Comments Add Comment

भीमदत्त पन्तको ६५औं स्मृति दिवस आज, को हुन् भीमदत्त ?

१७ साउन, डडेल्धुरा । मंगलबार शहीद भीमदत्त पन्तको ६५औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

शहीदको स्मृति दिवसको अवसरमा मंगलबार बिहान ७ बजे डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ । यस्तै साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए । केही वर्षयता प्रतिष्ठानले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

पुराना किसान नेता भीमदत्तलाई राज्यले निकै पछिमात्र शहीद घोषणा गरेको हो ।सरकारले पन्तलाई २०७२ फागुन १९ गते उनलाई शहीद घोषणा गरेको हो ।

को हुन् किसान नेता भीमदत्त ?

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्त १९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका हुन् ।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सबादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए ।

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । त्यस बेला उनलाइ भीमदत्त कांग्रेस भन्ने गरिन्थ्यो ।

गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे ।

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।

दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । भान्सामा दलितहरुलाई सहभागी गराउन थाले ।

किसानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस व्यवहारबाट कुँडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिँदा पागल पन्त भन्ने गर्थे ।

कांग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे म अहिले जे गर्दैछु भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन ।

गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

कसरी भयो उनको हत्या ?

२००९ सालमा कञ्चनपुरको ब्रहृमदेवमा लुकाएर राखिएको नूनको गोदाम कब्जा गरी किसानलाई बितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे ।

२०१० साउन १७ गते डडेल्धुराको साविसको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला दुबै देशको सेनाहरुको टोलीद्वारा संयुक्त रुपमा घेरा हाल्न लगाई पन्तकै मित लालबहादुर थापाले उनको हत्या गरिएको भनिएको छ । तर यसको पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment