Comments Add Comment

कमल थापाले देउवालाई भने- कोर्स करेक्सनको अवसर दिनुभो, धन्यवाद !

१४ साउन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सत्तामुखी राजनीतिबाट अलग हुने मौका पाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

पछिल्लो मन्त्रिपरिषद विस्तारमा समावेश नगरेपछि राप्रपाले देउवा सरकारमा जाने अध्याय समाप्त भएको घोषणा गरेको थियो । त्यसको भोलिपल्ट शनिबार राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत देउवालाई धन्यवाद दिएका छन् ।

पार्टीको आन्तरिक परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यताका कारण मात्र प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हालेको भन्दै थापाले एक मत नभएपनि आफूहरु सरकारमा जाने मनस्थितिमा रहेको उल्लेख गरेका छन् । देउवाले उपप्रधानसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह पनि गरेको उनको दाबी छ ।

थापाले भनेका छन्, ‘कारण जे सुकै होस् तर, राप्रपा सरकारमा जाने साइत जुरेन । अब शेरबहादुर देउवा नेतृत्वमा बनेको वर्तमान सरकारमा सहभागी हुने अध्याय समाप्त भयो ।’

अब कुनै बार्गेनिङले यो निर्णय प्रभावित हुन नसक्ने उनको दाबी छ । राप्रपा आफ्नो विचार र बाटोमा प्रष्ट रहेको भन्दै थापाले भनेका छन्, ‘केही समययता पार्टी सत्तामुखी हुँदै गएको तथा सिद्धान्तबाट विचलित भएको अनुभूति पार्टी कार्यकर्तामा थियो ।’

स्थानीय चुनावमा पनि निराशाजनक परीणाम आएको भन्दै उनले अघि भनेका छन्, ‘पार्टीभित्र गम्भीर आत्मसमिक्षा र कोर्स करेक्सनको आवश्यकता अनिवार्य हुन गएको थियो । हामी त्यो आँट जुटाउन सकिरहेका थिएनौं । नियतिले त्यो परिस्थिति निर्माण गरिदिएको छ ।’

राप्रपाले फेरि एकपटक मौका पाएको भन्दै थापाले भनेका छन्, ‘यसअर्थमा शेरबहादुरजीलाई धन्यवाद दिन आवश्यक ठान्छु । यो अवसर गुमाउने धृष्टता गर्न सक्दैनौं ।’

०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment