Comments Add Comment

जनताको अदालतमा देवी र रेणु ! के भन्छन् दुबै उम्मेदवार ?

१६ साउन, चितवन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि मेयर पदका दुबै उम्मेदवार अब जनताको अदालतमा जाने तयारीमा जुटेका छन् ।

गत जेठ १४ गते मध्यरात माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको वडा नम्बर १९ को विवाद झण्डै २ महिनापछि टुंगिएको छ । वडा नम्बर १९ को मतगणना सकिएको १८०० सहित गणना गर्न बाँकी मत र च्यातिएको मत समेत बदर भएका छन् ।

वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबिरुद्ध एमाले सर्वोच्च गएको थियो । सर्वोच्चले साउन १५ गते निर्वाचन आयोगको निर्णय सदर गरेपछि वडा नम्बर १९ मा फेरि निर्वाचनको माहौंल तात्न थालेको छ ।

उसो त निर्वाचन आयोगको निर्णयपछि नै कांग्रेस-माओवादी गठवन्धनबाट मेयरको उम्मेदवार बनेकी प्रचण्ड पुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवाली चुनाव प्रचार प्रसारमा जुटेका थिए । रेणु डेरा नै लिएर वडा नम्बर १९ मा केन्द्रित भएकी थिइन् भने ज्ञवाली दैनिकजसो त्यही क्षेत्रमा पुग्ने गरेका थिए ।

तर, सर्वोच्चबाट निर्णय आउन ढिलाई भएको र वर्षायाम सुरु भएपछि निर्वाचन प्रचारप्रसार, घरदैलो सुस्ताएको थियो । सर्वोच्चको फैसलापछि दुबै उम्मेदवारको सक्रियता बढेको छ । अब वडा नम्बर १९ मा एमालेको ४ सय मतको फरक पार्ने कांग्रेस-माओवादी गठवन्धनको उद्देश्य हुनेछ भने, एमालेले ४ सयभन्दा कम मतान्तरमा गठवन्धनसँग प्रतिस्पर्धामा रहने रणनीति बनाएको छ ।

दुवै मेयरका प्रतिस्पर्धीहरुले एकचरण घरदैलो कार्यक्रम यसअघि नै सकाएका छन् । आमा समूह, क्लब, विभिन्न सामाजिक संघसंस्थालाई सहयोग दिने नाममा रकमहरु बाँडेका गुनासाहरु पनि यसबीचमा आएका छन् ।

माओवादीले वडाध्यक्षसहित सवै सदस्यमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । वडा नम्बर १९ मा यसअघि २८६० मत खसेको थियो भने आउने चुनावमा त्यो भन्दा बढी मत खस्ने अनुमान छ । यहाँ ३ हजार ७९७ मतदाता छन् । महागनरको वडा नम्बर २० को ३ हजार ३०२ मत गणना गर्न बाँकी छ ।

सर्वोच्चले न्याय दिएन, अब जनताको अदालत जान्छुः ज्ञवाली

सर्वोच्चको फैसला आउँदा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली काठमाडौंमै थिए । फैसला आफ्नो बिपक्षमा आउला भन्ने उनलाई विश्वास लागेको थिएन । यद्यपि अहिलेको सर्वोच्चको संरचना र न्यायाधीशहरुको सेटिङ र महान्यायाधिवक्ताको विषेश दौडधुपबाट भने मनभित्र आंशका रहेका उनले बताए ।

त्यसैले जनताको वीचमा जान नछाडेको ज्ञवालीले अनलाइनखबरसँग स्वीकार गरे । उनले भने, ‘सर्वोच्च अदालतले मलाई न्याय दिएन । अब जनताको वीचमा न्याय दिनुस् भनेर जान्छु । जनताले दिएको अमूल्य मत च्यात्नेहरु नै फेरि मत माग्दै हिँडेका छन् भने मैले त के अपराध गरेको छु र ?’

ज्ञवालीले आफू एक जनाविरुद्ध सिंगो राज्य संयन्त्र नै परिचालित भएको भन्दै दुःख व्यक्त गरे । अदालतको फैसलाको जवाफ जनताको अदालतले दिने भन्दै उनले भने, ‘म अझै बढी मतका साथ जित्छु । किनकी म चितवनमा असार साउनमा उम्रिएको पटके च्याउ होइन, मैले चितवनका हरेक राजनीतिक आन्दोलनमा रगत बगाएको छु । मलाई यहाँका जनताले राम्रोसँग चिनेका छन्, ज्ञवाली माथि साँच्चै अन्याय भयो भन्ने जनतालाई परेको छ ।’

ज्ञवालीले अब निर्वाचन प्रचारप्रसार र जनतासँग भेटघाटलाई तिव्र पार्ने बताए । ‘अब हामी ढिला नगरी आजैबाट चुनावी अभियानमा लाग्छौं, सबैखाले षडयन्त्र र तिकडमको पर्दाफास गरी जनतालाई अझै बुझाउँछौं,’ उनले भने ।

जनताको पक्षमा फैसला भयोः रेणु दाहाल

मेयर उम्मेदवार रेणु दाहालले भने सर्वोच्च अदालतको फैसलालाई जनताको पक्षमा भएको फैसला भनेकी छन् । ढिलै भएपनि अदालतले जनताको अभिमतको सम्मान गरेको भन्दै उनले भनिन्, ‘जनताको अभिमतको कदर भएको छ, मतदान गर्न पाउने जनताको अधिकार सुरक्षित भएको छ ।’

साथै उनले अब चुनावी अभियानमा होमिने बताइन् । ‘अब म चुनावी अभियानका क्रममा आजैबाट मैदानमा उत्रिएँ, जनताको घर-घरमा एकपटक पुगिसकेको हो, अब फेरि त्यो मौका आएको छ,’ मेयर पदकी उम्मेदवार दाहालले भनिन्, ‘घरदैलो, कोणसभा, भेटघाट सम्भव भएसम्म आमसभा समेत गर्ने योजना छ ।’

सिंगो पार्टी र गठवन्धन पक्षधर दल कांग्रेसलाई समेत लिएर चुनावी अभियानमा लाग्ने मेयर उम्मेदवार दाहालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment