Comments Add Comment

अब मुग्लिन पारि त्रिशूली तिरै–तिर दुई लेनको सडक !


१२ साउन, काठमाडौं । सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्पमा अर्को सडक बनाउने योजना अघि सारेको छ ।

मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न लागेको हो । मुग्लिन पारि त्रिशुलीको तिरै–तिरका क्षेत्रलाई समेटेर सडक बनाउन एसियाली विकास बैंक (एडीबी) अन्तरगतको सडक आयोजना निर्देशनालयले तयारी थालेको हो ।

आयोजनाका निर्देशक केशवकुमार शर्माका अनुसारसम्भाब्यता अध्ययनका लागि परामर्शदाता छान्न टेण्डर भइसकेको छ । अबको एक वर्षभित्र सम्भाब्यता अध्ययन सक्ने र उचित देखिए विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सुरु गरिने गर्नेसरकारको योजना रहेको शर्माले बताए ।

लगानी गर्न एडीबी इच्छुक

वैकल्पिक सडक परियोजनामा लगानी गर्न एडीबीले इच्छा देखाएको छ । योजनाअनुसार मुग्लिन पारि त्रिशुली तिरमा झण्डै २५ किलोमिटर सडक बन्ने छ । यो सडक दुई लेनको हुनेछ ।

‘मुग्लिन नारायणगढ सडक अहिले विस्तार भएर ९ मिटरको बन्दैछ । यो भन्दा विस्तार गरेर ४ लेनको बनाउन सकिँदैन । त्यसो गरिएमा सडककै कारण ठूलो डिजास्टर हुनसक्छ’ आयोजनाका निर्देशक शर्माले अनलाइनखबरसँग भने, ‘काठमाडौं आउने सडकलाई साँघुरो अवस्थामा सञ्चालन गर्न सकिँदैन । त्यसैले त्यसको विकल्प तयार गर्न यो सडकको अवधारणा ल्याइएको हो ।’

मुग्लिन–नारायणगढ सडकखण्ड ९ मिटरको बनाउँदा अहिले त केही सहज हुन्छ । तर, भोलिका दिन सवारीको चाप थेग्न नसक्ने र सुविधायुक्त यातायात सेवा प्रभावित हुने सरकारको निश्कर्ष छ ।

मुग्लिन–नारायणगढ खण्ड विस्तारका लागि विश्व बैंकको दुई अर्ब ९० करोड सहयोग गरेको छ । यो खण्ड एसियन हाइवेअन्तर्गतको एएच ४ टू खण्डअन्तर्गत पर्छ ।

विस्तार गर्न लागिएको सडकलाई तीन भागमा विभाजन गरेर तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको छ ।

आँपटारीदेखि दासढुंगासम्म भारतीय बीएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतकै सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले सडक विस्तारको ठेक्का लिएका छन् ।

सहायक मार्गको अवधारणा

सोह्रकिलोदेखि मुग्लिनसम्म ९ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो हुने गरी सडक निर्माण गरिँदैछ ।

यति फराकिलो हुँदा पनि चार लेनका मापदण्ड नपुग्ने भएकाले मुग्लिन–नारायणगढ सडकको सहायक मार्ग पनि खोल्न लागिएको हो ।

झण्डै देवघाट छेउसम्म पुग्ने पारीको सडकसँग वारिको सडक जोड्न सकिने गरी ठिमुरामा पुल पनि बन्दैछ । सरकारले मुख्य राजमार्गहरु चार लेनको बनाउने नीति लिएर काम गरिरहेको छ ।

तर, मुग्लिनको सडक क्षेत्र भु–बनोटका कारण चारलेन बनाउन सम्भव नहुने अवस्था भएपछि सरकारले नयाा विकल्पमा काम थालेको हो ।

अहिले सडक विस्तार गर्दा पनि विभिन्न स्थानमा पहिरो आएर समस्या भएको छ । यो काम सकिएपछि फेरि यो खण्डमा निर्माणको काम नगर्ने नीतिका साथ नदीबारीबाट अर्को सडक बनाउन लागिएको निर्देशक शर्माले बताए ।

या सडककको निर्माण गर्न कति लागत लाग्छ भन्ने डीपीआरपछि मात्रै टुंगिनेछ । डीपीआर पछि ट्रयाक खोल्ने र त्यसपछि केही वर्षभित्रै कालोपत्रे गरेर सडक सञ्चालन गर्ने योजना सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment