओवादीले गर्दा बचियो भने’ प्रचण्डले अगाडि भने, ‘समानुपातिक प्रणाली नराखेको भए त हामी (माओवादी) ५ वर्ष राज गर्ने रहेछौं । एमालेको त्यसबेला ३३ सीट थियो बिचराको ।’

केपी ओलीलाई धन्यवाद

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले प्रचण्डलाई प्रश्न सोधेका थिए, केपी ओलीले कांग्रेससँग हैन, एमालेसँग मिलेर चुनाब लडौं भन्दैहुनुहुन्छ, वामदेव गौतमले त एउटै चुनाव चिन्हमा लडौं भन्दे हुनुहुन्छ, यसमा माओवादीको धारणा के छ ?

जवाफमा प्रचण्डले भने- ‘ओलीजीले यसो भनेकोमा उहाँलाई धन्यवाद नै दिन चाहन्छु । उहाँ ठूलो त बन्नुभयो, तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला, यसमा उहाँलाई धन्यवाद छ । वामदेवजीले त चुनाव अघि देखि नै मिलौं भन्दै आउनुभएको हो, उहाँले त ५०/५० गरेर चुनावमा जाऔं समेत भन्नुभएको हो ।’

विगतमा माओवादीमा पनि जितले घमण्ड पलाएको भन्दै प्रचण्डले अगाडि भने- हाम्रो घमण्ड चूर भयो, एमालेको पनि घमण्ड चुर भएकै हो । कांग्रेसको घमण्ड पनि चूर हुँदैछ । सबैको घमण्ड चूर भएपछि हामी एकै ठाउँमा आउनुपर्छ ।’

आवश्यक परे सडक आन्दोलन

माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन व्यवस्था ल्याउन आवश्यक परे सडक संघर्ष गर्ने चेतावनी पनि दिए । प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा सहमति जुटाउन पहिले कांग्रेस, एमाले लगायत दलहरुसँग सुरुमा छलफल गर्ने र आवश्यक परे सडक संघर्ष गर्ने उनको भनाइ छ ।

यो विषयको गहिराई, संवेदनशीलता र ऐतिहासिक आवश्यकतावोध गरेर यसको पक्षमा जनमत निर्माण गर्न कांग्रेस, एमालेसँग सौहाद्ररुपमा छलफल गर्ने भन्दै प्रचण्डले भने, ‘मलाई के विश्वास छ भने उहाँहरु पनि मान्नुहन्छ र देशले धेरै ठूलो सुख पाउँछ ।’

अहिलेको शासकीय प्रणालीले कसैको पनि बहुमत नआउने र स्थीर सरकार पनि नरहने भएकाले सबै पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आउनुपर्ने प्रचण्डको धारणा छ । पटक-पटक सरकार परिवर्तन भइरहँदा जनताले दुःख पाएको र आर्थिक समृद्धिको सपना पनि पूरा नभएको प्रचण्डले बताए ।

१० वर्षमा १० वटा सरकार फेरिएको र संविधान जारी भएको तीन वर्षभित्र तीन वटा सरकार बनेको भन्दै उनले भने, ‘मौका पर्‍यो भने ४-५ वटा बन्न बेर छैन ।’

तर, अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार नफेरिने प्रचण्डले स्पष्ट पारे ।

जसले जिते पनि माओवादीकै काम

माओवादी अध्यक्ष प्रचण्डले चुनावमा जसले जिते पनि माओवादी कै एजेण्डा लागू हुने बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्न स्थानीय चुनाव गर्न आफूले सबैभन्दा बढी जोड दिएको भन्दै प्रचण्डले यसमा आफूलाई गर्व लागेको बताए ।

‘स्थानीय तह जसरी बन्यो र निर्वाचन जसरी सम्पन्न भयो मलाई र हाम्रो पार्टीलाई यस अर्थमा त खुसी छ कि त्यहाँ कांग्रेसले जिते पनि, एमालेले जिते पनि, माओवादी वा मधेसवादी जसले जिते पनि लागू गर्ने त संघीय लोकतान्त्रिक गणतन्त्रै हो । समावेशी समानुपातिक नै लागू गर्ने हो । यस अर्थमा माओवादीले गर्व गर्ने ठाउँ छ र मैले बेला-बेलामा भन्ने गरेको छु, काम त माओवादीकै गर्ने हो सबैले । लागू गर्ने एजेण्डा त माओवादीकै हो ।’

तर, यत्तिमै चित्त बुझाउन नसकिने उनले बताए । जनतासँग प्रत्यक्ष जोडिन नसक्नुमा माओवादीले चुनावमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको भन्दै उनले भने, ‘एकीकृत, केन्द्रिकृत र संकल्पसहित जनतामा जोडिने, किनकी जनतासँगको सम्बन्ध कमजोर भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment