Comments Add Comment

ट्राफिक प्रहरी प्रमुख खनालले भने-गुण्डाका टिपर बन्द गराउँछु


१६ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालले सडकमा आतंक मच्चाउने टिपरमाथि कारबाही थाल्ने बताएका छन् । टिपर ब्यवसायमा गुण्डाको लगानी मौलाएको भन्दै त्यस्ता टिपर बन्द गर्ने चेतावनी दिए ।

तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरु बढी आलोचित छन् । ट्राफिक प्रहरीमा पनि टिपरले सकडमा आतंक सिर्जना गरेको भन्दै धेरै गुनासो आउने गरेका छन् ।

सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा टिपर ब्यवसायी संघका प्रतिनिधिलाई सम्बोधन गर्दै खनालले डाँडा पाखा आगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । ”टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको टि्रपरको लगत छ’ डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनमा नामका टिपर बन्द गराउँछु ।’

हालै मात्र ट्राफिक प्रहरी प्रमुख भएका खनालले अनुभूति हुने गरी काठमाडौंको ट्राफिक ब्यवस्थापन सुधार हुने दाबी गरे । आफूले काम सुरु गरिसकेको भन्दै उनले सबै पक्षको सहयोग भए केही समयमै रिजल्ट देखिने बताए । ‘अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन’ खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।’

कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको भन्दै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने पनि स्पष्ट गरे । उनले भने, म हाँसेरै काम गर्छु तर, सँधै हाँस्न मात्र मात्रै मैले जानेको छैन ।’

खनालले ट्राफिक ब्यवस्थापनका लागि महानगर, सडक विभाग लगायतका सरोकारवाला निकायको एक्सन टिम बनाउनुपर्ने उनले बताए । ‘काठमाडौं महानगरले एउटा मोबाइल भ्यानको ब्यवस्था गरोस् । एउटा शक्तिसम्पन्न टिम बनाएर हामी सडकमा निस्कौं’ उनले भने, ‘जहाँ समस्या भेटिन्छ, त्यसलाई तत्काल समाधान गरौं । ५ मिनेट डोजर लगाउँदा समाधान हुने कामका लागि प्रक्रिया हेरेर नबसौं ।’

उनले ट्राफिक बत्ति नहुँदा समस्या भएको भन्दै सरकारले जडान गर्न नसके निजी क्षेत्रले लगानी गर्नसक्ने बताए । ‘ट्राफिक बत्ति हालिदिन्छौं भनेर मान्छे आएका छन् । कि सरकाले छिटो गर्नुपर्‍यो, नभए गर्छु भन्नेलाई दिनुपर्‍यो’ खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment