Comments Add Comment

रविन्द्र मिश्र र उज्ज्वल थापाको अन्तरविरोधः मध्यमार्गी कि अग्रगामी ?

बाबुराम भट्टराईसँग यसकारण पानी बाराबार

साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील नेपालीका उज्जवल थापा ।

१२ साउन, काठमाडौं । गत स्थानीय चुनावमा काठमाडौं र ललितपुरमा चमत्कारिक मत पाउन सफल दुईवटा राजनीतिक दल विवेकशील नेपाली र साझा पार्टीवीच बुधबार एकता भएको छ । यी दलहरुवीचको पार्टी एकताले जन्माएका केही राजनीतिक पराकम्पनका विषयमा यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

राजनीतिक जमिन

देशमा रहेका पुराना पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाजस्ता शक्तिबाट जनतामा वितृष्णा पलाएको र नयाँ विकल्प आवश्यक रहेको विश्लेषण हुँदै आइरहेको छ । र, यही परिप्रेक्ष्यमा नयाँशक्ति पार्टी, विवेकशील नेपाली र साझा पार्टी सतहमा देखा परेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले बेलाबखतमा आफ्नो मन्तव्यमा भन्ने गरेका छन् कि एमाले भनेको भर्खरै जन्मेको, खहरेजस्तो पार्टी होइन, यो राणा शासन, पञ्चायती शासनसँग जुधेको पुरानो इतिहास बोकेको पार्टी हो । ओलीको यस्तो अभिव्यक्तिले के सन्देश दिन खोज्छ भने ‘पुरानो पार्टी’ का सामु नयाँ पार्टीको खैराँत छैन ।

तर, वास्तविकता यही नै हो त ? यदि हो भने हिजोको प्रजा परिषद कता गयो ? दिल्लीमा केजरीवालका सामु कांग्रेस आइ र बीजेपीजस्तो पुरानोको स्थिति के भो ? र, नेपालमा पनि स्वाभाविकरुपमा प्रश्न उठ्छ- के नेपाली कांग्रेस र एमाले नै अब अजम्बरी राजनीतिक पार्टी हुन् ? उनीहरुको विकल्पमा कुनै शक्ति अगाडि आउन सक्दैन ?

यस्तै प्रश्नहरुको चुनौतीको भारी बोकेर विवेकशील र साझा पार्टी सतहमा आएका थिए । अहिले उनीहरुवीच पार्टी एकता भएको छ ।

पार्टी एकता नगरिकन स्थान चुनाव लडेका यी नयाँ पार्टीहरुले राजधानीमा पुराना दलहरुलाई धक्का दिने लक्षण देखाएका थिए । यो परिघटनाका आधारमा के भन्न सकिन्छ भने देशैभरि नयाँ विकल्प दिन नसकेपछि काडमाडौंका जनताले चाहिँ नयाँ विकल्प खोजेकै देखियो । अर्थात काठमाडौं उपत्यकाको राजनीतिक जमिन पुराना पार्टीहरुका लागि भन्दा नयाँ दलका लागि उर्बर देखियो ।

काठमाडौं कब्जा गर्ने संकेत

दुई चरणको स्थानीय चुनावको परिणामलाई हेर्दाखेरि विवेकशील र साझा पार्टीले काठमाडौं बाहिरको जनमतलाई खासै आकर्षण गरेको देखिएन । तर, राजधानीमा भने यी नयाँ दलहरुले एक्लाएक्लै लड्दासमेत कांग्रेस एमालेलाई चुनौती दिएको देखियो । नयाँ दलले राजधानीमा माओवादी र राप्रपालाई त पछाडि पारिसकेको अवस्था देखियो ।

स्थानीय चुनावका बेला काठमाडौंमा विवेकशीलकी उम्मदेवार रञ्जु दर्शनाले २३ हजारभन्दा बढी मत पाएकी थिइन् भने साझा पार्टीका किशोर थापाले १६ हजार भन्दा बढी मत पाएका थिए । दुबैको मत जोड्दा झण्डै ४० हजारको हाराहारीमा पुग्छ ।

चुनावअघि नै दुबै दलले मिलेर चुनाव लडेको भए कांग्रेस र एमालेलाई हराउने सम्भावनालाई समेत अस्वीकार गर्न सकिँदैन ।

अब चाँडै नै प्रदेश र केन्द्रको चुनाव हुन लागेको छ । यी दुबै चुनावमा विवेकशील साझा पार्टीले राजधानीका केही सीटहरु नजित्ला भन्न सकिँदैन । अझ दुबै चुनावमा समानुपातिक निर्वाचन प्रणालीसमेत अपनाइने भएकाले यो पार्टीले प्रदेशसभामा काठमाडौं र ललितपुरबाट करिब एक लाखको हाराहारीमा उपस्थिति देखायो भने अचम्म नमान्दा हुन्छ ।

गाउँमा बाबुराम, शहरमा साझा विवेकशील

काठमाडौंमा कब्जा गर्न सक्ने लक्षण देखिए पनि राजधानी बाहिर भने विवेकशील साझा पार्टीको उपस्थिति तीव्र गतिमा बढ्ने अनुमान अहिले नै लगाउन सकिने अवस्था छैन । इटहरी, मोरङ, झापा आदि जिल्लामा उनीहरुले पाएको मत विरक्तलाग्दो छ ।

उता नयाँ शक्तिकै रुपमा गत वर्षदेखि राजनीतिक गतिविधि गरिरहेका डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालले काठमाडौं बाहिरका केही जिल्लामा मत प्रभाव देखाएको छ ।


जस्तो गोरखामा नयाँ शक्ति पार्टीले पाएको मत काठडौंमा विवेकशील साझा पार्टीले पाएको मतकै हाराहारीमा छ । रसुवामा नयाँ शक्तिले एउटा गाउँपालिका जितेको छ । धनकुटा नगरपालिकामा समेत नयाँ शक्तिले वडाध्यक्ष जितेको छ ।

थारु वस्ती लगायत तराई पहाड हिमाल धेरैतिर नयाँशक्तिको थोरै भए पनि उपस्थिति देखिएको छ ।

आगामी चुनावमा यी तीनवटै दलहरु आपसमा मिलेको खण्डमा उनीहरुले तेस्रो विकल्प दिने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर, नयाँ भन्नेहरुको दुःख कहाँ छ भने बाबुराम र रविन्द्र-उज्ज्वलहरु आपसमा मिल्दैनन् । उनीहरु आपसमा मिल्ने हो भने चाहिँ काठमाडौं र गाउँ सबैतिरबाट मत एकीकृत भई थ्रेसहोल्डलाई पार गर्दै पुराना पार्टीको विकल्प बन्ने सम्भावना प्रवल देखिन्छ ।

यी नयाँ भन्नेहरु आपसमा नमिल्नुको एउटै कारण छ- संकीर्णता र जुँगाको लडाइँ । अरु वैचारिक-राजनीतिक कारण खासै देखिँदैन ।

रविन्द्र मिश्र र उज्जवल थापाको अन्तरविरोध

आपसमा साह्रै आत्मीयजस्तो गरी मिलेका साझा पार्टीका रविन्द्र मिश्र र विवेकशीलका उज्जव थापावीच वैचारिक एवं दार्शनिक अन्तरविरोध वा भिन्नता छ भन्ने कुरा बुधबार पार्टी एकताहुँदा आयोजित पत्रकार सम्मलेनमै देखियो ।

‘भूमध्य रेखा’ किताबै लेखेका रविन्द्र मिश्र मध्यमार्गी नेता हुन् । तर, उज्जवल थापाचाँहि आफूलाई अग्रगामी भन्ने नेता हुन् । अग्रगमन र मध्यमार्ग दुबै फरक-फरक दार्शनिक अवधारणाहरु हुन् । भोलि राजनीतिक लाइनमा यो दर्शन मुखरित हुन लाग्दा दुबै नेताको जोड र कोणमा अन्तरविरोध हुन सक्छ ।

तथापि रविन्द्र मिश्रले आफूलाई ‘सेन्टर लेफ्ट’ बताउने गरेकाले उनी ‘भूमध्य रेखा’ बाट थोरै वायाँतिर ढल्किए भने उनको र उज्जवल थापाको दुरी घट्न सक्छ र पार्टी अगाडि बढ्न सक्छ । तर, यसका लागि रविन्द्रले भूमध्यरेखा पार गर्नैपर्ने हुन्छ ।

उज्जव थापा राजनीतिक मु्द्दाहरुको उठानमा केही अग्रगामी त देखिन्छन् । तर, उनले पनि प्रतिक्रियाको राजनीतिमात्रै बढी गरिरहेका छन् । धूलो, धुँवा र भ्रष्टाचारको मात्रै विरोध गरेर नयाँ शक्ति पार्टीको दायित्व पूरा हुँदैन । तर, थापाको दल अहिलेसम्म केही ‘गर्ने’ भन्दा ‘देखाउने’ निम्न पुँजीवादी मनोविज्ञानबाट ग्रसित देखिन्छ । जस्तो-उनीहरुले बाबुराम भट्टराईको नयाँ शक्तिलाई उपेक्षा गर्नु र आफैंलाई मात्रै नयाँ ठान्नु पनि यसैको परिणाम हो । र, यस्तो संकीर्णताले राजनीतिको नयाँ एवं साझा विकल्प दिन सकिँदैन ।

तर, यसो भनिरहँदा डा. बाबुराम भट्टराई पनि दोषमुक्त छैनन् । उनी आफैं पनि रविन्द्र मिश्र र उज्जवल थापासँग सहकार्य गरेर अघि बढ्न तयार देखिएका छैनन् । यसले गर्दा नयाँ शक्ति भनाउँदाहरुमा पनि गुटमा रमाउने विकृति देखा परेको सहजै महसुस गर्न सकिन्छ ।

माथिमा यी विषयहरुमा नयाँ शक्ति बनाउँछौं भन्नेहरुले ध्यान दिन सके भने केपी ओलीले भनेजस्तो छिप्पिएको पार्टीलाई ‘नेपाली मूलको केजरीवाल’ ले हाराबारा नखेलाउला भन्न सकिँदैन । किनभने नेपालमा पुराना एवं भ्रष्ट पार्टीको विकल्प जनताले खोजिरहेका छन् । अहिलेको चुनावमा जनताले कांग्रेस, एमाले र माओवादीलाई रोजे भनिए पनि उनीहरुले गरेको आर्थिक चलखेलबाट जनतामा ती दलप्रति अरुची बढेकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment