आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै

यस्तो छ नागपञ्चमी र जनैपूर्णिमाको महिमा

Suzuki

१३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले बताए ।

बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको आज पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । आजका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायत प्रसाद चढाइन्छ । यस उपलक्ष्यमा पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा मेला लाग्छ ।

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म (यज्ञोपवीत धारणसम्बन्धी प्रक्रिया), ऋषितर्पणी र रक्षाबन्धन आज श्रावण शुक्ल पञ्चमीकै दिन मनाइँदैछ । यही साउन २३ गते श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने ‘सत्कर्म रत्नावली’, ‘निर्णय सिन्धु’, ‘कृत्यबाटिका’लगायत ग्रन्थमा उल्लेख गरिएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यसअघि विसं १९६३ र ०८२ तथा २०२८ र ०४७ मा पनि नागपञ्चमीका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन पर्व मनाइएको धर्मशास्त्रविद् प्रा डा गौतमले जानकारी दिए । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरुपुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको प्रा डा गौतमले बताए । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण–पुरोहितले यजमानको नाडीमा बाँधिदिने गर्छन् ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । यसका लागि बिहीबारदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तर्षि र पितृलाई पनि तर्पण दिइन्छ । आजको दिन सप्तर्षि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।
वैदिक गुरु परम्परानुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीन शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

आज बिहानै यजमान आफ्ना गुरुपुरोहितकहाँ गई यज्ञोपवीत मन्त्रने गर्छन् । आजकै दिन मन्त्रिको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनाका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।
आजका दिन ११ थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार हुन्छ भन्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्छन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाका जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत ताल, पोखरी र कुण्डमा लाग्ने मेला श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते नै लाग्ने समितिले जनाएको छ ।

‘जात्रा, उत्सव, पूर्णिमा तिथि श्राद्ध र पूर्णिमाको व्रत साउन २३ गते नै गरिन्छ, यसका लागि ग्रहणमा पनि शुभ मानिन्छ’, उनले भने । यदि श्रावण शुक्ल पूर्णिमा संक्रान्तिका दिनमा परे पनि नागपञ्चमीकै दिन रक्षाबन्धन, उपाकर्म र ऋषितर्पणी पर्व मनाउनुपर्ने शास्त्रीय प्रमाण रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

 

२०७४ साउन १३ गते ८:२५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this