Comments Add Comment

मोरङका अधिकांश खेत बाँझै, धान उत्पादन घट्ने अनुमान

१० साउन, विराटनगर । मोरङ जिल्ला धान उत्पादनको हिसावले पकेट क्षेत्र मानिन्छ । नेपालमा धेरै धान फल्ने झापा जिल्ला पछि मोरङको नाम आउँछ । तर यो वर्ष समयमै प्रयाप्त वर्षा नभएपछि मोरङ जिल्लामा धान रोपाईं ढिला भएको छ । आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाका अधिकांश खेतीयोग्य जमिन साउनको पहिलो हप्ता कटिसक्दा पनि बाँझै छन् ।

मोरङ जिल्लामा प्रायः जेठ महिनाबाट शुरु भइ असारको दोश्रो हप्तासम्म वर्षे धानको रोपाईं हुने गर्दछ । यद्यपी यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न वाध्य छन् । सिचाईंको प्रयाप्त व्यवस्था नहुँदा किसानले रोपाईं गरेको धानको बेर्ना खडेरीका कारण खेतमै सुक्न थालेको छ ।

लामो समयको खडेरीको कारण जमिन सुख्खा हुँदा धान रोपाईं गरिएका जमिनसमेत अहिले चिरा-चिरा परेर फाटेका छन् । एकातिर आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र अर्को तर्फ रोपाईं गरेको धान समेत खेतैमा सुक्न थालेपछि मोरङबासी दोहोरो मारमा परेका छन् ।

मोरङ रंगेलीका कृषक कुशप्रसाद यादवले आफ्नो चार विघा जमिनमध्ये खडेरी परेका कारण यो वर्ष अहिलेसम्म १५ कठ्ठा जमिनमा मात्र धान खेती लगाएको बताए । उनले धान खेतीको लागि पानीको जोहो गर्न नपाएपछि मंगलबार बिहान धानको बेर्ना काटेर गाई-भैंसीलाई घाँस बनाउँदै थिए । उनले भने, ‘सिंचाईको अभावका कारण अहिलेसम्म पूरै खेत बाँझै छ । धानको बेर्ना हुर्केर काम नलाग्ने अवस्थामा पुग्यो । बेर्ना काटेर घाँसको रुपमा गाई-भैंसीलाई खुवाउनु पर्ने वाध्यता आयो ।’

विराटनगर महानगरपालिका-१५ का सलमान खातुनले पनि खडेरी लागेको कारण धान खेती गर्न समस्या भएको गुनासो गरे । उनले पनि सिंचाईको अभावमा आफ्नो पुरै जमिनमा धान खेती गर्न समस्या भएको बताए । ‘बोरिङको माध्यमबाट थोरै जग्गामा धान रोपाई गरेको थिएँ,’ उनले भने, ‘लामो समयसम्म खडेरी लागेकाले रोपेको धान जोगाउन पनि अहिले हम्मे-हम्मे भएको छ ।’

उनले पैसा खर्चेर बोरिङको सहायतामा लगाएको धान खडेरीका कारण खेतैमा सुक्न थालेको छ । धान खेत धाँजा-धाँजा भएर फाटेको छ । ‘बल्ल तल्ल लगाएको धान खेती जोगाउन पनि गाह्रो भयो,’ उनले भने, ‘नत आकाशे पानी पर्छ नत सिंचाईको व्यवस्था छ । अब रोपाईं गरेको धान कसरी जोगाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’

५१ प्रतिशत मात्र रोपाई, ३० प्रतिशत उत्पादन घट्ने

खडेरीका कारण मोरङ जिल्लामा साउन पहिलो साता सम्पन्न भइसक्दा ५१ प्रतिशत मात्र रोपाइ भएको छ । धान रोपाइमा ढिलाई हुँदा यो वर्ष करिव ३० प्रतिशतले धानको उत्पादनमा कमी आउने अनुमान पनि गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादवले यो वर्ष धान रोपाईं ढिला हुँदा जिल्लाको कुल धान उत्पादनमा समेत ३० प्रतिशतसम्म गिरावट आउन सक्ने बताए ।

सामान्यतया वर्षे धान जेठ महिनाको शुरुवातदेखि मध्य असारसम्ममा रोपाईं हुने गरेको थियो । तर यो वर्ष करिब-करिब साउन दोश्रो हप्तासम्म ५१ प्रतिशत मात्र रोपाईं भएको छ । यादवले भने, ‘यो धान रोपाइको क्रम हेर्दा अत्यधिक ढिलाई मान्न सकिन्छ ।’

यादवले वर्षे धानको रोपाइ ढिलामा असार महिना भित्रै सम्पन्न गर्दा उत्पादन बढी दिने उनको भनाइ छ । उनले कुल क्षेत्रफलको ५१ प्रतिशत मात्र अहिलेसम्म धान रोपाईं हुनु त्यसमा पनि रोपाईंमा ढिलाइ हुनुले यो वर्ष धान उत्पादनमा ३० प्रतिशत कमी आउने देखिएको वताए ।

६९ हजार ३ सय ३८ हेक्टरमा सिचाईं

मोरङमा कुल जमिन १ लाख ८५ हजार ५ सय हेक्टर छ । जसमा वर्षभरी ६९ हजार ३ सय ३८ हेक्टर जमिनमा सिंचाइ हुन्छ । अन्य बाँकी खेतीयोग्य जमिनका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।

जिल्ला कृषि विकास कार्यालय मोरङको तथ्यांक अनुसार कुल सिंचित खेतीयोग्य जमिनमध्ये वर्ष भरी सिंचित हुने खोतीयोग्य जमिन ३१ हजार ६ सय १० र मौसमी सिंचित हुने जमिनको ३ लाख ७७ हजार ७८ हेक्टर छ ।

वार्षिक ४ लाख २९ हजार धान उत्पादन

जिल्ला कृषि विकास कार्यालयका अनुसार १ लाख ८५ हजार ५ सय हेक्टर कुल जमिनमध्ये १ लाख ४३ हजार ३१ हेक्टर जमिन खेतियोग्य छ । त्यसमध्ये पनि ९२ हजार ९ सय ८५ हेक्टर जमिनमा धान खेति हुन्छ ।

जिल्लामा वार्षिक ४ लाख २८ हजार ९ सय ९४ मेटि्रक टन धान उत्पादन हुने गरेको छ । कार्यालयका योजना अधिकृत श्रीधर खनालका अनुसार सबैभन्दा बढी वर्षे धान ७८ हजार हेक्टरमा हुने गरेको छ जसमा ३ लाख ५८ हजार ८ सय मेटि्रक टन वार्षिक धान फल्छ ।

त्यसैगरी १३ हजार ४ सय ५५ हेक्टर जमिनमा चैते धान ६३ हजार ९ सय ११ मेटि्रक टन उत्पादन हुन्छ । हिउँदे धान १५ सय ३० हेक्टरमा लगाउने गरेकोमा वार्षिक उत्पादन ६ हजार २ सय ७३ मेटि्रक टन रहेको छ ।

मुलुकमै सबैभन्दा बढी झापा जिल्लामा १ लाख ७ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसमा ५ लाख १७ हजार ९ सय ६५ मेटि्रक टन धान उत्पादन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment