Comments Add Comment

दुबै चुनाव एकै पटक गरे मतपत्र चार वटा हुने, प्रमुख आयुक्तले भन्छन्: असम्भव  

 

१५ साउन, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न नसकिने बताएका छन् । दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्ने समेत उनले जानकारी दिए ।

संसदके सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा प्रमुख आयुक्त यादवले संवैधानिक र व्यवस्थापकीय दृष्टिले दुबै चुनाव एकै पटक गर्न नसकिने बताए । दुबै निर्वाचन एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठरो पर्नसक्ने उनले बताए ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने अवस्थालाई सबै पक्षले हेक्का राख्नु पर्ने उनले बताए ।

उनका अनुसार दुबै चुनाव एकै पटक गर्दा मतदाताले चारवटा मतपत्रको प्रयोग गर्नु पर्नेछ ।

मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती,मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि दुईवटा निर्वाचन एकै पटक असम्भव रहेको उनको भनाइ थियो । उनले प्रश्न गरे, दुबै निर्वाचन एकै पटक गर्ने हो भने मतपत्र मात्रै ७ करोड छपाइ गर्नुपर्छ । त्यो अहिलेको संरचनामा कसरी सम्भव होला ?

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन चिन्ह वितरण गरेपछि मतपत्रको छपाइ गर्न असम्भव रहेको समेत बताए ।

बैठकमा सांसद उदय नेपालीले धनी उम्मेदवारले मात्र निर्वाचन जित्छ भन्ने मनोविज्ञानलाई अन्त्य गर्न विद्युतीय मतदानको प्रयोग गर्नुपर्ने र त्यसलाई खर्चिलो हुन्छ भनेर पन्छाउन नहुने सुझाव दिए ।अर्का सासद जनकराज जोशीले एकै पटक निर्वाचन गरिए मुलुकको ढुकुटीमा ६ अर्ब जोगिने हुनाले त्यसबाट बचेको पैसा ऊर्जाको विकासमा लगानी गर्नु उपयुक्त हुने सुझाव दिए ।

समितिका सदस्य सांसद नरसिंह चौधरीले प्रदेशसभा र प्रतितिनिधिसभाको निर्वाचन एकै पटक गर्न खोजिए मतदातामा अन्यौल सिर्जना हुने बताए । सांसद हर्कबोल राईले आचारसंहिताको पालना कम हुने तथा निर्वाचन खर्च भने बढ्दै जाने प्रवृत्तिले मुलुकलाई कता धकेल्छ भनी प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment