सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

‘काम गर्न मिल्दैन भने किन अध्यक्ष भएर आउनुपर्‍यो ?’

'लाप्राकमा सेनाका औंला चुँडिए, एनआरएनका छोराछोरी चिढिए'

अनलाइनखबर

२६ साउन, काठमाडौं । यस्तो लाग्छ, एनआएन अध्यक्ष शेष घले र श्रीमती जमुना गुरुङ लैला-मैजनुजस्तै हुन् । उनीहरुवीच नङ र मासुजस्तो प्रेमपूर्ण सम्बन्ध नभएको भए अष्ट्रेलिया पसेर उनीहरुले आफूलाई सफल व्यवसायी बनाउन शायदै सम्भव हुने थियो ।

सार्वजनिक कार्यक्रममा उनीहरु प्रायः सँगै देखिन्छन् । अघिल्लो साता जर्मनीको फ्रयाङफर्टमा आयोजित एनआएनको युरोप क्षेत्रीय बैठकमा पनि शेष र जुमना सँगै थिए । नेपालबाट जर्मनी पुगेका सञ्चारकर्मीहरुको टोलीले एक बिहान घले दम्पत्तिसँग उनीहरु बसेको होटलमा पुगेर ‘ब्रेकफास्ट-सम्वाद’ गर्‍यो । र, यो सम्वादमा अध्यक्ष घलेलाई सोधिएका कतिपय प्रश्नको जवाफमा जमुनासमेत सहभागी भइन् ।

अध्यक्ष घलेको दोस्रो कार्यकाल सकिन अब केही महिनामात्रै बाँकी छ । काठमाडौंमा हुने विश्व सम्मेलनबाट घलेले नेतृत्व हस्तान्तरण गर्दैछन् । तथापि उनको आफ्नै कार्यकालमा भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा सुरु भएको एकीकृत वस्ती र काठमाडौंमा निर्माणाधीन एनआएनको कार्यालयले पूर्णता पाउन भने केही ढिलाइ भएको छ ।

शेष घलेकै नेतृत्वमा एनआएनले भिजन-२०२० अगाडि सारेको छ । यसलाई कतिपयले आलोचनासमेत गरेका छन् । तर, ब्रेकफास्ट सम्वादमा हामीले कुरा सुरु गर्‍यौं, लाप्राकमा भूकम्प पीडितहरुका लागि एनआएनले बनाइरहेको बस्तीबाट ।

त्यहाँ घर निर्माणका क्रममा भोग्नुपरेका चुनौतीका चाङहरुको कथा अध्यक्ष घलेले यसरी सुनाएः

शेष घले सैयौं वर्षपछि ठूलो स्केलमा दैवीप्रकोप भयो । यति ठूलो क्षति हुँदाखेरि हामीले अर्को विकल्प देखेनौं । म मात्रै नभनौं, एनआरएनको नेतृत्वले, हामीले तत्कालै राहतका लागि निर्णय गर्‍यौं । आफैं सहभागी भएर सहयोग गर्ने भन्ने निर्णय गर्‍यौं । त्यो एउटा ‘क्रिटिकल’ निर्णय थियो । त्यो ‘रिस्की’ निर्णय पनि थियो कि भनेर अहिले कसैले समीक्षा गर्न सक्छ । तपाईले नतिजा दिन सक्नुभएन भने त तपाईले ‘लस्ट’ गर्नुहुन्छ ।

हामीले इमोसनमा आएर एक हजार घर बनाउने भन्दियौं । सबैतिर, प्रत्येक मिडियामा रेकर्डेड भयो, एक हजार घर । अहिले एक हजार त बनाएको छैन । ६ सय पनि पूरा गरेको छैन । प्रक्रियामै छौं । असफलजस्तो देखिएको छ नि त अहिले त । तर, यो रियालिटी बुझ्नुपर्‍यो । हामीले के गर्दैछौं ?

म धेरै खुशी छु, हामीले अहिले जे-जति गरिरहेका छौं । एनआरएनको एउटा प्रोजेक्ट एम्प्मिेन्टेसन भन्ने एउटा कमिटी छ, त्यो कमिटीको मात्रै ५० वटा मिटिङ भयो । यी मिटिङहरुमा हामीले कति समय खर्च गर्‍यौं होला ? प्रत्येक निर्णयहरु भएका छन् ।

हामी आफ्नै खर्चमा हेलिकोप्टर चढेर जान्छौं । एउटा ट्रिपमा जाँदाखेरि २ लाख २५ हजार खर्च हुन्छ, मैले २५ वटा ट्रिप गरिसकें । यो एकाउन्ट एनआएनमा जाँदैन, मेरो आफ्नै खर्च हो

आफैंले राहत वितरण गर्ने भन्यौं । हामीले राहत सफलतापूर्वक वितरण गर्‍यौं । त्यो काम सम्पन्न गरेको समयको हिसाबले, उपलब्धीको हिसाबले हामीले रेडक्रसकै तुलनामा काम गर्‍यौं । रेडक्रस, जसको मुख्य उद्देश्य नै कल्याणकारी कामका लागि राहत दिने हो । हाम्रो एनआएनए त त्यो मात्रै होइन नि त । त्यो त दैवी प्रकोप भएर एउटा परिस्थिति सिर्जना हुँदाखेरि हामीले निर्णय गरेका हौं ।

पहिला पनि दैवी प्रकोप हुने गर्थे, हामी आर्थिक संकलन गथ्यौर्ं र सरकारको एउटा कोषमा हास्तान्तरण गथ्र्यौं । यसपालि हामीले राहत आफैं बाँड्ने भन्यौं र गाउँ गाउँमा गयौं । विभिन्न ‘रिस्क’ लियौं । यो सहयोगमा हामीले यातायात लगायतमा जुन खर्च गर्छौं, त्यो हाम्रो आफ्नो व्यक्तिगत हुन्छ । यसमा हामीले दाताको पैसा खर्च गरेको हुँदैन ।

पुनर्निर्माणमा दाताहरुबाट हामीलाई धेरै पैसा आयो । करोडौंमा आयो । यसरी पैसा आएपछि हामीले प्रतिवद्धता गर्‍यौं कि घरै बनाइदिन्छौं । तर, यस्तो स्थिति आउँछ भन्ने कसैलाई पनि थाहा थिएन । तीन लाखमा घर बन्छ भन्ने थियो । अहिले तपाईहरुलाई थाहा छ भूकम्पपछि नेपालमा कति घर बने ? कति लागतमा कति घर बने भन्ने त सबैलाई स्पष्ट नै छ । दुर्गम हिमाली भेगमा नयाँ मोडलको ‘सेटलमेन्ट’ यो पहिलो हो । यत्रो ठूलो परिणाममा यो पहिलो हो । यसमा कठिनाइका कारणले गर्दा १२/ १५ लाख रुपैयाँ एउटा घरको लागत पर्न गयो । तीन लाखको सट्टा १२/१५ लाख पर्ने भयो ।

यसमा जटिलताहरु भए । स्थानीयस्तरमा ढुंगा नपाएपछि हामीले ईंटा प्रयोग गर्ने भन्यौं, ईंटाको मेसिन चाइनाबाट ल्यायौं । हिउँले गर्दा २२ हजार ईंटाहरु नाश भए । मेसिन बिग्रयो । त्यसपछि चाइनिज इञ्जिनियर ल्यायौं । छ महिनासम्म तल र माथि गरेपछि ती इञ्जिनियरलाई डोकोमा हालेर लान्छु भन्दा पनि बारपाकबाट माथि लाप्राकसम्म जान मानेनन् । डराएर फर्केर आए ।

पहिलोचोटि मैले हेलिकोप्टरमा लगें । उनलाई नेपाली अनुवादक चाहिने । उनी चाइनिज भाषामात्रै बोल्ने । एकजना नेपाली अनुवादक खोजेर ल्यायौं । तर उनमा हेली फोबिया रहेछ । बारपाक भन्ने ठाउँसम्म मौसम राम्रो छ, माथि लाप्राकमा, १२ किलोमिटर माथि चढेर जानुपर्छ । त्यहाँको मौसम दिनमा १२/१५ पटक परिवर्तन भइराख्छ । त्यसैले बारपाकमा हेलिकोप्टर ल्याण्ड गरेर कच्चीबाटोमा माथि जानुपर्‍यो । उनी तर्सिंदै थिए । माथि लगेर हामीसँगै टेण्टमा बसायौं । दुईचार दिन बसेर मेसिन सबै फुकालेे, काटे । मेसिनको सबै डिटेल लिएपछि हामी काठमाडौं आयौं ।

इञ्जिनियर काठमाडौंमै बसे । हामीले चाइनाबाट पार्टपूर्जा मगायौं । पाटपूर्जा आइपुग्न एक महिना लाग्यो । त्यसपछि १२० किलो पार्टपूर्जा आइपुग्यो । तर, चाइनिज इञ्जिनियर फिल्डमा जानै मानेनन् । बल्लबल्ल सम्झाएर गाडीमा बारपाकसम्म पुर्‍याइयो । अब यहाँबाट माथि जाँदै जान्न, पहिरो गइराखेको छ भनेर मान्दै मानेनन् । १२० किलो सामान ट्याक्टरमा माथि लिएर गयौं, चाइनिज इञ्जिनियर फर्केर आए । पछि त उनको कम्पनीमा सम्पर्क गर्दाखेरि ती चाइनिज इञ्जिनियर जागिरै छाडेर हिँडेछन् ।

हेर्नोस् त, एउटा मेसिन फिट गर्नका लागि परेको कठिनाइको एउटा उदाहरण यस्तो छ । त्यो मेसिनले दिनमा ७ हजार ईंटा बनाउनुपर्ने थियो । अहिले त्यो मेसिन बिग्रिएको अवस्थामा छ । त्यसपछि हामीले सेमी अटोमेटिक मेसिनले दिनमा ३ हजार ईंटा उत्पादन गर्नुपर्‍यो । हामीलाई चाहिने एक मिलियन ब्लक/ईंटा हो । अर्को उपाय छैन ।

भूकम्प गएपछि यो सबै प्रक्रियामा हामी नयाँ इनोभेसनमा पनि छौं । यो सबै नयाँ टेक्नोलोजी प्रयोग भइरहेका छ । त्यहाँ माटो छैन, काठपात छैन । तल बारपाक भन्ने ठाउँमा मात्रै वीरगञ्जको ईँटा ल्याएर मान्छेहरुले घर बनाउँदैछन् । गोरखाको त्यस्तो दुर्गम ठाउँमा त्यो वीरगञ्जको सानो ईंटा प्रयोग हुँदैछ । त्यो ईंटा माथि (लाप्राक) पुर्‍याउने हो भने त्यो घरको दाम अर्को ५ लाख बढ्छ । वीरगञ्जको ईंटाले अहिलेको घर बनाउने हो भने अर्को ५ लाख फेरि बढ्छ ।

सरकारले घरको डिजाइन अस्ति भर्खर पास गरिदियो । सरकारले हामीलाई मतलबै गरेन । अस्ति गोरखापत्रमा एउटा हेडलाइन देखिराखेको थिएँ, एनआरएनले उसलाई (सरकारलाई) टेरेन रे । सहयोग भन्ने त शून्य । यस्तो छ ।

राजनीति यस्तो छ कि गाउँ-गाउँमा फाइट गर्ने । पोलिटिसियनहरु पैसा बनाउन खोज्ने । नेपालीले सहयोग गरेको पैसा, गाउँका भूकम्प पीडितलाई हो भनेर संकलन गरेको पैसा, त्यो गाउँमा पुर्‍याउन पनि हाम्रो इनर्जी गएको छ, इफोर्ट गएको छ । त्यस माथि पनि फाइदा लिन खोज्ने ? यो कस्तो किसिमको व्यवहार हो ? हामी तपाईहरुकै घर बनाउँदैछौं । तपाई नेता हुनुहुन्छ, तपाईकै घर पनि हो । लौ, ठेक्का नेतालाई दिनुपर्ने रे ।

सबै पार्टीहरुले एउटा कोअपरेटिभ बनाउने रे, अनि त्यसले चाहिँ चलाउने रे क्या ! हामीले के भन्यौं भने मोडालिटीमा हामी आफैं सहभागी भएर गर्छौं । त्यसैले नै आर्मी आयो । हामीले स्वयंसेवकहरु आह्वान गरिराखेका छौं ।

मेरो अनुभवमा राहतका बेलामा यति धेरै एनआरएनहरु आए भने पुनर्निर्माणका बेलामा त कसो नआउलान् ? यत्रो ४० लाख एनआरएनहरुमा कमसेकम पनि केही हजार त आउलान् नि । हामीले प्याकेज बनाएका छौं । एक हप्ता काम गरे पनि हुन्छ, दुई हप्ता काम गरे पनि हुन्छ । हामीले सबै कुराको पोलिसी बनायौं । यो सबै गर्नलाई पनि समय लाग्यो ।

तर, यसवीचमा धेरैले ‘टर्नअप’ लिए । यतिसम्म कि हाम्रो केन्द्रीय समितिकै धेरै साथीहरु त्यो साइटसम्म पुग्न सकेका छैनन् । तर, म यसमा ‘कम्प्लेन’ गर्दिनँ । कसैले आर्थिकरुपमा सहयोग गरिसकेको छ भने त्यहाँसम्म गइराख्नुपर्दैन । आफ्नो क्षमता छैन भने पनि त्यहाँ गइराख्नुपर्छ भन्ने होइन । तर, क्रिटिसाइज्ड गर्नु त राम्रो होइन नि त । उनीहरु पनि प्रतिवद्धतामा, निर्णयमा सहभागी भएका छन् । र, यो काम सिंगो संस्थाको हो ।

जमुना घले हामी एनआरएनलेले मोर्डन भिलेज बनाइदिने, तर पैसाचाहिँ गाउँलेको व्यक्तिगत खातामा हालिदिनुपर्ने भनियो क्या ! कसरी मोर्डन भिलेज बनाउने उनीहरुको खातामा हालेपछि ? कस्तो अप्ठ्यारो क्या ! यो कन्डिसनबाट बाहिर निस्कनलाई एक वर्ष लाग्यो । यो कन्डिसनबाट बाहिर ननिस्केसम्म कामै गर्न जानुहुँदैन भन्ने हाम्रो मास्टर प्लान कमिटीको प्रतिवद्धता थियो । गएको २० डिसेम्बरमा त्यो कन्डिसनबाट बाहिर निस्केपछि हामी काममा खटिइहाल्यौं ।

त्यो जाडोको ठाउँ, मे महिनादेखि पानी पर्ने, त्यसपछि हिउँको त खोला बग्दोरहेछ । अप्रिल र मे, वर्षमा दुई महिनामात्रै काम गर्न सकिने । कामदारहरुले डोकोमा ढुंगा, सिमेन्ट र बालुवा राखेर त्यसरी बोकेर लान्छन् क्या । डोजर पनि नजाने । कस्तो गाह्रो । यसै गरेर ३०० घरहरु डीपीसी लेबलमा सिध्याइयो । बाँकी २७३ घरहरु यो पानी पर्ने सकिएपछि सुरु हुन्छ । अहिले २२८ घरहरु बनाउन सुरु गरिसकेका छौं । दैनिक काम भइरहेको छ । पहिले ढुंगा दिएन, ढीला भयो, अहिले ढुंगा दियो, तर पानी पर्न थाल्यो । पहिले नै ढुंगा दिएको भए हामी धेरै छिटो सक्थौं नि । घर बनाउन सुरु भइसक्यो, काठ दिन्नौं भन्छन् ।

शेष घले उनीहरुले हस्ताक्षर गरेका थिए । तर, के भयो भने कामदार नदिने भए । पहिलो कुरा त गाउँमा धेरै महिलाहरु मात्रै छन् । त्यसैले लेबर दिन सक्नेजस्तो हामीलाई लागेन । यो त जनसहभागिता पनि हो । घर मालिकहरु आफैं सहभागी हुनुपर्छ । हाम्रो मोडालिटी नै त्यही छ । सरकार र एनआरएनसँगको सम्झौता पनि त्यही छ । १२ लाखमा कसैले तपाईको घर बनाइदिँदैछ भने तपाईले पनि त केही योगदान त गर्नुपर्‍यो नि ।

त्यहाँको स्थानीय स्रोत जे छ, धेरै न्युनतम लागतमा घर बनाउन सकिन्छ भन्ने हामीले आश गरेको हो । हामीले पुरानो गाउँमा गएर पनि अनुसन्धान गरिसकेका छौं ।

जमुना घले सरकारले पनि भूकम्प पीडितलाई काठ दिएको रहेछ ।

शेष घले- हामीले पनि त्यो सुविधा त लिन सक्नुपर्‍यो नि । हामीसँग असीमित पैसा भएको त हैन नि । पैसा बचाउन सक्यौं भने अरु गाउँमा पनि केही गरौंला भन्ने हाम्रो सोच हो । हजारै घर बनाउने हाम्रो लक्ष छ । अहिले सिन्धुपाल्चोकमा अर्को प्रोजेक्ट लिनका लागि कुरा भइराखेको छ । हामी पैसा कति वचत हुन्छ भनेर हिसाब गर्दैछौं ।

हामीले अहिलेसम्म एकदमै मितव्ययी भएर काम गरिराखेका छौं । आफू जाँदा पनि त्यहाँ मेस चलाइदिएको छ, एक छाक खानाको कति, महिना दिनको कति, सबै हिसाब गरेर राखिदिएको छ । हामी जाँदा आफूले खाएको पनि पैसा तिरेर आउँछौं ।

हामी आफ्नै खर्चमा हेलिकोप्टर चढेर जान्छौं । एउटा टि्रपमा जाँदाखेरि २ लाख २५ हजार खर्च हुन्छ, मैले २५ वटा टि्रप गरिसकें । यो एकाउन्ट एनआएनमा जाँदैन, मेरो आफ्नै खर्च हो ।

प्रश्न-अष्ट्रेलियाको म्यागेजिनले निकाल्ने पछिल्लो विवरणमा तपाईहरुको आम्दानी वृद्धिको दर केही घटेको देखिएको छ । एनआरएनतिर बढी व्यस्त भएपछि तपाईहरुको निजी सम्पत्ति घटेको हो ?

जमुना घलेयो निश्चय नै हो । हामीले केही अवसरहरु गुमाइराखेका छौं । तर, यसले हामीलाई के सिकायो भने यदि यो ‘कमर्सियल भेन्चर’ भएको भए उहिल्यै हात निकालेर निस्किइसक्थ्यौं । तर, यो  ‘सोसियल भेन्चर’ मा त्यो गर्न नमिल्ने रहेछ । यसमा त ‘डु अर डाइ’ हुँदोरहेछ । कमर्सियल भेञ्चर भएको भए हामी अस्ति नै निस्किइसक्थौं । यो सामाजिक काम हो, यसमा हामीले कुनै नाफाको दृष्टिकोणले हेरेका छैनौं ।

यो यस्तो गाह्रो हुन्छ भनेर एनआरएनले महसुस गर्न सकेन होला, तर हामीले प्रतिवद्धता जनाइसक्यौं । त्यसैले यसलाई अघि बढाउनैपर्छ र संस्थालाई हामीले बचाउनुपर्छ ।

प्रश्नः लाप्राकमा बस्ती बन्यो भने त्यसको अस्तित्व अरु २ सय वर्षसम्म रहन सक्छ । तर, अहिले तपाईहरु एउटा ठूलो अक्करमा पर्नुभएको छ, अलिकति माथि जानासाथ नयाँ क्षितिज खुल्ने छ । तर, लाप्राकको काम नसकिँदै एनआएनमा तपाईको कार्यकाल सकिँदैछ । यो प्रोजेक्ट सफल भयो भने एनआएनले गरेको भन्ने हुृन्छ, असफल भयो भने शेष घलेले गर्दा यस्तो भयो भन्ने हुन्छ । अब एनआएनको अध्यक्ष नहुँदाको अवस्थामा यो प्रोजेक्ट अधुरो रहने स्थिति आयो भने तपाई के गर्नुहुन्छ ?

जमुना घले- यो प्रश्न अलि छिटो भयो होला । संस्थाले नै गरेको काम भएको हुनाले संस्थाले नै पूरा गर्नुपर्ने काम हो यो । तर, हामीले सबै भोग्यौं । संस्थाले गर्न धेरै गाह्रो छ । यो एनआएन भनेको त स्वयंसेवी संगठन हो । हामी सबै विदेशमा छौं । सबै युवापुस्ताका परिवारजन हुनुहुन्छ, उहाँहरु सबैले यसमा लागेर महिनौं, हस्तौं समय दिन धेरै गाह्रो छ । हामीले यो कुरा बुझ्नुपर्छ । मैले अघि नै भनिहालें नि, यो कमर्सियल भेन्चर भएको भए हामी नाफा हेरेर बाहिरिइसकेका हुन्थ्यौं । तर, यो सामाजिक काम हो, यसमा हामीले कसैलाई आशा दिइसकेका छौं । त्यो आशा त पूरा गर्नुपर्‍यो नि त । उहाँको कार्यकाल सकिएपछि संस्थाले गरेन भने अर्को उपाय त भइहाल्ला नि । तर, नयाँ कार्यसमितिलाई हामीले अवसर दिनैपर्छ । उहाँहरुले गर्न सकेनौं भन्नुभयो भने हामी गर्दिन्छौं । उहाँहरुले गर्छौं भनेपछि त हामी निक्लनै पर्‍यो नि ।

शेष घले– तर, यसका कठिनाइहरु र चुनौतिका पार्टहरु सबै पूरा भइसकेे । अब लाइनमा लागिसक्यो । अब गाह्रो लगाउने काम भइसक्यो । अब यो तेस्रो भन्दा अगाडि यो प्रोजेक्ट सकिनुपर्छ । जसले गरे पनि तेस्रो वर्षभन्दा अगाडि सकिनुपर्छ । तर, अनिश्चितता के छ भने नोभेम्बरपछि जाडोले गर्दा बि्रक प्रोडक्सन हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । अहिले हामीले १० वटा म्यानुअल मेसिन लगाइराखेका छौं । १५ वटा मेसिन बनाउने भनेर अस्तिको मिटिङमा भनेका छौं । १५ वटा मेसिन बनाइयो भने एक दिनमा ६ हजार उत्पादन हुन्छ । यसो गर्दा अबको ३ महिनामा ५ लाखजति उत्पादन होला, हामीलाई ७ लाखजति चाहिन्छ होला, त्यसैले अलिकति नपुग्न सक्छ ।

हामीलाई नेपाली सेनाको सहयोग पनि राम्रो भयो । यो पनि एउटा विश्वासले गरेर हो । हाम्रो काम गराइ र एउटा सहकार्यले गर्दा भएको हो । अहिले १२० जना आर्मीले त्यहाँ स्वयंसेवा गरिरहनुभएको छ । दुईजनाले औंला गुमाउनुभयो । एकजनालाई हेलिकोप्टरबाट उद्धार गरेर ल्यायौं । त्यो हाम्रो जिम्मेवारी थियो । एकजना श्याम तामाङ भन्ने एनआएनका साथी काठमाडौंमै हुनुहुन्थ्यो । उहाँले रिस्क लिएर बारपाकसम्म हेलिकोप्टर लगेर वर्षाकाे बेलामा काठमाडौं ल्याउनुभयो । मिक्सिङ मेसिनमा परेर आैंला गुम्यो । डोजरले हाम्रा एकजना ड्राइभरको करङ भाँच्चियो । उनलाई पनि हेलिकोप्टरबाट उद्धार गरेर ल्यायौं । साइडमा यस्ता दुर्घटनाहरु पनि हुने रहेछन् ।

त्यसैले एनआरएनएले गरेको यो रिस्की काम असामान्य परिस्थितिबाट सिर्जना भएको हो । तर, यसबाट हाम्रो गुडविल गाउँ-गाउँमा पुग्यो । विदेशमा बस्ने नेपालीहरुले हामीलाई यसरी सहयोग गर्ने रहेछन् भन्ने सन्देश गाउँमा पुग्न सफल भएको छ ।

प्रश्नः काठमाडौंमा बनिरहेको एनआएनको कार्यालयको लफडा के हो ?

शेष घले– हामीले त्यो भवन अक्टोबरमा सिध्याउन खोजेको हो । तर, अवरोध भएको करिब ३ महिना भइसक्यो । कन्ट्राक्टरलाई काम गर्न दिइएको छैन । महानगरपालिकाले डिस्टर्ब गरिराखेको छ । उसले एक लेभलसम्मको अनुमति दियो । नक्शा पास भयो । त्यसपछि फेरि अर्को अनुमति लिनुपर्ने रहेछ । त्यो माग्दाखेरि उनीहरुले अनेक कारण देखाएर के-के, के-के भनेर अलमल गराइराखेका छन् ।

मैले चुनाव जितेर आउनुभएका मेयर विद्यासुन्दर शाक्यलाई पनि गएर भेटें । तर, मैले त जनताबाट चुनिएर मेयर आएपछि शासन अर्कै किसिमको होला भन्ने सोचेको थिएँ, त्यही भएर म हाइ लेभलमा गएँ । तर, महानगरको प्रशासन त ब्यरोक्रेटिक हुँदोरहेछ । त्यहाँ कार्यकारी प्रमुखका अगाडि मेयरले पनि केही गर्न नसक्ने रहेछन् । त्यहाँ त पुरै कर्मचारीहरुले ‘रन’ गर्ने रहेछन् । कार्यकारी प्रमुखसँग मेयरप्रति इगो हुँदोरहेछ ।

हामीलाई काम रोक्न आएपछि हामीले भन्यौं- काम रोक्ने आदेश हामीलाई लिखितमा चाहियो । उनीहरुले त्यस्तो लिखितमा कहिल्यै ल्याउन सकेका छैनन् । लालपूर्जा हाम्रा नाममा सरकारले दिएको छ । हामीले ३ वर्ष अगाडि प्रतिआना २६ लाखका दरले त्यो जग्गा किनेको हो ।

त्यो कार्यालय बन्छ । तर, भनेको समयमा नसकिने भयो । त्यसमा हाम्रो फण्ड पनि अलिकति पुगेको छैन । तर, ग्लोबल कन्फरेन्स गरिसकेपछि फण्ड पनि पर्याप्त हुन्छ । र, यो प्रोजेक्ट पनि सफल हुन्छ ।

यो जग्गा किन्ने बेलामा पनि हामीलाई निकै समय लाग्यो । हामीले काठमाठौंमा धेरै साइटहरु हेर्‍यौं । अन्ततः यस्तो राम्रो लोकेसनमा हामीले जग्गा पायौं । यस्तो राम्रो ठाउँमा जग्गा पाउँदा पाउँदै काठमाडौंबाट टाढा जंगलको छेउमा गएर कार्यालय बनाउने कुरा उचित हुँदैनथ्यो ।

प्रश्न- तपाईले अघि सार्नुभएको एनआएनको भिजन-२०२० एनआएनका अरु नेताहरुसँग सल्लाह नगरी ल्याउनुभएको भन्ने गुनासो सुनियो नि ? वास्तविकता के हो ? तपाईले एनआएनएलाई कर्पोरेट मोडेलमा लान खोज्नुभयो भने अर्को पक्षको आरोप छ नि ?

जमुना घलेकर्पोरेट मोडल हैन, हामी सोसियल अर्गनाइजेसन, भोलिन्टियर्ली अर्गनाइजेसन भन्छन्, तर, तपाई कुनै पनि सोसिलय अर्गनाइजेशन भन्नुहोस्, तपाईको सचिवालय बलियो भएन भने तपाई केही पनि काम गर्न सक्नुहुन्न । जस्तो-अहिले उहाँले अनररी प्रसिडेन्ड र चिफ एक्ज्युकेटिभ अफिसर दुबै रोल आफैंले खेल्नुपर्ने भयो क्या । यदि सेक्रेटरियट बलियो भएको भए यस्तो समस्या हुने थिएन । एनआरएनमा निर्वाचित भएर आउनेहरुले त पोलिसी लेभलमा काम गर्नुपर्ने हो नि । तपाई आफैं हेर्नुहोस् त एफएनसीसीआईमा कस्तो छ ? हामीले पनि खास त्यस्तै गर्न खोजेको हो ।

शेष घले– संस्थाको स्थायित्वका लागि । संस्थालाई बलियो बनाउनुपर्‍यो नि । यो संस्थालाई कसरी बलियो र स्थायी बनाउने भन्ने इस्यु हो ।

तपाई पत्रकारहरु जहिले पनि एउटा प्रश्न सोध्नुहुन्छ- किन पैसा भएका बिजनेश म्यानले मात्रै एनआएनको नेतृत्व गर्नुपर्ने ? यो एकदमै जायज प्रश्न हो । सक्षम मान्छे, जसको आर्थिक स्रोत बलियो छैन, त्यस्तो मान्छे नेतृत्वमा आउन सक्ने बनाउनुपर्छ अब यो संस्थालाई । हामीले यही भन्न खोजेको हो ।

तपाई पत्रकारहरु जहिले पनि एउटा प्रश्न सोध्नुहुन्छ- किन पैसा भएका बिजनेश म्यानले मात्रै एनआएनको नेतृत्व गर्नुपर्ने ? यो एकदमै जायज प्रश्न हो

अब यसपालिको ग्लोबल कन्फरेन्स सकिइसकेपछि हाम्रो कार्यालय भवन बनिसकेको हुन्छ । हाम्रो सचिवालय हुन्छ । हामी स्टाफहरु राख्न सक्छौंं । सिस्टमले ‘रेभेन्यु जेनेरेट’ गर्न थाल्छ । हाम्रा सदस्यहरु ७० हजार हुन्छन्, सदस्यहरुबाट न्युनतम शुल्कमात्रै आउँदा पनि यो संस्था आर्थिकरुपमा टिक्न सक्ने भइसकेको हुन्छ । त्यसपछि हामी एनसीसी लेभलमा पनि आ-आफ्ना अफिस राख्नेबारेमा सोच्न थाल्छौं ।

त्यसैले यो कुनै ठूलो कुरै होइन । यो कसैको व्यक्तिगत विचार पनि हैन । यो संस्थालाई कसरी प्रगतिपथमा लौजाने भन्नेबारे सकारात्मक सोचले हामीले बनाएको हो । यसमा कसरी अरुका आइडियाहरु पनि जोड्दै जाने भन्ने सोच्नुपर्छ ।

यो युरोप क्षेत्रको बैठकमा हामी एनआरएनबाट नेतृत्वका मान्छे आएको हिसाबले हामीले यहाँको कम्युनिटीलाई सुचित गर्नका लागि अपडेट दिएको मात्रै हो । तर, यहाँनेर केही साथीहरुलाई मिस अन्डस्ट्यानिङ भयो ।

मैले यहाँ यो कुरा नगर्दा पनि हुन्थ्यो । यहाँको लोकल इस्युको कुरा गर्नुपर्ने थियो । यहाँ युरोपको कुरा गर्नुपर्ने हो । तर, यो आइसीसी डोमिनेन्ट कन्फरेन्स जस्तो भइदियो । तर, मेरो आशय त्यो थिएन । तपाईहरुले यो कुरा बुझ्नुपर्ने हुन्छ ।

प्रश्न- तपाईले भिजन २०२० आइसीसीका पदाधिकारीहरुसँग सल्लाह नगरी आफूखुशी लाद्न खोजेको होइन त ?

शेष घले– एनआरएनएको कन्फरेन्स भयो, कसैले कन्फरेन्स मिस गर्‍यो । तपाईले व्यक्तिगत रुपमा कन्फरेन्स मिस गर्नुभयो र सहभागिता जनाउनुभएन भने तपाईलाई उपेक्षा गरेको वा लादेको कसरी भन्न सकिन्छ ? अब हाम्रो ग्लोबल कन्फरेन्स हुन लागिरहेको छ, तपाई त्यहाँ हरेक विषयमा आफ्ना कुराहरु राख्न सक्नुहुन्छ ।

हामीले गत वर्ष नै सबै साथीहरुलाई इमेल पठाएका थियौं । यो एजेण्डा मैले नल्याउँदा पनि हुन्थ्यो । तर, संस्था यसरी चल्दैन भनेर मैले ल्याएको हुँ ।

म एउटा उदाहरण दिन्छु, एउटा म्याग्देली समाज (मोना) भन्ने छ । विश्वमा त्यसका ६० वटा शाखा छन् । एनआएनएको हामी ७६ भन्छौं । हामीसँग बेस्ट हुने क्षमता छ । यत्रो नेटवर्क छ तर, हामी किन बेस्ट हुन सकेका छैनौं ? हामी नेपालतिरमात्रै फर्केका छौं, त्यो देशको लोकल कम्युनिटीमा खोइ हामीले आवाज उठाउन सकेको ? हाम्रो लुज नेटवर्क हुनुपर्छ, तर हाम्रो आधारभूत संरचना हुनुपर्छ ।

त्यसैले म साथीहरुलाई एउटा अवसर दिन्छु । यसलाई तपाईले आत्मसाथ गर्नुभयो भने परिवर्तन सम्भव हुन्छ, आत्मसात गर्नुभएन भने हुँदैन ।

जमुना घले- भिजन २०२० ले के गर्छ भने हाम्रो जेनेरेसनका बच्चाहरु पनि ठूला भइसके नि त । अरुतिर त थाहा छैन, तर अष्ट्रेलियामा त यो एकदमै इस्यु नै भइसक्यो । तिमीहरु खाली नेपालतिरमात्रै हेर्छौं, खोई हामीलाई हेरेको भन्न थालिसके । युवाहरुमा एकदमै नेगेटिभिटी बढेको छ । एनआरएनले त आफ्ना सदस्यहरुको कल्याण्ड गर्नुपर्ने हो नि त । बाहिरको कम्युनिटीमा हाम्रो फोकसै भएन क्या ! एनआएनको के काम भन्ने भइसक्यो युवापुस्तामा ।

प्रश्न- काठमाडौंमा हुने आगामी विश्व सम्मेलनपछि तपाईले एनआएनएलाई गिफ्ट दिएर छाड्न लाग्नुभएको यही भिजन २०२० हो त ?

शेष घले– यस्तै यस्तै हो । यो एनआएनएको ईच्छाको कुरा हो । अहिले साथीहरुको रेस्पोन्स हेर्दाखेरिचाहिँ मलाई त लाग्छ यो हाम्रा लागि अति नै जरुरी छ । हामी यो जङचरमा आइपुग्दा यस्तो अवस्था छ, हामी गम्भीर हुने कि नहुने ? हामीले खाली नेपालतिरमात्रै फोकस गर्ने कि आफ्नो कम्युनिटीलाई पनि ध्यान दिने ?

जमुना घले- तर, नेपाललाई पनि त हामीले केही गर्न सकिराखेका छैनौं नि । नेपाल त धेरै अगाडि बढिसक्यो । नेपाल त धेरै अगाडि गइसक्यो । लाप्राकले गर्दाखेरि मैले काठमाडौं बस्नुपर्‍यो, यहीबेला मैले थाहा पाएँ, नेपाल साह्रै अगाडि गइसकेको छ, हामी एनआएनहरु चाहिँ पछाडि पर्‍यौं ।

प्रश्न-अन्त्यमा, एनआएनभित्रै कतिपय विज्ञहरु हुँदाहुँदै तपाईले बाहिरका विज्ञ हायर गरेर काम गराउनुभयो भन्ने आरोप छ नि ? यसबारे के जवाफ दिनुहुन्छ ?

शेष घले– स्यवंसेवा गर्ने मान्छेहरुले कसरी समय दिन सक्छन् ? एनआरएनभित्र पनि विज्ञहरु हुनुहुन्छ, तर उहाँहरुसँग समय छैन ।

हामीसँग ऐतिहासिक प्रमाणहरु पनि छन् । हाम्रा एनआरएनका साथीहरुले कति टाइम लगाए र कसरी काम गरे भन्ने विगतको अनुभव पनि नभएको होइन । हामीलाई त डेडलाइनमा, समयमा आउटकम चाहिन्छ । यति पनि काम गर्न सकिँदैन र मिल्दैन भने किन अध्यक्ष भएर आउनुपर्‍यो ?

२०७४ साउन २६ गते ९:३५ मा प्रकाशित (२०७४ साउन २७ गते १३:०५मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

५ प्रतिकृयाहरू प्राप्त
  • BB लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १०:५५

    सायद यो कुरा सबै लाई नपच्न सक्छ तर शेष घले ले जस्तो एन आर एन कसैले पनि नितृत्व गर्नै सक्दैन लेखेर राखे हुन्छ। नेपाल सरकार मात्र हैन अधिक्तम कर्मचारीहरु चाट्न पाएन भने एक दिनमा हुने काम महीनौ लगाउछ उस्तै परै बिभिन्न बहानामा नगरी टार्छ। शेष अनि जमुना घले लाई भगवान सयौ बर्ष आयु दिउन।

    141
    0
    Share

  • tarjan लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते ११:०८

    कर्मचारी तन्त्र जबसम्म अन्त्य हुँदैन तब सम्म यो देशको विकास असम्भव । देश विगार्ने नेता होइन । सरकारी कर्मचारी हो ।

    84
    5
    Share

  • Bishwa लेख्नुहुन्छ    |   २०७४ साउन २६ गते १३:२६

    देश विगार्ने नेता होइन, सरकारी कर्मचारी हो ।

    28
    2
    Share

  • देब गुरुड्ँ लेख्नुहुन्छ    |   २०७४ साउन २७ गते ६:००

    यदि तपाई हामी यि दुई दम्पति ड. शेष घले र माँडम् जमुना घले ज्युको योगदानलाई क़दर गर्न सक्दैन र चाहन्न भने कि त सामाजिक कामको बारे नबुझेको र कहिल्यै नगरेको ठहरिन्छ। दुइ चार पैसाको सहयोग र मिठो भाषण पिट्दैमा समाजसेवी भइदैन। नेत्ित्व लिएर निश्वर्थ ढंगले यतिधेरै कठिनाईसंग संघर्षगर्दै हाम्ो सँस्था एन्आर्एन् लाई यो लेभलसम्म ल्याईपुर्याउने यि दुबै उदाहरनिय दम्पतिलाई भित्ैमनबाट सलुट् छ। जय एन्आर्एन्ए।

    25
    1
    Share

  • Prem Sharma लेख्नुहुन्छ    |   २०७४ भदौ ४ गते १४:२९

    गैर आवासीय नेपाली भनेर मात्र हुदो रहेनछ, एक अर्का को खुट्टा तान्ने, ईर्ष्या र डाहा गर्ने, अरूले गरेको देखी नसहने, ऑंफू मात्र जान्ने हुँ भन्ने, कुरा मात्र गर्ने काम चॉंही नगर्ने जस्ता कुटिल विशेषता प्राय: गैर आवासीय नेपालीमा छ, जुन पटक्कै राम्रो हैन तर नेपालको यस्तो विषम परिस्थितिमा पनि शेष घले को टीमले रातोदिन खटेर समाज सेवा गरेको विषयलाई उदाहरणीय मान्नु पर्छ र एन आर एन को बिधानले दिदा सम्म शेष घलेलाई यो जिम्मेबारीबाट उम्किन दिन होला जस्तो मलाई त लागेन ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this