Comments Add Comment

बाबुराम-उपेन्द्र सम्बन्धः जोगी र भैंसीजस्तो !

यसकारण हुन सकेन दुई पार्टीवीच एकता

९ साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीयसमाजवादी फोरमवीच पार्टी एकताका लागि घनिभूत छलफल चले पनि एकता हुन सकेन ।

आइतबार टुटेको एकता वार्ता अब लगभग टाढिएको निश्कर्षमा नयाँ शक्ति पार्टीका नेताहरु पुगेका छन् । यसबारे आज र भोलि बस्ने नयाँ शक्ति पार्टीको बैठकमा थप समीक्षा हुँदैछ ।

आखिर किन हुन सकेन बाबुराम र उपेन्द्र यादववीच पार्टी एकता ? यसका पछाडि केही रोचक मनोवैज्ञानिक कारणहरु भेटिएका छन् ।

नेपाली समाजमा एउटा आहान छ, जोगी देख्दा भैंसी डराउँछ र भैंसीलाई देखेर जोगी डराउँछ । यो आहानजस्तै नयाँशक्तिका नेताहरु संघीय समाजवादीलाई देखेर डराएका छन् भने संघीय समाजवादीका नेताचहरु चाहिँ नयाँशक्तिका नेतालाई देखेर डराएको पाइएको छ ।

संघीय समाजवादीको डर

संघीय समाजवादीका एक नेताले अनलाइनखबरसँगको अनौपचारिक कुराकानीमा भने, ‘हामी त तत्कालै नयाँशक्तिसँग एकता गरिहाल्नुहुँदैन भन्ने पक्षमा छौं । किनभने एकतापछि त्यहाँ बाबुराम भट्टराई नै हावी हुनेछन् र पार्टीलाई माओवादीजस्तै बनाउने सम्भावना हुनेछ ।’

संघीय समाजवादीभित्र अशोक राई खेमाका ती नेताले नयाँ शक्तिसँगको एकताबारे अरुची जनाउँदै अर्को पनि तर्क गरे, ‘पासाङ शेर्पा र चैतन्य सुब्बाहरु पनि अहिले बाबुरामको नयाँशक्तिमै छन्, उनीहरुसँग अशोक राई र हाम्रो विगतमै झगडा परिरहेको छ, पार्टी एकताभयो भने बाबुरामसँगै पासाङ शेर्पाहरु पनि हावी हुन थाल्नेछन्, जो हामीलाई मन पर्दैनन् ।’

तर, पार्टी एकता गर्दा उपेन्द्र यादवलाई अध्यक्ष मानेर बाबुराम बरिष्ठ नेताको ठाउँमा बस्न तयार भएको अवस्थामा तपाईहरु किन डराएको ? यो प्रश्नमा उनले भने, कार्यकारी पदमा नरहे पनि पार्टीमा उपेन्द्र भन्दा बाबुराम नै हाबी भइहाल्छन् नि । पूर्वमाओवादीले पार्टी खाइदिन्छन् ।

नयाँ शक्तिको डर

उता नयाँशक्ति पार्टीका नेताहरु चाहिँ उपेन्द्र यादवलाई कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व जिम्मा लगाउने हो भने नयाँ वैकल्पिक शक्ति बन्न नसक्ने डरमा छन् ।

नयाँशक्तिका एक नेताले भने, ‘हामी राष्ट्रिय पार्टी बनाउने अभियानमा छौं, तर उपेन्द्र र अशोक राईहरुले क्षेत्रीय एवं जातीय पार्टीमा मात्रै पो सीमित राख्ने हुन् कि ? त्यसैले तत्काल यस्तो रिस्क लिएर एकतामा जान सकिँदैन ।’

पार्टी एकताका लागि शनिबार र आइतबार भएको द्वीपक्षीय वार्ताहरुमा समेत उपेन्द्र यादव पक्षका नेताहरुको मानसिकता क्षेत्रीय चिन्तनभन्दा माथि उम्लन नसकेको नयाँ शक्तिका नेताहरुको निश्कर्ष छ ।

राजनीतिक ‘फियर फ्याक्टर’

नेतृत्व सम्बन्धी मनोवैज्ञानिक डरमात्रै होइन, राजनीतिक लाइनका हिसाबले पनि बाबुराम र उपेन्द्र समूहवीच आपसमा डर देखिएको छ ।

मधेस र पहाडलाई मिलाउने र जातीय क्लष्टरलाई जोड्ने बताउँदै आएका बाबुराम भट्टराई उपेन्द्र यादवलाई नै नेता मानेर रिस्क लिन तयार देखिएका छन् । तर, उपेन्द्रलाई पार्टीको चाबी जिम्मा लगाउँदा यो पार्टी राष्ट्रिय दलजस्तो नभएर मधेसी दलजस्तो मात्रै जनतामा भाव जाने बताउँदै नयाँ शक्तिका अन्य नेताहरुले बाबुरामलाई अघि बढ्न दिएका छैनन् ।

पहाड र मधेसलाई जोड्ने गरी उपेन्द्रको व्यक्तित्व अझै बनिनसकेको नयाँ शक्तिका नेताहरुको तर्क छ ।

उता संघीय समाजवादी फोरमभित्र पनि यस्तै डर छ । कतै बाबुराम नेतृत्वको पार्टीसँग एकता गर्दा मधेसी नेताहरु बाइपास हुने र पहाडेकै हालीमुहाली हुने त होइन ? यस्तो डर संघीय फोरमभित्रका पनि मधेसी नेताहरुलाई छ ।
उपेन्द्र यादवले अशोक राईहरुसँग मिल्दाखेरि नै निकै सास्ती व्यहोरिसकेका छन् मधेसमा । पहाडेसँग मिलेकाले यादवलाई मधेस केन्दि्रत पार्टी भन्न नसकिने गुनासो मधेसमा सुनिन्छ भने पहाडमा चाँहि अशोक राई पक्षधर नेताहरुले मधेसीसँग मिलेको आरोप खेरिरहेका छन् ।

यो अवस्थामा पहाड र मधेसलाई जोड्ने अनि खस आर्य र जनजातिलाई जोड्ने पार्टी बनाउन खोज्दा प्रत्येक समुदाय एकअर्कासँग डराइरहेको अवस्था छ ।

र, उपेन्द्र र बाबुरामवीचको पार्टी एकता तत्कालका लागि टर्नुमा यही ‘फियर फ्याक्टर’ को ठूलो भूमिका रहेको सूत्रहरु बताउँछन् ।

नयाँ शक्तिभित्र अर्को पनि एउटा मनोविज्ञानले काम गरेको छ, त्यो के हो भने त्यहाँभित्र रहेको पूर्वमाओवादीको एउटा समूहले बाबुरामलाई तानेर प्रचण्डको नजिक लैजान चाहन्छ । र, यसमा पासाङ शेर्पाको समूह पनि अशोक राई र बाबुरामलाई भन्दा प्रचण्ड र बाबुरामलाई मिलाउने लाइनमा उभिएको छ ।

नयाँ शक्ति पार्टी बनाउने क्रममा भट्टराईले पूर्व माओवादीसँगै जनजाति पार्टीहरुका साथै बुद्धिजिवी तथा पूर्व प्रशासकहरुलाई समेटेका थिए । अहिले संघीय समाजवादीसँग पार्टी एकता गरेर उपेन्द्र यादवलाई नेता मान्न उनीहरु तयार देखिएका छैनन् । पार्टीको बैठकमा यो समूहहरुले ‘हामीले बाबुरामलाई नेता मानेर नयाँ शक्तिमा आएको हो, उपेन्द्रलाई किन मान्ने’ भन्न थालेपछि पनि भट्टराई दबावमा परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment