Comments Add Comment

उत्तर–दक्षिण जोड्ने सडक निर्माण कछुवा गतिमा


२१ साउन काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा पर्ने तीन वटा उत्तर–दक्षिण जोड्ने सडकको प्रगति सन्तोषजनक हुन सकेको छैन । सरकारले पर्याप्त बजेट नछुट्याएकाले पनि आयोजनाले गति लिन सकेको छैन ।

सरकारले कोशी करिडोर, कालीगण्डकी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरबका आयोजनामा समावेश गरेको छ । तर, प्रत्येक वर्ष यस्ता आयोजनामा न्युन मात्रामा मात्रै बजेट विनियोजन भएको देखिन्छ । विनियोजित बजेटको खर्च अवस्था भने सन्तोषजनक छ ।

कोशी करिडोरः खाँदबारीसम्म कालोपत्रे जारी

गत आर्थिक वर्षमा कोशी करिडोरमा ५१ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये ५१ करोड १५ लाख रुपैयाँ खर्च भयो । लगभग सतप्रतिशत बजेट खर्च भए तापनि यो वर्ष ५२ करोड ८४ करोड रुपैयाँ मात्रै छुट्याइएको छ ।

बिराटनगर, धरान, धनकुटा, हिले, खाँदबारी किमाथांका हुँदै यो सडकले भारत र चीनलाई जोड्छ । ३ सय ४० किलोमिटर सडकखण्डमध्ये तेह्रथुमको बसन्तपुरदेखि खाँदबारीसम्म अहिले कालोपत्रे गर्ने काम अघि बढेको छ ।

सडक विभागका अनुसार यसै सडकखण्ड अन्तर्गतको खाँदबारीदेखि किमाथाङ्का १ सय ६२ किलोमिटर सडकखण्डमा १ सय ७ किलोमिटरमा ट्रयाक खोलिसकिएको छ । साथै यसको ७० किलोमिटर सडकखण्डमा अहिले सवारी साधनहरु चल्ने गरेको सडक विभागले जानकारी दिएको छ ।

खाँदबारी किमाथांका सडकमा गत वर्ष १० किलोमिटर चौडाई गर्ने र २९ किलोमिटर थप ट्रयाक खोल्ने काम गरिएको उत्तर–दक्षिण व्यापारीक मार्ग विस्तार आयोजना निर्देशनालयका आयोजना निर्देशक भिमार्जुन अधिकारीले बताए । साथै यसै सडक खण्डमा ९ किलोमिटर ग्राबेल गरिएको छ भने १४ किलोमिटरमा पक्की नाला निर्माण गर्ने काम सम्पन्न भएको छ ।

कर्णाली राजमार्गः ८३ किलोमिटर ट्र्याक खोलियो

बाँकेको जमुनाहाबाट हुम्लाको सिमिकोट हिल्सासम्म जोड्ने ६ सय ८२ किलोमिटर सडकखण्डमा खासै प्रगति देखिदैन । यही करिडोर अन्र्तगत पर्ने हिल्सा–सिमिकोट सडक योजनाको ९५ किलोमिटरमध्ये ८३ किलोमिटरमा ट्रयाक खोलिएको छ । सिमीकोटदेखि सल्लीसल्ला ५० किलोमिटर छ । जसमा अहिले १८ किलोमिटरको मात्रै ठेक्कापट्टाको काम सम्पन्न भएको छ ।

हिल्सा सिमिकोट सडकका लागि गत वर्ष ११ करोड ८ लाख छुट्याइएको थियो । यसमध्ये ९ करोड १८ लाख खर्च भएको सडक बिभाग बताउँछ । यो वर्ष भने यो सडकखण्डको लागि ५४ करोड ५९ लाख छुट्याइएको छ ।

तर, यसमा नेपाली सेनाले निर्माण गरिरहेको कालिकोटको खुलालुबाट सल्लीसल्लासम्म जोड्ने १४५ किलोमिटरको बजेट पनि पर्दछ । सल्लीसल्लादेखि सिमिकोट ५० किलोमिटर सडकमा ३० करोड छुट्टाइएको छ । सिमिकोटबाट हिल्सा सम्मको सडकखण्ड भने अहिले जिबिसले अघि बढाइरहेको छ ।

कालिगण्डकी करिडोरः ८ वटा पुलको टेन्डर

नवलपरासीको गैडाकोटदेखि पाल्पा, बाग्लुङ हुँदै कोरलासम्म जाने यो सडकखण्ड ४ सय ३५ किलोमिटरको रहेको छ । यसमध्येको राम्दी मालढुङ्गा सडक अहिले डबल स्टाण्डर्डको बनाउन लागिएको छ ।

यही सडकखण्डमा पर्ने ८ वटा पुल निर्माणको लागि टेण्डरको काम अघि बढेको छ । अन्य स्थानमा भने पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लगिएको छ ।

जोमसोम कोरालाको १ सय १० किलोमिटर सडक डबल लेनको बनाउन लागिएको छ, जसमा ग्राबेलको काम पनि अघि बढिरहेको छ । बेनी–जोमसोम ७६ किलोमिटरमा कालापत्रे गर्नको लागि अहिले ठेक्कापट्टाको काम अघि बढिरहेको छ ।

चालु आर्थिक वर्षमा कालिगण्डकी करिडोर अन्र्तगत पर्ने राम्दी मालढुङ्गा सडकखण्डको लािग ४५ करोड बजेट बिनियोजन गरिएको छ भने बेनी जोमसोम सडकखण्डको लागि थप ४५ करोड छुट्टाइएको छ ।

गत वर्ष गैडाकोट–राम्दी–मालढुङ्गा सडकखण्डको लागि २८ करोड ८२ लाख रुपैयाँ छुट्याइएइको थियो । यसमध्ये २६ करोड ६९ लाख रुपैयाँ खर्च भएको सडक बिभागले जानकारी दिएको छ ।

त्यस्तै बेनी–जोमसोम–कोरला सडकखण्डको लागि ६९ करोड बजेट बिनियोजन भएको थियो, जसमध्ये ६८ करोड २५ लाख ५८ हजार खर्च भएको छ । हायोजना निर्देशक अधिकारीका अनुसार यी सडकखण्ड तीव्र गतिमा निर्माण हुन नसक्नुमा पहिलो कारण भौगौलिक बिकटता हो । अधिकारी भन्छन्, ‘हेलिकोप्टरबाट सामान ओसारेर र डोजर लगेर निर्माण गर्नुपर्ने स्थिति छ, बजेट पाए अनुुसारको काम अघि बढाएको छौ । तर पनि यसमा तिब्रताका साथ काम हुन सकेको छैन ।’

अधिकारीले भने जस्तो यसमा भौगोलिक बिकटता मात्रै होइन सरकारको लगानी पनि सही तबरले हुन सकेको छैन ।

राष्ट्रिय गौरबका आयोजना भनेर किटान गरे पनि सोहि अनुसारको बजेट विनियोजन भएको छैन, जसका कारण बर्षाैंदेखि यी आयोजना कछुवा गतिमा अघि बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment