Comments Add Comment

वाइडबडी हेर्न निगमको टोली फ्रान्स जाने, सिरियल नम्बर आयो

२५ साउन, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)ले खरिद गर्न लागेको दुईवटा वाइड बडी जहाज के कसरी निर्माण भइरहेको छ भनेर बुझ्न एक प्राविधिक टोली उत्पादन स्थलमा जाने भएको छ ।

जहाज किन्नका लागि अमेरिकी कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ बुझाइसकेको भए पनि निगमका अधिकारीहरुले अहिलेसम्म सो जहाज देखेका छैनन् । जहाजको निर्माण अवस्था बुझ्न एक टोली डेढ महिनाभित्रै फ्रान्स जान लागेको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको छ ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । यसमा बिजनेश क्लासका १६ सिट हुनेछन् ।

निर्माण सम्पन्नपश्चात मात्रै दोस्रो किस्ता

निगमले एएआरसँग दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात् २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको छ ।

अहिलेसम्म निगमले ८ अर्ब रकम पठाइसकेको छ । बाँकी रकम भने अब बिमान निर्माण पश्चात मात्रै पठाउने कंसाकारले जानकारी दिए ।

नेपालको उड्ययन इतिहासमा नै यति ठूलो रकम खर्चेर एकैपटक विमान खरिद गरेको यो पहिलोपटक हो । गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

एएआर कर्पोरेसनसँग १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज खरिद गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

पहिलो विमान सन् २०१८ को अपि्रलसम्म आइसक्ने र दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्ने कंसाकार बताउँछन् । अहिले नेपालले किन्न लागेको विमान अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा सस्तो परेको उनको दावी छ ।

सिरियल नम्बर आयो

नेवानीले बिमान नै नहेरिकन खरिदका लागि पैसा पठाएकोमा सांसदहरुले आशंका ब्यक्त गरेका छन् । लेखा समितिको बैठकमा उनीहरुले यो बिमानको सिरियल नम्बर अझ नआएको भन्दै प्रश्न उठाए ।

जवाफमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जहाजको सिरियल नम्बर प्राप्त भएको बताए । उनका अनुसार दुई जहाजको सिरियल नम्बर १८७२ र १८७८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment