Comments Add Comment

कुलेखानीको ड्याममा ६ मिटर पानी कम

२३ साउन, हेटौंडा । मकवानपुरको कुलेखानी वरपर वर्षा कम पर्दा कुलेखानीको ड्याममा पानी कम भएको छ । त्यसमाथि यो वर्ष आयोजना बढी चलाइएको छ, जसका कारण गत वर्षको भन्दा ६ मिटर पानी कम भएको छ ।

गत वर्ष यो समयमा कुलेखानी आयोजनामा १ हजार ५१४ मिटर पानी थियो । तर, अहिले १ हजार ५०८ मिटर मात्रै छ । विद्युत प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख हरराज न्यौपानेका अनुसार यो वर्ष खासै पानी नपरेका कारण पानीको सतह गत वर्ष भन्दा ६ मिटर कम छ । उनले भने, ‘यसपाली यो भेगमा पानी परेको छैन । जम्मा भएको वानी पनि गत वर्ष भन्दा अलि बढि चलाउनु परेको छ ।’

हिउँदका लागि ब्याकअपका रुपमा राखिने कुलेखानी आयोजनाको ड्याममा पानी बढ्न नसक्नु विद्युत प्राधिकरणलाई टाउको दुखाईको विषय बनेको छ ।

ड्याम साइटमा सीसीटीभी राख्न निर्देशन

कुलेखानी ड्यामको अवलोकन गर्न पुगेको उर्जामन्त्री महेन्द्रबहादुर शाहीले ड्याम साइटमा तत्काल सीसीटीटभी जडान गर्न निर्देशन दिएका छन् । सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र भएकाले सीसीटीभी जडान गर्नु पर्ने उनको भनाइ छ ।

मन्त्री शाहीले भने, ‘यहाँ मान्छेले मात्रै हेरेर बसेर पुग्दैन । आधुनिक तरिकाले यसको मनिटरिङ गर्नुपर्छ, यसका केहि भागमा सीसीटीभी जडान गर्न जरुरी छ ।’

सकभर धेरै पानी नचलाउनू

देशमा सञ्चालित अधिकांश जलविद्युत आयोजना रन अफ दि रिभरमा आधारित छन् ।

वर्षातको समयमा अधिक मात्रामा विद्युत उत्पादन हुने रन अफ दि रिभर आयोजनामा हिउँदमा भने अत्यन्तै न्युन विद्युत उत्पादन हुन्छ । जसका कारण हिउँदमा कुलेखानी बाहेक सबै आयोजनाबाट थोरैमात्रै विद्युत उत्पादन हुन्छ ।

त्यही बेला जलाशययुक्त आयोजना कुलेखानी सञ्चालनमा ल्याएर विद्युतको माग पूर्ति गरिन्छ । हिउँदका लागि यो आयोजनाबाट आवश्यक विजुली निकाल्न मिल्ने भएका कारण अहिले यसको सकभर पानी प्रयोग नगर्न उर्जामन्त्री शाहीले निर्देशन दिएका छन् । अहिले यो आयोजना दिनमा बढिमा डेढ घन्टा सम्म चल्ने गरेको छ । प्रणाली सञ्चालन विभागले माग गरेको बिद्युत अनुसार यसलाई अहिले १० मिनेटदेखि डेढ घन्टा सम्म सञ्चालन गरिने उत्पादन निर्देशनालयका प्रमुख अधिकारी बताउँछन् ।

यसै ड्यामबाट ३ आयोजना चलाउन मिल्छ

यो ड्यामबाट विद्यत प्राधिकरणले अहिले ६० मेगावाटको कुलेखानी प्रथम चलाइरहेको छ । त्यस्तै कुलेखानी प्रथम आयोजनाबाट निस्केको पानीले ३२ मेगावाटको कुलेखानी दोस्रो पनि अहिले सञ्चालनमा छ ।

कुलेखानी दोस्रोबाट निस्केको पानीले अहिले कुलेखानी तेस्रोमा बिद्युत निकाल्ने तयारी भइरहेको छ । चिनियाँ ठेकेदार र सहायक ठेकेदारले काममा ढिलाई गर्दा अहिलेसम्म आयोजना सम्पन्न हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment