Comments Add Comment

भैरहवा विमानस्थलले चिनियाँ कम्पनीलाई भन्यो- काम राम्रो गर्नुस् नभए ठेक्का रद्द हुन्छ

२२ साउन, भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीलाई विमानस्थल आयोजनाले ठेक्का रद्द गर्ने अन्तिम चेतावनी दिएको छ ।

चिनियाँ कम्पनीले सन्तोषजनक रुपमा निर्माण कार्य गर्न नसकेको कारण कम्पनीलाई अन्तिम पटक चेतावती दिदै राम्रो काम गर्नका लागि २ महिनाको समयवधि दिइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

उनले २ महिनाको समयवधिमा सन्तोषजनक काम गर्न नसके निर्माण कम्पनीसँग ठेक्का रद्द गरिने बताए । साथै उनले विकल्पको रुपमा विमानस्थल निर्माणको लागि अर्को टेण्डर प्रक्रियाका कागजपत्रहरु समेत तयार भइरहेको बताए ।

‘निर्माण कम्पनीले सन्तोषजनक काम गर्न सकेको छैन, जसका कारण हामीले उसलाई राम्रो काम गर्नका लागि २ महिनाको समय दिएका छौँ ।’ आयोजना प्रमुख शर्माले थपे, ‘यदि उसले २ महिनामा पनि राम्रो गर्न सकेन भने हामीले ठेक्का रद्द गरेर अर्को टेण्डर प्रक्रियामा जान्छौं ।’

उनले निर्माण कम्पनीले आर्थिक कारण देखाउदै काम गर्न नसकेको बताए ।

मासिक ६ प्रतिशत काम सम्पन्न गर्नु पर्नेमा पछिल्लो समयमा चिनियाँ कम्पनीले ०.५ प्रतिशतका दरले मात्र काम गरिररहेको आयोजनाले जनाएको छ । विमानस्थलमा रन वे र टर्मिनल भवनको काम भइरहेको छ । अहिले विमानस्थलको करिब ३० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए ।

विमानस्थल निमार्णका लागी चिनियाँ कम्पनीले नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच रकम लेनदेनको विषयमा विवाद उत्पन्न भएपछि विगत ५ महिनादेखि चिनियाँ कम्पनी आफैंले विमानस्थलको निर्माण कार्य गर्दै आएको छ ।

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चिनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१८ जुलाई महिना सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ .

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment